कांग्रेसमाथि मोदीको हमलाः चिया बेच्नेसँग किन डराएको? जेल त जानै पर्छ!

नरेन्द्र मोदी।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कांग्रेसमाथि हमला गर्दै भारतलाई कांग्रेसको खराब राजनीतिबाट मुक्त गर्नुपर्ने बताएका छन् । बुधबार गुजरातको सूरतमा एक कार्यक्रमलाई सम्बोधन गरेका मोदीले पछिल्लो ७० वर्ष कांग्रेसले भारत लुटेको आरोप लगाए ।

त्यस अवसरमा उनले गएका पाँच वर्ष आफ्नो सरकारले गरेका कामहरुको बारेमा जानकारी गराए र कांग्रेसमाथि कडा शब्दमा हमला गरे । कांग्रेसको आलोचना गर्दै मोदीले भने, ‘कसैले सोचेको पनि थिएन होला कि चार-चार पुस्ता भारतमाथि राज गर्नेहरुलाई एक चियाबालाले चुनौती दिनेछ ।’

उनले कांग्रेस अध्यक्ष राहुल गान्धी र पूर्व अध्यक्ष सोनिया गान्धीमाथि निशाना गर्दै जमानतमा रहेकाहरुले जेल जार्नुपर्ने बताए । नेशनल हेराल्ड पत्रिकासँग जोडिएको भ्रष्टाचारको एक मुद्दामा राहुल र सोनिया अभियुक्त हुन् र उनीहरु दुवै जमानतमा छन् ।

मोदीले भने ‘अदालतको चक्कर जति लगाएपनि एक दिन त उनीहरुलाई जेल जानै पर्नेछ । देशलाई जसले लुट्यो उनीहरुले सजाय भोग्नै पर्नेछ ।’

विपक्षीमाथि थप हमला गर्दै मोदीले भने कि कांग्रेससँग मात्र एक मुद्दा छ, त्यो हो ‘मोदीलाई कसरी हटाउने’। उनले भने, ‘तर मसँग देशको १ सय २५ करोड जनतालाई कसरी अगाडि बढाउने भन्ने चिन्ता छ, किनभने देशमा एक होइन १ सय २५ करोड मोदी छन्, विपक्षीले यो बुझ्न पर्ने हो।’

 

माघ १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्