भेनेजुएलामा राजनीतिक संकट थप गहिरिँदै गएका बेला अमेरिकाले सहायता सामग्री पठाउने भएको छ । विपक्षी नेता तथा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका क्आन गुएडोको आग्रहमा भेनेजुएलामा सहायता सामग्री पठाउने तयारी भएको अमेरिकाले जनाएको छ ।
गुएडोलाई अमेरिकासहित ब्राजिल, पेरु तथा कोलम्बियासहितका दक्षिण अमेरिकी देशले पनि साथ दिएका छन् । आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरे पनि गुएडो अहिले शक्ति संघर्षमा छन् ।
राष्ट्रपति निकोलश मादुरोलाई देशको सेनाको साथ रहेकाले गुएडो अप्ठ्यारोमा छन् । राष्ट्रपति मादुरोले गुएडोमाथि देशमा अस्थिरता बढाएको आरोप लगाएका छन् ।
मादुरोले अमेरिकाले गरेको सहायता प्रस्ताव अस्वीकार गरेका थिए । सहायताको नाममा अमेरिका आफ्नो देशमा सैन्य हस्तक्षेप गर्न ध्यानमा रहेको मादुरोको भनाई थियो । तर विपक्षी नेता गुएडोले भने अमेरिकासँग सहायताका लागि आग्रह गरेको बताइएको छ । यहि आग्रह अनुसार आफूले सहायता सामग्री पठाउन थालेको अमेरिकी भनाई छ ।
भेनेजुएलामा गुएडो तथा मादुरोको पक्षमा प्रदर्शन हुँदै आएको छ । राजधानी काराकासमा शनिबार राष्ट्रपति निकोलश मादुरो तथा आफैलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका विपक्षी नेता क्आन गुएडोका हजारौँ समर्थकले प्रदर्शन गरेका थिए ।
विपक्षी नेता गुएडोले देशको आशाको अभियान सडकमा भइरहेका प्रदर्शनले बोकेको बताए । आफैलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका गुएडोले देश अहिलेको शासन सत्ताका कारण निराशाको खाडलमा पुगेको बताए ।
यस्तै राष्ट्रपति मादुरोले आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफू मात्रै भेनेजुएलाको राष्ट्रपति रहेको बताए ।
गुएडोले गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए । उनलाई अमेरिकाले समर्थन गरेको छ । यस्तै ब्राजिल, कोलम्बिया, पेरुसहितका दक्षिण अमेरिकी देश पनि छन् ।
यस्तै राष्ट्रपति मादुरोलाई रुस र चीनको साथ छ ।
केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलश मादुरोमाथि छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ । आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।
मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए । विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए । विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।
भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।
काराकासमा हजारौँ समर्थकलाई सम्बोधन गर्दै गुएडोले प्रदर्शन स्वतन्त्रता प्राप्त नभएसम्म जारी रहने बताएका छन् ।