मेक्सिकोसँगको सीमामा अमेरिकाले थप सुरक्षाकर्मी तैनाथ गर्ने

अमेरिकाले मेक्सिकोसँगको सीमा क्षेत्रको सुरक्षा व्यवस्था थप कडा बनाउने भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले मेक्सिकोसँगको सीमा क्षेत्रमा थप दुई हजार सुरक्षाकर्मी तैनाथ गर्ने भएको हो ।

सीमा क्षेत्रबाट हुने आप्रवासीको अवैध प्रवेशलाई रोक्नका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा व्यवस्था कडा पार्दै आएको छ । थप गरिएकासहित मेक्सिकोसँगको सीमा क्षेत्रमा तैनाथ हुने सुरक्षाकर्मीको संख्या ४३ सय भन्दा बढी हुने भएको छ ।

सुरक्षाकर्मीले सीमा सुरक्षा गार्डलाई काममा सहयोग गर्ने पेन्टागनले जनाएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो प्रस्तावित सीमा पर्खालका लागि सरकारी कोषबाट रकम लिनका लागि कांग्रेससँग संघर्ष गरिरहेका बेला रक्षा मन्त्रालयले थप सुरक्षाकर्मी सीमामा तैनाथ गर्ने निर्णय गरेको हो ।

राष्ट्रपति ट्रम्पले गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासीलाई रोक्नका लागि सीमा पर्खाल खाँचो रहेको बताउँदै आएका छन् । यस्तै उनले सीमा क्षेत्रमा सुरक्षा सतर्कता पनि बढाउँदै आएका छन् ।

सीमा पर्खालका लागि सरकारी कोषबाट रकमको व्यवस्था हुनु पर्ने ट्रम्पको अडान तथा डेमोक्र्याटिक पार्टीको त्यसविरुद्धको अडानका कारण ३५ दिनसम्म आंशिक संघीय सरकारी कार्यालयको काम प्रभावित भएको थियो ।

फेब्रुअरी १५ सम्मका लागि सरकारी कार्यालयको कार्यसञ्चालनका लागि बजेटको व्यवस्था भएको छ । यो बिचमा सहमति नजुटेमा फेरि काम प्रभावित हुनेछ ।

माघ २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्