हिउँदे अधिवेशनमा प्रदेश १ को स्थायी राजधानी र नामाकरणले प्राथमिकता पाउने

फाइल फोटो।

मोरङ – प्रदेश नम्बर एकको आइतबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा प्रदेशको स्थायी राजधानी र नामाकरणले प्राथमिकता रहने बताइएको छ।

आइतबार मुख्यमन्त्री कार्यालयमा आयोजित सञ्चारकर्मी भेटका क्रममा मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशनको मुख्य विषय राजधानी र नामाकारण हुने बताए।

मुख्यमन्त्री राईले भने, “यसै अधिवेशनबाट जुनसुकै अवस्थमा भएपनि राजधानी र नामाकरणको विषय टुँगो लगाइने छ।”

प्रदेश संसदको अधिवेशन आइतबार दिउसो ३ बजेबाट विराटनगरस्थित प्रदेशसभा भवनमा सुरु हुँदैछ। ‘यो हिउँदे अधिवेशनले जसरी भए पनि नाम र राजधानीको विषय टुँगो लगाउँछ । भरिसक सहमतिको प्रयास हुनेछ’, उनले भने, ‘सहमति नभए प्रक्रियामा गएर भए पनि टुँग्याइने छ । नाम र राजधानीको अन्तिम टुङ्गो लगाउने अधिकार प्रदेशसभालाई हुन्छ।’

त्यसैगरी मुख्यमन्त्री राईले प्रदेश नम्बर एकको राजधानी विराटनगर र प्रदेशको नाम कोशी हुने कुरामा शीर्ष नेताहरुबिच सहमति भइसकेको प्रसंग आफू अनभिज्ञ रहेको बताए।

सोही क्रममा मुख्य मन्त्री राईले आगामी फागुन ३ गते पत्रकार सम्मेलनको आयोजना गरेर सरकारले एक वर्ष भरको कामकार्वाहीको विषयमा जानकारी दिने पनि बताए ।

माघ २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्