तीन सय १० जना पुगे बर्मा

भारतमा चार जना दलालसहित एक सय तीन जना नेपाली नियन्त्रणमा

काठमाडौं– दलालले विभिन्न देश पुर्‍याउन लागेका एक सय तीन जना नेपाली महिलालाई दिल्लीका विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको छ। माइती नेपाल र दिल्लीका विभिन्न निकायले शुक्रबार दिउँसो र राति गरी चार जना दलालसहित एक सय तीन जनालाई नियन्त्रणमा लिएको माइती नेपालले जनाएको छ।

गत माघ १६ गते दिल्लीको राजीवनगरमा २५/३० जना नेपाली महिलालाई थुनेर राखेको सूचना पाएपछि माइती नेपालको सहयोगमा भारतको महिला आयोगले उनीहरु रहेको होटलमा छामा मारेको थियो। त्यहाँ ६ जना महिला फेला परेका थिए। तर बाँकीलाई त्यहाँबाट अन्यत्र लगिएको सूचना पाएपछि खोजतलास गर्दा ठूलो संख्यामा महिलाहरु फेला परेका हुन्।

थप महिला खोज्दै जाने क्रममा प्लेनमा मनिपुरको राजधानी इम्फाल लगिएको सूचना पाएपछि भारतीय प्रहरीले त्यहाँ पनि खोजतलास गरेको थियो। त्यहाँबाट उनीहरुलाई भारत र बर्माको बोर्डर मोरेमा पुर्‍याएको पत्ता लगाएपछि प्रहरीले त्यो क्षेत्रमा पनि खोजि गर्दा शुक्रबार ठूला संख्यामा फेला परेका हुन्।

इम्फाल विमानस्थलमा १५ र मोरे बोडरबाट १९ जनालाई उद्धार गरिएको इन्डिया एक्सप्रेसले जनाएको छ। पक्राउ परेका महिलाले दिएको सूचनाका आधारमा खोजी गर्दा इम्फाल क्षेत्रको एउटै होटलमा ६० महिला फेला परेको प्रहरीले जनाएको छ। उनीहरुको पहिचान हुन बाँकी छ।

बर्माको बोर्डर मोरे भन्ने ठाउँबाट बर्मा लैजाने र त्यहाँबाट दुवई, इराक, इरान कुवेत लगायतका देशमा लैजाने तयारी गरिररहेको भारतीय प्रहरीले पत्ता लगाएको छ।

नेपाली महिलाको उद्दारमा यट्चेक नेटवर्क, इम्पल एनजिओ नेटवर्क, मनिपुर प्रहरी, मनिपुरको बालबालिका आयोग लगायत सक्रिय भएका थिए। उद्धार गरिएका महिलाको विषयमा भारतका विभिन्न निकायसँग समन्वय गरिररहेको माइती नेपालले जनाएको छ।

गत डिसेम्बर र जनवरीमा मात्रै यो बोर्डरबाट तीन सय १० जना नेपाली बर्मा गएको तथ्यांक समेत प्रहरीले फेला पारेको छ। पक्राउ परेका चार जना दलालविरुद्ध भने भारतीय प्रहरीले मुद्दा दर्ता गरेको छ।

माघ १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्