ब्लग

‘ह्यान्डसम’ ड्राइभर !

फाइल तस्बिर

मन पर्नलाई न चिन्नुपर्ने रहेछ, न आनीबानी थाहा पाउनुपर्ने रहेछ। राम्रो किन लाग्छन्, कसरी लाग्छन् भन्ने परिभाषाहरु सुनेको भन्दा फरक अनुभव भएको थियो।

अहँ मसँग उ बोलेको हैन, न मलाई इम्प्रेस पार्छु भन्दै सोचेर उसले केही हर्कत गरेको हो। यहाँ म दिनहुँ उसको बसमा चढ्ने, आफ्नो गन्तव्यमा झर्ने सयौँ यात्रु मध्येकी एक थिएँ। उ मेरो गन्तव्य पुर्‍याउने गाडी चलाउने ‘ड्राइभर’। दिनमा नै ६–७ गाडि फेर्दै हिँड्ने मैले अरुबेला अनुहार पनि हेर्न चाख राख्दिनथे, तर यो दिन फरक भयो, म उसको हरेक क्रियाकलापमा आँखा गाडिरहेको थिए। म आकर्षित हुँदै थिए।

यात्रा एयरपोर्टबाट एकान्तकुनासम्म। दिदीलाई सि–अफ गरेर म बस स्ट्याण्डमा उभिएकी थिए। महानगर यातायात, चक्रपथ परिक्रमा लेखेका गाडी चढ्नु थियो, एक पछि अर्को गर्दै हुत्तदै गाडीहरु आए। भक्तपुर, काँडाघारी, रत्नपार्क अनि चक्रपथ परिक्रमा बिस्तारै बिस्तारै आउँन थाले।

सोमबारको दिन, मैले काम गर्ने संस्थाले साप्ताहिक बिदा दिएको थियो, म हतारमा थिइन। खाली गाडीमा आनन्दले जान्छु भन्ने सोचेर हेर्दै थिए। गाढा निलो रंगको बस मेरो नजिक आएर रोकियो। महानगर यातायात पनि हुइकिएर आयो। महानगर यातायातमा घुईँचो हुन्छ, स्टेशन पिच्छे रोक्दै मान्छे कुर्दै जाने गर्छ । मेरो रोजाई आज महानागर परेन। अगाडि रोकिएको निलो रंगको बस खालि थियो, चढे।

यात्रापछि बसबाट ओर्लँदा प्राय मेरो अनुभव राम्रो रहदैनन्। चढ्ने बित्तिकै कहिले ओर्लने ठाउँ आइपुग्ला जस्तो हुन्छ। बसमा सामान्य लाग्ने धेरै समस्याहरु हुन्छन्।

उभिँदा भनेजसरी नउभिएको भन्दै खलासी र ड्राइभरको हप्काई खाने ।

ब्याग बोकेर चढेको भन्दै खलासीको गनगन सुन्ने।

बसको र्‍याकमा ब्याग राख्दा कालो ब्याग खैरो हुने, जति टकटकाउँदा पनि नजाने,

नराम्रो नियत भएका मान्छेको नजिक परिन्छ, सार्वजनिक यातायातमा हुने दुर्व्यवहारको घटनाको उदाहरण अहिलेको बस काण्डभन्दा अर्को भनिराख्नु नपर्ला ।

त्यसपछि,

ठस्स पसिना गन्हाउने मानिसहरु, उहाँहरुको कामको सम्मान छ मलाई अचम्म लाग्ने कुरा भनेको नुहाउन किन कन्जुस्याई गर्छन् ?
अनि अर्को टोली हुन्छन्, पान पराग खाने।

अफिस टाइमको गाडीमा बसभित्र यति ठेलमठेल हुन्छ कि दुई मानिसको बिचमा हावा मुस्किलले पस्ला, त्यही पान परागले सुगन्ध छरेपछि बिस्तारै दिमाग खराब हुन्छ।

तर पनि ठीकै छ, यात्रा त गर्नै पर्छ।

मोबाइल, पर्स चोरी हुँदाको हल्ला छँदै छ। हरेकसँग समाधानका सुझावहरु छन्, पुलिसकोमा जाउ, आइएमइआई नम्बर देउ।

मोबाइल पर्स त बगलीमा राख्ने नै हैन। ब्याग त अरुलाई समात्न दिने नै हैन।

अनि सुरु हुन्छ कहानीको किस्सा, फलानो ठाउँमा मेरो पनि यस्तै भएको थियो, ठिलानोले स्टेशनमा झरेको मान्छे चोर जस्तै देखिन्थ्यो। आदि आदि ।

बसमा धेरै भट्टाइने विषयमा आरक्षण सिटको व्यवस्थालाई कसरी बिर्सन सकिन्छ र ?

बिरामीलाई सिट छोड्नुको साटो आरक्षण सिट देखाउने, वृद्ध नागरिक बसेको महिला सिटमा आएर सानका साथ ‘महिला सिट हो’ भन्दै आफू बस्ने घटनाहरुले ३४ सिटको बसलाई छिनछिनमा माछापसल बनाइदिन्छ।

कानको जाली फुट्ने आवाजमा कहिले बुझिने त कहिले बुझ्दै नबुझिने भाषाको गीत सुन्नु त हाम्रो नियती नै हो।

तर त्यो दिन ४५ मिनेटको यात्रा मेरो लागि एकदमै फरक अनुभव रह्यो।

म ड्राइभर पट्टीकै दोस्रो सिटमा थिएँ, महिला सिट। बस खाली नै थियो। मध्यम आवाजमा गीत बज्दै थियो, ‘मै रहूँ या नारहूँ, तू मूझमे कहीँ बाँकी रहैना’ भारतीय गायक अरमान मलिकको स्वर। मलाई राम्रो लाग्ने गीत, म आधा झ्याल खोलेर बाहिर हेर्दै गीतको मजा लिन थालेँ।

‘दाइ जाउँ अब’ ओझिलो आवाजले मलाई झस्कायो। ढोकामा आँखा पुग्यो, कोही थिएन। दाँयापट्टिका सिटबाट कोही बोलेका हुन् कि भनेर हेरे, सबै शान्त देखिए।

‘दाइ’

यो सम्बोधन पछि मेरो आँखा क्याबिन तिर पुग्यो। गेयरमा भएको उनको हात एकदमै सेता थिए, ध्यू सेतो। नाडीमा घडी अनि घडी भन्दा अलिकति माथि सर्टको बाहुला पट्टाइएको थियो। कालो अनि सेतो रंगको चेकसर्ट लगाएका रहेछन्। कपाल छोटो गरी काटेको।

बाहिरबाट आवाज आयो, ‘एकछिन् बस्न पाए हुने’

‘हैन, अब जाउँ होला, अर्को गाडीले हामीलाई नभेटोस्’

पङ्चुअल सुनिए उनी। रफ सुनिएनन्। उनको आवाज अनि पछाडिबाट जति देखिए त्यसले उनी पाको उमेरको नभएको भान हुन्थ्यो।
गाडी गुड्यो,

सिनामंगल बस स्टेशन मान्छेहरुको चाप हुने स्टेशन हो, त्यहाँबाट सातजना बस चढे। बसमा बिरामीको लागि आरक्षण सीट खाली थियो। सिनामंगल स्टेशनबाट चढेकी एक महिलालाई उनले त्यो सिटमा राख्न लगाए। त्यहीबाट चढेका एकजना अधवैँसे पुरुष बस्न खोज्दा उनले नरम भएर अनुरोध गरे, ‘दाइ पछाडि बस्नुस न है।’

ती पुरुषले पुर्लुक्क ड्राइभरको अनुहारमा हेरे, उनी मुसुक्क हाँसे। त्यसपछि भनेको जस्तै भयो।

सिनामंगल कटेर गएपछि ओरालो स्टेशनमा एकजना खुट्टामा समस्या भएका मानिस बसमा उक्ले, अगाडिको सिट भरियो।

बस गुडाएर अलि पर पुग्दा एक वृद्धा बाटो काट्दै थिइन्। बसले छिटो गरेको भए भ्याउँथ्यो पनि तर उनले बाटो काट्ने वृद्धालाई कुरे।

कोटेश्वर आइपुग्दासम्म गाडी भरिइसकेको छ। उनको साइडको सिटमा एक बच्चा रुँदै थिए, बच्चा फुलाउन आमाले दुध पिलाउने, बाहिर देखाउने, बाबु यो त्यो। कुनै आइडिया काम लागि रहेको थिएन। ड्राइभरले गाडिको र्‍याकबाट चकलेट निकालेर दिए। बच्चा चुप लाग्यो आमाले मुस्कान छोडिन्।

काटेश्वर काटेर अगाडि बढ्दै गर्दा बसमा यात्रुको चाप बढ्न थाल्यो, उनी सहचालकलाई सहयोग गर्दै गए। त्यो बसमा यतिबेला गीत बज्दै थियो, ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’

यात्रु सहचालकलाई सहयोग गर्दै मिलेर बस्दै थिए। गाडी गार्को कट्ने ठाउँमा रोकियो। चोकमा १ मिनेट रोकिनै पर्छ।

त्यो बसका सामान राख्ने र्‍याक सफा रहेछन्। यात्रुले झर्ने बेलामा ब्याग निकाल्दा भने, ‘ओई हेर त धुलो लागेनछ।’ कलेजबाट फकिएका यि विद्यार्थी मख्ख परे।

खलासी दाइले प्वाक्क बोले, ‘बिहान बिहान सधैँ धुन्छौँ।’

बस नयाँ थिएन तर सफा थियो। उनीहरु जरिबुटिमा बस सफा गर्न दिनहुँ जाने रहेछन्।

सातदोबाटोमा अलि लामै जाम पर्‍यो। यात्रुले बिचमा नै झर्न खोजे, ‘हुन्न दाइ बिचमा नझरौँ, नियम मान्नुपर्छ।’ यात्रुले जिद्दी गर्न छोडेनन्। खलासी दाइले ढोका खोल्न लाग्दा रोक्दै उनले फेरी भने, ‘नियम मिच्नु हुन्न दाइ, नखोल्नुस्।’

यसपछि उनी चुप भए, ढोका खोलिएन। बसका अरुले यात्री नियममा छलफल गर्न थाले। सातदोबाटो आएपछि सबै साम्य भयो। गाडि एकछिन रोकियो, नियम रहेछ रोक्नुपर्ने।

त्यतिबेला मैले अगाडिको दृश्य नियालेँ, उनले निलो रंगको जिन्स प्यान्ट लगाएका रहेछन्, स्पोस्टको जुत्ता उनी सामान मिलाउन आउँदा देखेँ। २७–२८ वर्षका जस्ता लाग्थे। खाइलाग्दो ज्यान। उनी एकदमै सफा थिए। उनका सहचालक पाका उमेरका। एकअर्काप्रति सम्मान थियो।

त्यतिबेला कोटेश्वर–कलंकीको बाटो पूरा बनिसकेको थिएन। सामान राख्ने र्‍याकबाट माक्स निकालेर लगाए अनि सहचालकलाई पनि दिए।
उनको बस हुईँकाई कच्चा थिएन, कहिँ पनि ह्वात्त अगाडि गएनन्, कहिँ झ्याप्प ब्रेक लागेन।

जुन स्टेशनबाट यात्रु चढाउने हो अनि जहाँ झार्ने हो, त्यहाँभन्दा दायाँबाँया गाडी रोकिएन। उनको कामको शैली जति देखेँ म इम्प्रेस भए। एयरपोर्ट आउँदा चढेको गाडीका ड्राइभर र खलासीलाई सम्झे।

‘छ्या, किन तुलना गर्दै छु म ?’

यसरी एकान्तकुनासम्म गाडी आइपुग्यो, कार्ड देखाएर १५ रुपैयाँ भाडा दिएँ। मनमनै सोचेँ कति ह्याण्डसम ड्राइभर रहेछ।

म ओर्लँदा बिपुल क्षेत्रीको गीत बजिरहेको थियो, ‘तिमी जाने सिलगुडि म जाने सिक्किमतिर…’

माघ १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्