क्यान्सरलाई जितेकी यशोधा दाहाल । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार
जसले क्यान्सरलाई हाँसी हाँसी जितिन्

क्यान्सरलाई पराजित गरेपछि आमा बनेकी यशोधा

वर्ष गन्दा सात पुगेछ यशोधा दाहाललाई क्यान्सर भएको। वर्षहरु एकपछि अर्को थपिँदै जान्छन् उनलाई लागेको घाउँको खाल्टो उत्तिनै पुरिँदै जान्छ।

यशोधालाई थपिँदै गएका नयाँ वर्षहरुले नयाँ खुशीको अनुभव गराउँछ, उत्साह थप्छ, उमंग ल्याउँछ। बितेको सात वर्षसँग उनको जीवनको सबैभन्दा खुशी, सुखी पल अनि भयको सम्बन्ध छ।

उनी अहिले स्वस्थ छिन्, तर सात वर्ष अगाडि उनको ज्यानलाई सञ्चो थिएन।

यशोधाले सम्झना थालिन्, ‘मास्टर्स सकेर म घर गएको थिए, स्थानीय स्कूलमा पढाउन थालेको थिए। केही दिनदेखि ढाड दुख्न थाल्यो, जचाँउन मेची अस्पताल जाँच गर्दा अण्डासयमा सिस्ट देखियो।’

कीर्तिपुरमा बसेर पढेकी हुन् यशोधाले। अर्थशास्त्रमा स्नातकोत्तर सकिएपछि उनी झापा फर्केकी थिइन्। झापा फर्कनु अगाडि उनले लोक सेवा आयोगमा परिक्षा पनि दिएकी थिइन्।

स्कूल जाँदै गर्दा एकदिन उनलाई ढाड दुख्न थाल्यो। पीडा सामान्य थियो। तर पनि के भएको रहेछ भन्ने जानौँ भनेर उनी अस्पताल गईन्। उनलाई अस्पतालमा हेरेका डाक्टरले पत्थरी भएको शंका गरेका थिए। भिडियो एक्सरे गरेर हेर्दा पाठेघरको अण्डासयमा सिस्ट देखियो।
उनलाई डाक्टरले सिस्ट झिक्नलाई अप्रेशन गर्नुपर्छ भने। उनीहरु त्यसपछि सिलिगुडीमा देखाउन गइन् उनी। उनलाई त्यहाँ कस्तो रोग हो, खतरा हुनसक्छ, क्यान्सर सम्बन्धी रगत जाँच गर्नु भने। यशोधाले भनेको जस्तै गरिन्।

‘उहाँले सी.ए.वान.२५ गर्न लगाउनुभयो’, दाहालले भनिन्, ‘परीक्षण गर्दा पोजिटिभ आयो।’

त्यसपछि उनीहरु छिट्टो गरेर काठमाडौँ आए। बुद्धनगरको ‘हेम्स’ अस्पतालमा शल्यक्रिया भयो। शिक्षण अस्पतालमा कार्यरत डा. पदम राज पन्तले दाहालको शल्यक्रिया गरेका हुन्। त्यसपछि उनी किमोथेरापीको लागि जावलाखेलको नेशनल क्यान्सर हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरमा जान थालिन्।

उनले अर्थशास्त्रमा स्नातकोत्तर गरेको भए पनि उनलाई क्यान्सरको बारेमा त्यति ज्ञान थिएन। ‘मलाई थाहा भएको भन्या नसर्ने रोग हो, यो रोग लागेपछि मान्छे मर्छन् भन्ने थियो।’ यशोदा सम्झन थालिन्, ‘ट्युमर पलाएपछि क्यान्सर पनि हुन सक्छ भन्ने मलाई थाहा थिएन।’
जब थाहा भयो, उनका परिवारले चिन्ता गर्न थाले। पीर लिए तर उनलाई केही चिन्ता लागेन, मन मनमा निको भईहाल्छ नि भन्ने मात्र सोचिरहिन्।

‘रोगको बारेमा थाहा नभएर होला मलाई डर नै लागेन’, उनी निडर सुनिइन् । उनले भनिन्, ‘उपचार गर्दै जाँदा मात्र थाहा भयो, क्यान्सर लागेपछि मरिहाल्ने हैन रहेछ, उपचार पनि हुने रहेछ। निको हुने रहेछ।’

यशोदालाई क्यान्सर पहिलो चरणमा नै पत्ता लागेको थियो। क्यान्सरको उपचार गराईरहेका अरु बिरामीलाई भेटेपछि, अरुको अफ्ठेरो देखेपछि मात्र उनलाई डर लाग्यो रे।

डाक्टरहरु क्यान्सर उपचार गरेको पाँच वर्षसम्म फर्किएन भने निको भएको बताउँछन् । उनको क्यान्सर उपचार भएको सात वर्ष पुग्यो। उनको परिवारमा कसैलाई पनि क्यान्सर थिएन, तर उनलाई भयो। उनलाई क्यान्सर भएको थाहा हुँदा उनी २४ वर्षकी थिइन्।

उनलाई क्यान्सर किन भयो अन्जाद पनि छैन। ‘म जन्मजातै शाकाहारी, म रक्सी चुरोट केही पनि खाँदिन, तर पनि भयो।’ उनी भन्छिन्, ‘उपचार सहज भयो मेरो, किमोथेरापी गर्दा कपाल झरेन, दुखेन।’

उनलाई सुई लगाउँदा नसा नभेटिएर दुख्यो, किमो चढाएपछि खाना नरुच्ने, वान्ता होला जस्तो भयो तर कहिले पोलेन, कहिले दुखेन।
उनलाई सँधै क्यान्सर निको हुन्छ जस्तै लाग्थ्यो।

उनले किमोथेरापि गरेको अस्पताल नेशलन हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरका क्यान्सर रोग विशेषज्ञ डा. मदन कुमार पियाले देशसञ्चारलाई भने, ‘उनी सधैँ हाँसिरहन्थिन्, चाँडै निको भयो।’

टाँका नकाटी जागिरको अन्तवार्ता


उनको उपचारको क्रममा जीवनका ठूला ठूला निर्णय भए। सरकारी जागिरमा नाम निस्कियो, विवाह भयो, छोरी जन्मिइन्।

‘अप्रेशन साउनको १३ गते भयो, २४ गते उनको लोकसेवा आयोगमा अन्तवार्ता थियो।’ यशोदा हाँस्दै भन्न लागिन्, ‘म घाउको टाँका नकाटि अन्तवार्ता दिन पुगेँ, २५ गतेबाट कार्यालयमा हाजिर भए।’

त्यो समय उनले रोगलाई सोचिनन्, मात्र अगाडि बढ्ने बाटो मात्र सोचिन्। एक साता कार्यालय गएपछि उनको उपचार प्रक्रिया अगाडि बढ्यो।

उनको विवाह पनि यहि बेला भयो। ‘डाक्टरले विवाह चाँडै गर्नु बच्चा जन्माउनु भन्नु भएको थियो।’ हाँस्दै यशोदाले भनिन्, ‘विवाह भयो, छोरी पनि जन्मिहालिन्।’

उनकी छोरी अहिले ४ वर्षकी छन्। विवाह कलेजमा आफूसँगै पढेका साथीसँग भयो।

‘प्रेम विवाह ?’

‘चिनजान हो, मेरो एउटा अण्डासय छैन भन्ने थाहा थियो, उहाँको परिवारले पनि मलाई स्वीकार गरे।’

विवाह पछि उनीहरु कार्यालयलाई पाइक पर्ने ठाउँमा बसाई सरे।

सानाठीमिको शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा आइतबार भेटिएकी हुन् यशोधा। निलो रंगको कुर्ता सलवार अनि कलेजी रंगको ज्याकेट लगाएकी थिइन। आँखामा गाजल, दुई आँखिभईको बिचमा सानो टिका, ओठमा हल्का लिपिस्टिक थियो। आँधा कपाल उनले पछाडि लगेर च्यापेकी थिइन्। उनको कर्मथलो अहिले उनलाई धेरै प्यारो छ। यहाँ काम गरेको पनि ७ वर्ष नै भयो।

हिजो आज उनी अरु क्यान्सर प्रभावितको प्रेरणा बनेकी छन्। डेढ वर्ष अगाडि क्यान्सर प्रभावितलाई आफ्नो कथा सुनाउन जाँदा उनको जस्तो उपचार गरेकी स्मृति तिमल्सिना भेटिइन् र खुसी भइन्। अहिले पनि उनी वर्षै पिच्छे क्यान्सर बेलैमा सहि उपचार गर्न सके निको हुन्छ भन्दै हिँड्छिन्। अनि अरु समयमा कार्यलय अनि घर गर्छिन्।

शैक्षिक जनशक्ति विकास केन्द्र थियो अहिले संघीयता लागू भएपछि तीन कार्यालय एक भएको छ। क्यान्सरको उपचारका क्रममा शल्यक्रिया गर्दा नाम निस्किएको ठाउँमा जागिर गर्दा उनले बेला बेलामा सोच्ने गर्छिन्, ‘कतिपय बिरामी अन्तिम अवस्थामा अस्पताल पुग्छन्, धन्न मैले ‘पुनजन्म’ पाएँ।’

तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

माघ २१, २०७५ मा प्रकाशित