एकदिवशीयपछि अब पालो टी-२०, पूरा होला नेपालको लक्ष्य?

काठमाडौँ- ऐतिहासिक एकदिवशीय क्रिकेट शृंखलापछि नेपालले बिहीबारदेखि तीन खेलको टी-२० शृंखला खेल्दै छ, यूएईविरुद्ध। यूएई भ्रमणमा रहेको नेपालले तीन खेलको एकदिवशीय शृंखला २-१ ले जितेर ऐतिहासिक सफलता हात पारेको थियो।

एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएयता नेपालले पहिलोपटक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला जितेको हो। नेपालले गत वर्षको मार्चमा एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाएको थियो। नेपालले अहिलेसम्म टीट्वेन्टी अन्तर्राष्ट्रिय शृंखला जित्न सकेको छैन। सन् २०१३ मा भएको टीट्वेन्टी विश्वकप छनोटमा तेस्रो भए पछि नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक छलाङ मार्दै विश्वकप खेल्न सफल भएको थियो।

सन् २०१४ मा बंगलादेशमा आयोजित टीट्वेन्टी विश्वकपमा नेपालले पहिलो चरणमा तीनमध्ये दुई खेलमा जित हात पारेपनि नेटरनरेटमा बंगलादेशभन्दा पछाडि पर्दै अगाडि बढ्न सकेको थिएन। विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसिसीले नेपाललाई टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता दिएको थियो। टीट्वेन्टी विश्वकपमा नेपालले खेलेका तीनवटै खेलले टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता पाएका थिए।

त्यसअघि एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता भएपछि मात्र स्वत टीट्वेन्टी अन्तर्राष्ट्रियको पनि मान्यता हुन्थ्यो। टीट्वेन्टीका लागि मात्र छुट्टै मान्यता दिने चलन थिएन। दुई वर्षसम्म टीट्वेन्टी अन्तर्राष्ट्रिय मान्यता रहेपनि नेपालले त्यसलाई कायम राख्न सफल भएन।

अर्को टीट्वेन्टी विश्वकपमा छनोट नभएसँगै नेपालको त्यो मान्यता गुमेको थियो। नेपालले हालसम्म १२ वटा टीट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेलेको छ जसमा केवल तीन खेलमा मात्र जित हात पारेको छ। ८ खेलमा हार ब्यहोरेको थियो भने एक खेल अनिर्णित बनेको थियो। टीट्वेन्टी अन्तर्राष्ट्रिय मान्यता पाएपछि हङकङसँग तय भएको टीट्वेन्टी शृंखला उसले जितेको थियो।

सर्वाधिक रनमा पारस, विकेटमा वसन्त 


टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा कप्तान  समेत रहेका पारस खड्का शीर्षस्थानमा छन्। पारसले दुई सय ३६ रन जोडेका छन्। दोस्रो स्थानमा रहेका शरद भेषावकरको नाममा एक सय ९९ र तेस्रो स्थानका ज्ञानेन्द्र मल्लको नाममा एक सय ६७ रन छ।

पारस एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनले दुई सय ३५ रन बनाएका छन्। उनीभन्दा पछाडि रहेका सोमपाल कामीको नाममा एक सय ४६ र ज्ञानेन्द्र मल्लको नाममा एक सय ४३ रन छ।

यता टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने नेपाली बलरको सूचीमा बसन्त रेग्मी शीर्षस्थानमा छन्। बसन्तले १६ विकेट लिएका छन्। दोस्रो स्थानका सोमपाल कामीको नाममा १३ विकेट छ।

टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटकै एकै खेलमा सर्वाधिक रन बनाउने नेपाली ब्याट्सम्यानको कीर्तिमान सुबास खकुरेलको नाममा छ। विश्वकप २०१४ अन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा सुबासले ५६ रन बनाएका थिए। सोही प्रतियोगितामा हङकङविरुद्ध बनाएको एक सय ४९ रन नेपाली टोलीले टीट्वेन्टी अन्तर्राष्ट्रियको एकै खेलमा बनाएको सबैभन्दा उच्च योगफल हो।

यसैगरि एकै खेलमा सबैभन्दा उत्कृष्ट बलिङ गर्ने नेपाली बलरको कीर्तिमान बसन्त रेग्मीको नाममा छ। उनले सन् २०१५ को जुलाईमा हङकङविरुद्ध १६ रन खर्चिएर चार विकेट हात पारेका थिए। टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल पहिलोपटक यूएईसँग भिड्न लागेको हो।

माघ १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्