टिपर व्यवसायीको आन्दोलनले राजमार्ग अवरुद्ध

मोरङ– पूर्वाञ्चल टिपर व्यवसायी संघको आह्वानमा मोरङमा आयोजना गरिएको टिपर र्‍यालीमा प्रहरीले अवरोध गर्दा अवस्था तनावग्रस्त बनेको छ।

संघको आह्वानमा मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित विराटचौकको खोर्सानेबाट विराटनगरसम्म टिपर र्‍यालीको शुक्रबार दिउँसो आयोजना  गरिएको थियो। विराटनगर महानगरपालीका र बुढीगंगा गाउँपालीकाको सीमानामा र्‍यालीलाई प्रहरीले रोकेको हो।

र्‍याली ढाटमा आइपुगेपछि प्रहरीले विराटनगर महानगरपालिकातिर अगाडि बढ्न नदिएको हो। सुरक्षाकर्मीले अवरोध गरेपछि ब्यवसायीहरुले सडकमै टिपर रोक्दा कोशी राजमार्ग अवरुद्ध बनेको छ।

प्रहरीको अवरोधपछि टिपर चालकहरु सडकमा उत्रिएर नाराबाजी गरेका छन्। यसका कारण राजमार्गमा अहिले सवारी साधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ।

स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ।

सोमबार बिहान मोरङको सुन्दरहरैंचा–९ सिसौघारीमा ११ वर्षीया बालिका लक्ष्मी ढकालको टिपरको ठक्करबाट मृत्यु भएको थियो। घटनापछि आक्रोशित स्थानीयले सातवटा टिपरमा आगजनी गरेका थिए।

उक्त आगजनी पश्चात टिपर व्यवसायी सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका हुन्।

टिपर व्यवसायीले गठन गरेको संघर्ष समितिका संयोजक सन्दीपकुमार सिंहले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासनले हस्तक्षेप गरेको बताए।

उनले निर्वाध रुपमा सडक कुद्न पाउनु पर्ने, जलाएका टिपरको उचित क्षतिपूर्ति पाउनु पर्ने र टिपर जलाउनेलाई पहिचान गरेर कारवाही गर्नुपर्ने लगायत माग राखी आफूहरु आन्दोलित बनेको बताए।

माघ १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्