तरकारी खेतीले सुर्खेतका किसान मालामाल

‘छोरा–छोरी पढाउनेदेखि स्वास्थ्य उपचारको सम्पूर्ण खर्चबाहेक पैसा बचत गरेका छौं’

सुर्खेत– वर्षभरी खेती गर्‍यो, महिना दिन खाना नपुग्ने। दुई/चार पैशा आम्दानीको होला, भन्ने स्रोत केही पनि नहुने। पेट पाल्न अन्‍न किन्नुपर्ने बाध्यता। विगतमा सामान्य जीविकोपार्जनका लागि हम्मे हुन्थ्यो, गुर्भाकोट नगरपालिका–२ मालारानीकी विमला कंडेलको परिवारलाई।

पाँच रोपनी जग्गामा उनको परिवारले खेती गर्थ्यौ। तर, खाद्यान्‍न संकट टर्ने गरी उत्पादन त्यो जग्गाबाट हुदैन थियो। ‘विहानदेखि साँझसम्म बारिमै दिन विताएर खेती गर्दा पनि प्रयाप्त खाना पुग्दैन थियो’ उनले भनिन्,‘विगतमा खाना किन्‍न छुट्ला भन्‍ने दिन फेरिएनन्। न रोजगारी थियो, न त अन्य आम्दानी हुने ठाउँ नै।’ अन्‍नबाली लगाउँने पाँच रोपनी जग्गामा हाल टमाटर, काउँली, बन्दा, सिमीलगायतका मौसम तथा बेमौसमी तरकारी खेती गर्न थालिएको छ।

निर्वाहमुखी खेती गर्दा आम्दानी नहुने र अभावमा बाच्नुपर्ने बाध्यता थियो। तर, डेढ वर्ष यता व्यवसायिक रुपमा तरकारी खेती गर्न थालेपछि उनको परिवारको दैनिकी बदलिएको छ। वर्षमा एक लाख ५० हजार रुपैयाँ खुद मुनाफा हुन्छ।

तरकारी खेतीबाटै परिवारले घर खर्च चलाएका छन्। आठ जनाको परिवारका लागि भरपर्दो आम्दानीको स्रोत बनेको छ, तरकारी खेती। ‘छोरा–छोरी पढाउने, दैनिकी खर्च चलाउँनेलगायतको खर्च तरकारीबाटको आम्दानीले गर्छौं’ उनले भनिन्,‘स्वास्थ्य उपचारदेखि सम्पूर्ण खर्च गर्दा पनि केही पैसा बचत गरेका छौं।’ घर खर्चबाट बचेको पैशा बैंक तथा सहकारी र विभिन्‍न समूहमा मासिक,त्रैमासिक, अर्धबार्षिक तथा बार्षिक रुपमा बचत समेत गर्ने गरेको उनले बताइन्।

खाध्यबाली लगाउने जग्गामा तरकारी खेती गरेपछि मालारानीकै सीता भण्डारीले पनि मासिक रुपमा पैसा बचत गर्ने गरेकी छन्। तीन रोपनी जग्गामा उनको व्यवसायिक तरकारी खेती छ। तरकारी खेतीबाटै आएको आम्दानीले उनको घरखर्च चलेको छ।‘व्यवसायिक रुपमा तरकारी खेती गर्न थालेदेखि पैसाको अभावै छ भन्‍नैपर्ने अवस्था छैन’ उनले भनिन्,‘विगतमा केटाकेटीलाई कपडा किन्दासमेत ऋण खोज्नुपर्ने अवस्थाबाट मुक्ति पाएका छौं।’

मालारानीका विमला र सीता मात्रै होइन्, पछिल्लो समयमा अधिकांश कृषकहरु व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन्। छोटो समयमा राम्रो आम्दानी हुन थालेपछि विगतका वर्षमा निर्वाहमूखी खेती किसानी गर्दै आएका यस क्षेत्रका किसानहरु व्यवसायिक तरकारी खेती गर्न थालेका हुन्।

गाउँमा समूहमार्फत उनीहरुले कृषि पेशा नै अंगालेका हुन्।आफ्नै बारीमा रोजगारी हुने र आर्थिक सहायता हुने भएकाले विगतको खेतीपाती त्यागेर त्यस क्षेत्रका बासिन्दाहरु तरकारी खेती गर्न थालेका छन्।

मूल्य पाउँदैन् कृषक


व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका मालारानीका कृषकहरुलाई बजारीकरणको समस्या छ। तरकारी उत्पादन हुन थालेपछि विक्रिका लागि मिलिजुली तरकारी बजार व्यवस्थापन समिति नै गठन गरिएको छ।समितिमार्फत कृषकको उत्पादन गरेको तरकारी विक्रि गर्ने गर्छन्।तर, भनेअनुसार र मेहनत अनुसारको मुल्य नपाएको गुनासो उनीहरुको छ।

‘तरकारी उत्पादनमा जति पनि हुन्छ तर, के गर्ने भनेअनुसार मुल्य छैन्’ राम वलीले भने,‘वीरेन्द्रनगरमा ६० रुपैयाँ केजी पर्ने बन्दा यहाँ १० रुपैयाँमा विक्रि गर्नुपर्ने बाध्यता छ ।’ तरकारी उत्पादन धेरै हुने भएपछि सुन्दर नेपाल संस्थाले संकलन केन्द्र निर्माण गरेको छ।

संकलन केन्द्रले प्रतिकिलो २ रुपैयाँ काटेर कृषकहरुको तरकारी खरिद गर्छ । सोमबार र बुधबार कृषकहरुको तरकारी खरिद गर्ने गरिन्छ । संकलन केन्द्रमा तीन सय ६० जना व्यवसायिक तरकारी खेती गर्दै आएका कृषकहरु आवद्ध छन्।

त्यस क्षेत्रबाट उत्पादन हुने तरकारी स्थानीय बोटेचौर, मेहेलकुना र छिञ्चुसम्म आउँछ । उत्पादन अनुसार खपत नहुँदा तरकारी भैसीलाई घाँसका रुपमा प्रयोग गर्नुपर्ने बाध्यता रहेको वलीले बताए। ६ जनाको परिवारले छ।

करिव एक रोपनी जग्गामा तरकारी खेती लगाएका छन्, उनले। तरकारीबाटै बार्षिक एक लाखसम्म बचत गर्ने गरेको उनले बताए। तर, तरकारी मुल्य नपाउँदा कम आम्दानी भएको उनको गुनासो छ। ‘सिचाईका लागि कुनै समस्या छैन्’ उनले भने, ‘तरकारी उत्पादन गर्दा खपत कसरी गर्ने भन्‍न चिन्ता किसानमा छ।’

माघ २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्