‘अनुसन्धानको निशानामा म छैन, सीमा पर्खाल बनाएरै छाड्छु’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द न्यूयोर्क टाइम्ससँगको अन्तर्वार्ताको क्रममा सीमा क्षेत्रमा बनाउने भनिएको पर्खाल, सन् २०१६ को चुनावमा भएको भनिएको रुसी दखलसहितका विषयमा बोलेका छन् ।
ओभल कार्यालयमा द न्युयोर्क टाइम्सका पत्रकारलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले विशेष काउन्सिल रोबर्ट मुलरले गरिरहेको अनुसन्धान तथा सीमा पर्खालका सम्बन्धमा भइरहेको वार्ताबारे विस्तारित रुपमा बोल्न चाहेनन् ।
राष्ट्रपति ट्रम्पले मेक्सिकोसँग जोडिएको सीमा क्षेत्रमा बनाउने भनिएको सीमा पर्खालका लागि आवश्यक रकम जुटाउनेबारे कांग्रेसमा छलफल गर्नु समयको बर्बादी मात्रै रहेको बताएका छन् ।
यहि विषयमा कुरा निमल्दा अमेरिकी इतिहासमै सबै भन्दा लामो समय बजेट अभावमा संघीय सरकारका आंशिक कार्यालयको काम ठप्प भएको थियो । ३५ दिनपछि खुलेका सरकारी कार्यालयहरु संघीय सरकारको कार्यालय सञ्चालन सम्बन्धी विधेयकमा सहमति नभए फेब्रुअरी १५ देखि फेरि बन्द हुने छन् ।
यस्तै द न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा विशेष काउन्सिल मुलरको अन्नुसन्धानमा आफू निशानामा नरहेको कुरा पनि बताएका छन् ।
मुलरको अनुसन्धानको घेरामा आफ्ना वकिलले आश्वस्त पारेको ट्रम्पको भनाई छ ।
पत्रिकाका प्रकाशक एजी सुल्ज्बर्गसँग ट्रम्पले सम्पर्क गरेपछि उनले द न्युयोर्क टाइम्ससँग अन्तर्वार्ता दिएका हुन् ।
राष्ट्रपति ट्रम्पले द न्युयोर्क टाइम्ससहितका पत्रिका तथा सञ्चारमाध्यमलाई फेक मिडिया भन्दै आलोचना गर्दै आएका थिए । गएको वर्ष सुल्ज्बर्गले ट्रम्पसँग मिडियामाथिको आक्रमण बन्द गर्न आग्रह गरेका थिए ।
अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले सीमा क्षेत्रमा पर्खाल बनाउने काम जारी राख्ने र पूरा गरेरै छोड्ने बताएका छन् । सीमा पर्खालका सम्बन्धमा कांग्रेसमा छलफल गर्नु समयको नोक्सानी मात्रै हुने भन्दै उनले बरु राष्ट्रिय आपतकाल लगाएर भए पनि पर्खाल बनाउने बताए ।
ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा बनाउने भनिएको पर्खालका लागि सरकारी कोषबाट ५.७ बिलियन अमेरिकी डलर माग गरिरहेका छन् ।
यो विषयमा डेमोक्र्याटिक पार्टीले सहमति जनाएको छैन । डेमोक्र्याटले आफ्नो मागको विरोध गर्नु अनैतिक रहेको ट्रम्पले आरोप लगाएका छन् ।
ट्रम्पले सदनकी सभामुख न्यान्सी पेलोसीको आलोचना गरे । पेलोसीले सीमा पर्खालका सम्बन्धमा लिएको अडानले सहकार्य गर्न कठिन भएको ट्रम्पको भनाई छ । पेलोसीले बिहीबार पत्रकारसँग पर्खालका लागि प्रस्तावित सीमा सुरक्षा विधेयकमा रकमको व्यवस्था नरहेको बताएकी थिइन् ।
यस्तै ट्रम्पले रोबर्ट मुलरको टिमले गरिरहेको अनुसन्धानमा आफू केन्द्रमा नरहेको पनि बताए । सन् २०१६ को राष्ट्रपति चुनावमा भएको भनिएको रुसी दखलका सम्बन्धमा मुलरको टिमले अनुसन्धान गरिरहेको छ ।