भेनेजुएलामा राजनीतिक संकट

स्वघोषित राष्ट्रपति र राष्ट्रपतिले गरे समर्थकसहित प्रदर्शन

भेनेजुएलामा राजनीतिक संकट थप गहिरिँदै गएको छ । राजधानी काराकासमा राष्ट्रपति निकोलश मादुरो तथा आफैलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका विपक्षी नेता क्आन गुएडोका हजारौँ समर्थकले प्रदर्शन गरेका हुन् ।

विपक्षी नेता गुएडोले देशको आशाको अभियान सडकमा भइरहेका प्रदर्शनले बोकेको बताए । आफैलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका गुएडोले देश अहिलेको शासन सत्ताका कारण निराशाको खाडलमा पुगेको बताए ।

यस्तै राष्ट्रपति मादुरोले आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफू मात्रै भेनेजुएलाको राष्ट्रपति रहेको बताए ।

गुएडोले गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए । उनलाई अमेरिकाले समर्थन गरेको छ । यस्तै ब्राजिल, कोलम्बिया, पेरुसहितका दक्षिण अमेरिकी देश पनि छन् ।

यस्तै राष्ट्रपति मादुरोलाई रुस र चीनको साथ छ ।

केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलश मादुरोमाथि छ ।

मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ । आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।

मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए । विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए ।

विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।

भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।

काराकासमा हजारौँ समर्थकलाई सम्बोधन गर्दै गुएडोले प्रदर्शन स्वतन्त्रता प्राप्त नभएसम्म जारी रहने बताए ।

यस्तै मादुरोका समर्थकले पनि प्रदर्शन गरे । सो प्रदर्शनलाई सम्बोधन गर्दै मादुरोले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले आफ्नो पक्षमा भएका प्रदर्शनलाई नसमेटेको आरोप लगाए ।

युरोपियन युनियनले राष्ट्रपतिका लागि नयाँ चुनावको घोषणा गर्न दिएको समय सीमाको अघिल्लो दिनमा मादुरोका समर्थकले प्रदर्शन गरेका हुन् ।

देशको सेनाको साथ रहेकाले मादुरो सत्तामा रहिरहन सकेका छन् । तर नेता गुएडोले भने सेनाका अधिकारीसँग आफ्नो गोप्य भेट भएको र समर्थनका लागि प्रयास भइरहेको बताउँदै आएका छन् ।

शनिबार भएको प्रदर्शनमा मादुरोका धेरै समर्थक सेनाको खाकी युनिफर्ममा आएका थिए ।

माघ २०, २०७५ मा प्रकाशित