ब्राजिलमा फलाम खानीको बाँध भत्केको भिडियो

बगायो सबथोक, सखाप पार्‍यो सबै

ब्राजिलको मिनास गेराइस राज्यको फलाम खानीको बाँध भत्किँदाको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएको नयाँ भिडियोमा बाँध फुटेपछिको छालले आफ्नो मार्गमा परेका सबै व्यक्ति तथा बस्तु बगाएको देखिएको छ ।

फलाम खानीको बाँध भत्किँदा ब्रुमाडिन्होको ग्रामीण क्षेत्र प्रभावित भयो । यसमा परेर ११० जनाको मृत्यु भएको पुष्टि भएको छ भने २३८ जना बेपत्ता छन् । बेपत्ताहरुको शव नभेटिए पनि उनीहरुलाई जीवितै फेला पार्ने सम्भावना लगभग छैन ।

गएको जनवरी २५ मा स्थानीय समय अनुसार दिउँसो १ बजेतिर बाँध फुटेको थियो । त्यो बेला लञ्चका लागि बाँध क्षेत्रको क्याफेटेरियामा रहेका अधिकांश कामदार पुरिए ।

शुक्रबार स्थानीय समय अनुसार दिउँसो १ बजे नै बाँधका कारण ज्यान गुमाएका वा बेपत्ता भएकाको सम्झनामा घटनास्थलमा स्मृतिसभा भयो ।

बाँध फुटेर हिलोसहितको शक्तिशाली आँधी जस्तो बाढी आएपछि त्यसको मार्गमा रहेका गाडी तथा कामदारहरु भाग्दै गरेको भिडियोमा देखिएको छ । भाग्न सफल भएकाहरु बाँचे अरुलाई बाँधको हिले बाढीले बगायो ।

माघ १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्