बेपत्ता फुटबलर साला चढेको विमानको भग्नावशेष भेटियो

इंग्लिस प्रिमियर लिग क्लब कार्डिफ सिटीका खेलाडी एमिलियानो साला सवार रहेको विमानको भग्नावशेष फेला परेको छ । गएको जनवरी २१ मा बेपत्ता भएको विमानको भग्नावशेष इंग्लिस च्यानलमा भेटिएको हो ।

फ्रान्सको नान्टेसबाट कार्डिफका लागि उडेको सानो आकारको विमानमा अर्जेन्टिनी स्ट्राइकर सालासँगै पाइलट डेविड इबोस्ट्सन थिए ।

विमानलाई कतै ट्रयास गर्न नसकिएको र पानीमा खसेको भए जीवित हुने सम्भावना नरहेको भन्दै खोजी रोकिएको थियो । तर सालाको परिवारको प्रयासमा निजी रुपमा थालिएको खोजीको क्रममा विमानको भग्नावशेष भेटिएको हो । डेविड मार्न्सको नेतृत्वमा खोजी जारी छ ।

डेविडको नेतृत्वमा भइरहेको खोजीको क्रममा स्थानीय समय अनुसार आइतबार बिहान इंग्लिस च्यानलको समुद्रमा तैरिएको अवस्थामा विमानको भग्नावशेष भेटिएको हो । विमान दुर्घटनाबारे अनुसन्धान गर्ने शाखाको टोलीले विमानको भग्नावशेष संकलन गरेको छ ।

साला र पाइलट डेविडको परिवारलाई प्रहरीले यसबारे जानकारी गराएको खोजकर्ता मार्न्सले ट्वीट मार्फत जानकारी दिएका छन् ।

कार्डिफले सालालाई जनवरीमा क्लबको कीर्तिमानी मूल्य १५ मिलियन पाउण्डमा अनुबन्धित गरेको थियो । २८ वर्षका साला र ५९ वर्षका डेविड नान्टेसबाट कार्डिफ आउँदै थिए । त्यहि क्रममा विमान बेपत्ता भएको हो । आधिकारिक खोजी जनवरी २४ मा रोकिएको थियो ।

पाइलट डेविड इबोस्ट्सन

तर अर्जेन्टिनाका राष्ट्रपति माउरिसिओ माक्रीले विमान बेपत्ता हुँदा अवस्था थाहा नभएका सालाको खोजी पुनः सुरु गर्नु पर्ने बताएका थिए । सालाको परिवारले पनि खोजी सुचारु गर्न भनेको थियो । आधिकारिक खोजी नभएपछि उनीहरुले निजी प्रयासमा खोजी गरेका हुन् ।

यस्तै अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले पनि सालाको खोजी जारी रहनु पर्ने बताएको थिए ।सालाको पूर्व क्लब नान्टेसले पनि खोजी रोकिनु नहुने बताएको थियो ।

सालाको खोजीका लागि चाहिने रकम जुटाउन अनलाइनमार्फत गरिएको अपिलमा तीन लाख २४ हजार पाउण्ड जम्मा भएको थियो । त्यसपछि आइतबारदेखि खोजी सुरु भएको थियो ।

खोजकर्ता मार्न्स
माघ २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्