क्‍यान इन्फोटेक २०१९

क्‍यान इन्फोटेक: बिजुलीको बिल तिर्नेदेखि बालीमा रोग पहिचान गर्ने प्रविधिसम्म

क्‍यान इन्फोटेक: बिजुलीको बिल तिर्नेदेखि बालीमा रोग पहिचान गर्ने प्रविधिसम्म

काठमाडौं प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको गेटमै लेखिएको छ ‘वेलकम टु सुबिसु क्‍यान इन्फोटेक २०१९ इन एसोशिएशन विथ इ-सेवा’। सूचना प्रविधिबारे जान्‍न बुझ्‍न र व्‍यवहारमा प्रयोग गर्ने अवलोकनकर्ताहरुको बाक्लो भीड छ, भित्र थुप्रै आइसिटीका स्टलहरु राखिएका छन्। कोही इन्टरनेटको नयाँ स्किम खोजिरहेका छन् भने कोही मोबाइलबाटै कसरी बिजुलीको बिल, खानेपानीको बिल तिर्ने, बैंकमा पैसा जम्‍मा गर्ने आदिको बारेमा सोधपुछ गरिरहेका छन्। त्यतिमात्रै होइन नयाँ ब्राण्डको प्रिन्टर ,ल्‍यापटप, मोबाइल र सीमकार्ड साट्‍न समेत आइरहेका छन्।

सूचना प्रविधिको क्षेत्रमा विकास र विस्तार भएका नयाँ-नयाँ प्रविधि र प्रयोगबारे प्रत्‍येक वर्ष यो अवसर जुटाइदिने गरेको छ फेडेरेशन अफ कम्‍प्‍युटर एशोसिएशन अफ नेपाल (क्‍यान फेडेरेशन)ले ।

शुक्रबार वरिष्ठ हास्‍यकलाकार मदनकृष्ण श्रेष्ठ नेपाली युवाले बनाउको कारमा बसेर मज्जा लिइरहेका थिए। केही मिनेट सोलार कारमा चढेपछि उनले प्रतिक्रिया दिँदै भने ‘ कारमा बसेर सरर.. घुमे ! आहा ! क्‍या मज्जा आयो। बाबुहरुको काम मलाई असाध्‍यै मन पर्‍यो। नेपाली युवाहरुले यस्तो राम्रो काम गरेका छन्। अब सरकारले यसमा सहयोग गरे त सुनमा सुगन्ध हुन्छ।’

उनीसँगै छेउमा अर्का हास्‍यकलाकार किरण केसी ‘राता मकैं’ले ड्रोन हातमा लिएर हेरिरहेका थिए। केसी भन्‍दै थिए ‘यो ड्रोन भन्‍ने चीज पनि अजिबको छ है।हामीले पनि यसलाई प्रयोग गरेर नयाँ सिरिलयहरु बनाएका छौं। धेरै उत्कृष्ट छ यसको काम। नेपाली इन्जिनियर युवाहरुले यस्तो कमर्ठ भएर बनाउँदा अब उद्यमशीलता तर्फ ध्‍यान दिनुपर्छ। सरकारले आफ्नो संरक्षणमा लिनुपर्छ।हामी सित्तैमा प्रचार गर्न तयार छौ।’

त्यतिमात्रै होइन साइबर सुरक्षाबारे कसरी सचेत रहने भन्‍नेबारे नेपाल प्रहरीले समेत नयाँ टेक्नोलोजीबारे क्‍यान इन्फोटेकमा अवलोकन गरे। उनीहरुले दाहुवा टेक्नोलोजीले  भित्र्याएको अपराध नियन्त्रणका लागि नयाँ प्रविधि, इन्टरएक्टिभ अडियो भिडियो भर्जुअल बोर्ड हेरेको दाहुवा टेक्नोलोजीका सिइओ रञ्जित सिंहले बताए। उनले भने, ‘ प्रविधिको विकाससँगै अपराध बढिरहेकाले दाहुवाले ल्‍याएको फेस रिकगनिशन टेक्नोलोजी ले प्रहरी कार्यालय, सार्वजनिक स्थान, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र कर्पोरेट हाउसमा भरपुर सुरक्षा प्रदान गर्ने गर्छ।’

यस्तै  क्‍यान इन्फटेकमा राखिएका स्मार्ट बालीको स्टलमा देखिए  धादिङका ५५ वर्षीय किसान हर्कबहादुर तामाङ। फलफुल र तरकारी खेती गर्दै आएका हर्कबहादुर प्रविधि मेलामास्मार्ट बालीबारे पनि सिकाउँछ  भनेर फेसबुकमा क्‍यान इन्फोटेकबारे पोस्ट भएको रहेछ। त्‍यो थाहा पाएपछि उनी बिहानको बस चढेर काठमाडौं आइपुगेको बताए।  उनले भने, ‘ मेरो फलफूल तरकारी खेती छ। सिजनमा तरकारीले आम्दानी निक्कै बढाएको छ। तर रोग लागेर हैरान पारेकाले यसबारेमा  बुझ्‍न आएको छु।’ स्मार्टबाली कसरी लगाउने,  बालीमा रोग लगाेको कसरी थाहा पाउने ? इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले ‘एक रोगबाली स्मार्टबाली रोग पहिचान एप्लिकेशन’ नामक  सफ्टवेयर तयार पारेका छन्।

यति मात्र नभएर इ-सेवा, खल्ती लगायत मोबाइल वालेट प्रविधिमा पाइला चालेका कम्पनीहरु त्‍यहाँ आउने अवलोकनकर्तालाई रिचारज गर्न, ल्‍याण्ड लाइन/ एडिएसएलको बिल तिर्न, एयरलाइन्स/बसको टिकेट किन्‍न, बिजुलीको बिल तिर्न, सिनेमाको टिकेट किन्‍न, होटेल बुक गर्न, स्कुल/कलेजको फी तिर्न, इन्स्युरेन्सको प्रिमियम भर्न, अनलाइन सपिङ गर्न, खातामा पैसा ट्रान्सफर गर्न, डिम्‍याट अकाउन्ट भर्न र इन्टरनेटको बिल घरमै बसी बसी तिर्न सुविधाहरु उपलब्ध गराएको छ।  मेला आउने अवलोकनकर्ताले इ-सेवामार्फत सय रुपैयाँ रिचार्ज गरेमा १ सय २० रुपैयाँ पठाउने गरेको साथै लक्की ड्रमार्पत र्‍याफ्टिङ र विदेश टुरको अफर प्रदान गरेको इ-सेवाका विजनेस डेभलपमेण्ट अफिसर अरुण फुँयालले बताए।

यस्तै खल्तीका प्रबन्ध निर्देशक अमित अग्रवालले  खल्ती वालेटमार्फत क्‍यानमा सेवाहरु चलाउने अवलोकनकर्तालाई समेत बम्पर अफरको व्‍यवस्था गरेको बताए। उनले भने, ‘ हामीले अहिले खल्तीको नयाँ अपग्रेड भर्सन ल्‍याएका छौ। क्‍यान मेलामा ५ सय रुपैयाँ भर्ने अवलोकनकर्तालाई ५० रुपैयाँ बोनसमा दिने गरेका छौं। ‘ उनले को बन्छ करोडपतिको एसएमएस सेवा खल्तीबाट भएको समेत बताए।

त्यस्तै फर्पिङका स्कुले विद्यार्थीहरुले फोहोर पानीलाई शुद्ध बनाउने रोबोटको विकास गरेका छन् जसलाई क्यान इन्फोटेकमा प्रदर्शनीको लागि राखेका छन्। उनीहरुले बनाएको पानी शुद्ध गर्ने रोबोटले अमेरिकामा भएको  ग्लोबल कम्पिटीशनमा १६३ देशमध्‍ये नेपाल ३८औ स्थान ल्‍याएको थियो।  उक्त रोबोटले खोला, नदी वा जहाँसुकैको फोहोर पानीलाई कसरी शुद्ध  बनाउने प्रक्रियालाई देखाउने गरेको रोबोटका मेन्टर सतिश अर्यालले बताए।

उनले भने, ‘ विश्‍वमा अहिले खानेपानीको हाहार भइरहेको छ। पानीको प्रदूषणको मात्रा दिनानुदिन बढिरहेको छ। यसकारण  हाम्रा विद्यार्थी भाईबहिनीहरुले स्कुलमै हुँदा  विश्‍वलाई कसरी स्वच्छ पानी प्रदान गर्न  सकिन्छ भनेर यो प्रोजेक्ट तयार गरेका हुन। उहाँहरु अहिले कलेज लेबलमा पुगिसक्‍नुभयो। हामी नयाँ आउने स्कुलका विद्यार्थीहरुलाई विज्ञान प्रविधि, इन्जिनियरिङ र म्‍याथम्‍याटिक्सलाई फ्‍युजन गरेर भर्चुअल वर्ल्डमा आफ्नो प्रतिभा प्रस्फुटन गराउन सिकाउँदै आएका छौ।’

त्‍यसैगरी फोहोरलाई प्रविधिमार्फत कसरी व्‍यवस्थपन गर्ने र जनचेतना जगाउने भन्ने बारेमा इ-वेस्ट म्‍यानेजमेन्ट एण्ड डिस्पोजल गर्ने भन्‍नेबारेमा विद्यार्थीहरुले प्रविधिको विकास गरेका छन्। उनीहरुले क्‍यानमा आउने अवलोककर्ताहरुलाई फोहोर व्‍यवस्थापन  गर्न सिकाइरहेका छन्।

यी सबै प्रविधिको प्रयोग र पहुँचलाई ग्रामिणको दूरदराजसम्‍म पुर्‍याउने माध्‍यम क्‍यान महासंघले यसवर्षदेखि नै प्रदेशमा क्‍यान इन्फोटेक गर्दै आएको क्‍यान महासंघका पूर्व अध्‍यक्ष बिनोद ढकालको भनाई छ। उनी भन्छन्, ‘ प्रविधिको विकासबारे सूचना मात्रै होइन अब प्रयोगको खाँचो छ। त्‍यसकारण हामी प्रदेशमा यो योजना अगाडि सारेका छौ। सफ्टव्यर र हार्डवेयरलाई सँगसँगै बौद्धिक वर्गमा पुर्‍याउने प्रयास गरिहरेका छौ।’ उनले डिजिटल नेपालको परिकल्पना आइसिटी कन्फेरेन्समार्फत पनि बौद्धिक जगतमा पुर्‍याउने कसरत गर्दै आइरहेको बताउँछन्।

यस्तै क्‍यानका वर्तमान अध्‍यक्ष हेमन्त चौरसियाले सरकारको योजनालाई क्‍यान महासंघले हातेमालो गरेर सँगसँगै प्रविधिमा फड्को मार्ने प्रयास गरिरहेको बताए। उनले भने, ‘ हामी अब २५ वर्षको अनुभव लिइसक्‍यौ र सरकारको डिजिटल नेपालमा कसरी सहयोग गर्ने भनेर लागि रहेका छौ। यसका लागि पनि यो क्‍यान इन्फोटेक आयोजना गरेका हौ।’

यस्तै क्‍यान मेलाको टाइटल स्पोन्सर हेको सुबिसु केबल नेटले क्‍यानमेलामा इन्टरनेटमा विशेष छूटका साथ एलेक्जा एसिसटेन्टको नयाँ स्वरुप लिएर आएको सुबिसुका अध्‍यक्ष सधीर पराजुली बताउँछन्। उनी भन्छन्, ‘ क्‍यान मेलामा बोलेरै  टीभी च्‍यानलहरु खोज्न सकिने प्रविधिको प्रयोग ल्‍याएका छौ।’

यस्तै गुणस्तरीय र भरपर्दो प्रडक्टको बारेमा उचित जानकारी र व्‍यवस्थापनलाई सजिलो पार्न क्‍यानले सबै प्रविधिका पायोनियरलाई एकै ठाउँमा ल्‍याएर मेला गराउँदै आएको र आफू पनि विगत १५ वर्षदेखि यो कार्यमा सघाइरहेको बताउँछन्। उनी भन्छन्, ‘ हामी प्रविधिमा अब्बल प्रडक्ट,ब्राण्ड भ्यालुको सामानलाई सहज र सजिलो तरिकाले क्‍यान मेलामा अफरमा दिइरहेका छौ। हामी जनमानसमा प्रविधिको प्रयोगबारे सचेतना जगाइरहेका छौ। कसरी हुन्छ। प्रविधिबारे नयाँ कुरा आम मानिसले थाहा पाऊन। यही हाम्रो उद्देश्य हो।’

 

माघ १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू