मोनाकोले जित्यो, सेस फाब्रिगासले गरे गोल

फ्रेन्च लिग वान क्लब मोनाकोले थिएरी हेनरीलाई प्रशिक्षकबाट बर्खास्त गरेपछिको पहिलो जित दर्ता गरेको छ । तीन महिना जिम्मेवारीमा रहेका हेनरीलाई मोनाकोले लगातारको खराब प्रदर्शनपछि गएको जनवरी २४ मा बर्खास्त गरेको हो ।
लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको खेलमा मोनाकोले टेलुजलाई २–१ ले हरायो । मोनाकोको जितमा एलेक्सान्ड्र गोलोविन र सेस फाब्रिगासले गोल गरे । टुलुजका लागि क्रिष्टोफर जुलिएनले गोल गरे ।
घरेलु मैदानमा भएको खेलमा गोलोविनले १५ औँ मिनेटमा गोल गर्दै मोनाकोलाई सुरुवाति अग्रता दिलाए । त्यसको पाँच मिनेटपछि क्रिष्टोफरले टुलुजका लागि बराबरी गोल फर्काए ।
जनवरी ११ मा फाब्रिगासले मोनाकोसँग साढे तीन वर्षको सम्झौता गरेका हुन् । उनी चेल्सीबाट मोनाको गएका हुन्, त्यो बेला मोनाकोको प्रशिक्षकका हेनरी थिए । हेनरी र फाब्रिगासले आर्सनलमा सँगै खेलेका थिए ।
फाब्रिगासले मोनाकोबाट पहिलो गोल गरेका हुन् । जितपति १८ औँ स्थानमा पुगेको मोनाकोको २३ खेलबाट १८ अंक भएको छ ।