एल क्लासिकोअघि रियल मड्रिडको प्रभावशाली जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले एलाभेसलाई ३–० ले हराएको हो ।

रियल मड्रिडको जितमा करिम बेन्जिमा, भिनिसियस जुनियर र मारियानोले गोल गरे ।

बेन्जिमाले ३० औँ मिनेटमा गोल गर्दै टिमलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ८० औँ मिनेटमा किशोर खेलाडी जुनियरले गोल गरे । यस्तै इन्जुरी समयको पहिलो मिनेटमा मारियानोले गोल गरेपछि रियल मड्रिड ३–० ले विजयी भयो ।

जितपछि तेस्रो स्थानको रियल मड्रिडको २२ खेलबाट ४२ अंक भएको छ । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनलमा हुने एल क्लासिको अर्थात बार्सिलोनासँगको खेलअघि रियल मड्रिडले उत्कृष्ट प्रदर्शन गरेको हो ।

१८ वर्षका जुनियरले ला लिगामा पहिलो गोल गरे भने टिमका अरु खेलाडी पनि उत्कृष्ट लयमा देखिएका छन् ।

आउँदो बुधबार रियल मड्रिडले कोपा डेल रे को सेमिफाइनल पहिलो लेगमा बार्सिलोनासँग खेल्ने छ । त्यसअघिको लिग खेलमा जित निकालेर उसले शीर्षस्थानको बार्सिलोनासँगको अंक दूरी ८ तथा दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँगको अंक दूरी दुई बनाएको हो ।

ला लिगा अन्तर्गत आइतबार राति नै भएको खेलमा एथ्लेटिको मड्रिड रियल बेटिससँग १–० ले पराजित भयो । पराजित भएको एथ्लेटिको मड्रिड २२ खेलबाट ४२ अंकसहित दोस्रो स्थानमा कायम छ ।

अरु खेलमा एइबरले जिरोनालाई ३–० ले हरायो भने भिल्लारियल र स्पानियोलले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

माघ २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्