सरकारले वार्तामा बोलाएपछि टिपर व्यवसायीले स्थगित गरे आन्दोलन

मोरङ- संघीय र प्रदेश सरकारले वार्ताका लागि आव्हान गरेसंगै टिपर ब्यवसायीको आन्दोलन पाँचदिनका लागि स्थगित भएको छ।
सुनसरीको इटहरीस्थित पूर्वाञ्चल टिपर ब्यवसायी संघको प्रधान कार्यालयमा शुक्रबार दिउँसो बसेको बैठकले आन्दोलन फिर्ता लिएको जनाएको हो।
बैठकपछि संघका अध्यक्ष गोपाल कार्कीले तत्कालका लागि सरकारबाट वार्ताको आव्हान भएकोले आफूहरुले आन्दोलन फिर्ता लिएको बताए।सरकारले सार्थक वार्ताका लागि आब्हान गरेका कारण यस अघि घोषणा गरिएका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिइएको अध्यक्ष कार्कीको भनाइ छ।
यद्यपि समस्याको समाधान वार्ताबाट नभएमा आफूहरु पुनः आन्दोलनमा फर्कने कार्कीले बताए।
सोमबार विहान मोरङको सुन्दरहरैंचा –९ सिसौघारीमा ११ वर्षीया बालिका लक्ष्मी ढकालको टिपरको ठक्करबाट मृत्यु भएको थियो। त्यसपछि आक्रोसित स्थानियले सातवटा टिपरमा आगजनी गरेका थिए।
आगजनी पछि सुरक्षाको र आगजनी गरिएका टिपरको उचित क्षतिपूर्तिको माग गर्दै टिपर व्यवसायिहरु आन्दोलनमा उत्रिएका थिए।