मूर्तिमा कला

पूर्वजले दिएको सीप सिंगार्दै मूर्तिकारहरु, सरस्वतीको प्रतिमा बेच्‍नै गाह्रो

श्रीपञ्‍चमीको लागि तयारी गरिएको मूर्तिहरु। तराईमा वर्षेनि हुने पर्वहरुमा मूर्तिकारहरुले पूर्वजको सीपलाई सदुपयोग गर्दै आएका छन्। तस्बिर-प्रतिभा झा/देश सञ्‍चार

जनकपुरधा-श्रीपञ्चमीको लागि सरस्वतीको मूर्ति सजाउन मूर्तिकारहरु व्यस्त भएका छन्। भगवतीको प्रतिमालाई रंगरोगन गर्ने र सिगार्ने काममा उनीहरु निकै व्यस्त छन्।

माघ २७ गते पुजा हुने विद्याकी देवी सरस्वतीको प्रतिमा सजाउन अहिले सूर्य नारायण पण्डितले दिनरात काम गरि रहेका छन्। सरस्वती पूजाको लागि उनले १ सय मूर्ति बनाएका छन्। १ सय वटा मूर्ति बनाएका पण्डितको प्रत्येक बर्ष ढल्केवर, बर्दिवास, सिन्धुली लगायत विभिन्‍न स्थानमा प्रतिमा बिक्री हुन्थ्यो तर यसपालि ४० वटा मूर्तिका लागि मात्र अर्डर आएको छ।

लगातार एक महिनादेखि राम्ररी घाम नलाग्दा मूर्ति सुक्न पनि नसकेको र सुकेको मूर्तिको पनि कम अर्डर आएकोले मेहनत खेर जान सक्ने पण्डितको दुखेसो छ। पण्डित भन्छन्, ‘बाढीपहिरोले गर्दा यसपालि सरस्वतीको प्रतिमा बेच्‍न गाह्रो भएको छ।’

चार दशकदेखिको रोजगारी ‘मूर्तिकला’


धनुषाको गिद्धा घर भइ  हाल जनकपुरको कदम चोक बस्‍ने सूर्य नारायण पण्डितले २०३६ सालदेखि मूर्ति बनाउन थालेका थिए। बावुबाजेले मूर्ति बनाउने काम गरेकोले आफू पनि यही काममा लागेको पण्डित बताउँछन्। उनी भन्छन्, ‘ बाबुबाजेले दिएको सीपलाई उपयोग गर्दै आएको छु। तराईमा वर्षेनि हुने पर्वहरु कृष्णअष्टमी, विश्वकर्मा पूजा, इन्द्रपुजा, दशैँ, तिहार र छठमा मूर्ति बनाउने काम गर्दै आएको छु।’

लगभग चार दशकदेखि लगातार माटोको प्रतिमा बनाउने काम गरिरहेका पण्डितले मूर्तिको सिजन नभएको बेला आफूले माटोको भाँडा बनाउने गरेका छन्। उनी भन्छन्, ‘ मूर्ति बनाउने काम सिजन नभएका बेला  माटोको भाँडा बनाउने गर्छु।’  उनलाई काममा उनका २२ वर्षीय छोरा ध्रुव पण्डितले सघाउँदै आएका छन्।

जाडोले काम गर्न गाह्रो


एक महिनादेखि मूर्ति बनाउने काममा व्यस्त श्याम कुमार पण्डित भन्छन्, “जाडोले गर्दा मूर्ति सुक्न सकेको छैन र चिसोले हातले समेत काम गर्न छाडेको छ।” धनुषाको शहिद नगरपालीकाको ननुपट्टी घर भएका श्याम पण्डित ९ वर्षदेखि जनकपुरको विषहारा चोकमा मूर्ति बनाउँदै आएका छन्।

श्याम पण्डितलाई उनका भाइ विन्देश्वर पण्डितले सघाइरहेका छन्। श्याम पण्डित भन्छन्, “हामीले बनाउने सरस्वतीको प्रतिमा धनुषाको विभिन्न गाउँ तथा विद्यालयहरुमा विक्री हुन्छ ।”

सानै उमेर देखिको सीप


जनकपुरको मुरली चोकमा सरस्वतीको प्रतिमा सजाउनमा व्यस्त शम्भु पण्डितलाई भ्याई नभ्याई छ। उनले यसपाली ४२ वटा मूर्ति बनाएका छन्। १८ बर्षीय शम्भु पण्डित सानै छँदा माटोको मूर्ति बनाउन शुरु गरेका थिए।

महोत्तरीको कोल्हुवा बगिया बस्ने उनी १३ बर्षको हुँदा पहिलो मूर्ति बनाएका थिए। अहिले उनी आफ्नो काममा जमेका छन् र अहिले सरस्वतीलाई सिगार्ने काममा व्यस्त छन्। शम्भु भन्छन ‘कुम्हार पण्डित जातिले बनाउने माटो कला पूर्वजले दिएको सीप हो।’ त्यसैले आफूले यो सीप सानै उमेरमा सिकेको शम्भुको भनाई छ।

माघ २७ गते श्रीपञ्चमी मनाईदैं छ। श्रीपञ्चमीमा सरस्वतीको पुजाआराधना हुने गरेकोले विद्यालय तथा शैक्षिक संघसंस्थाहरुले सरस्वतीको प्रतिमा किनेर पूजा अर्चना गर्छन्। यस्तै विभिन्न युवा समिति तथा वालवालिकाहरुले चन्दा लिएर भए पनि सरस्वतीको पूजा अराधना गर्दै आएका छन्।

माघ १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्