कुनै समय आलोचित जतुवामा करोडौँको लगानीमा बन्दै छ रिसोर्ट

आन्तरिक पर्यटन प्रवर्द्धन र घुमघामका लागि विराटनगर महानगरपालिकामा पार्क तथा रिसोर्ट निर्माण हुने क्रम बढ्दो छ। त्यसमा लगानीकर्तालाई स्थानको चुनौतीसँगै वित्तीय संस्थाको चर्को ब्याजदरले निरुत्साहित बनाउँदै लग्छ। यसै चुनौतीबीच महानगरको जतुवामा रिसोर्ट निर्माण भइरहेको छ। जतुवा आफैँमा पनि विराटनगरवासीबीच विगतदेखि नै आलोचित स्थानका रुपमा रहँदै आएको थियो। तर,  पछिल्लोसमय यसले मुहार फेर्न लागि रहेको छ।

मधेश आन्दोलन होस या त्यसअघिका घटनाक्रम। विराटनगर महानगरपालिकाको वडा नम्बर १४ जतुवा भनेपछि फरक पहिचान। यहाँ न उद्योगी पस्न चाहान्थे न त वित्तिय कारोबारी नै। एउटा समुदाय विशेषको राम्रो दखल पाएको यस स्थानले अब भने विस्तारै काँचुली फेर्दै गएको छ। राजनीतिक स्थीरतासँगै यस क्षेत्रका सर्वसाधारण विगतको बिग्रिएको छवि सुधार्न लागि परेका छन्। यसको उदाहरण यहाँ बन्दै गएको निजी रिसोर्ट र फोरलेन सडक पनि हो। सर्वसाधारण बस्न समेत अनकनाउने स्थानमा यहीँका स्थानीयले रिसोर्ट तयार पार्दैछन्। उनी विगतको यहाँको छवि सुधार्न रिसोर्टले सकारात्मक भूमिका खेल्नेमा विश्वस्त पनि छन्। तर, अझै पनि यहा लगानी गर्न वित्तीय संस्थाहरु असहज मान्ने गरेको उनको गुनासो छ।

एक महिनापछि सञ्चालनमा आउने तयारी गरिरहेको रिसोर्टमा फूलबारी, पोखरी, बगैंचा तथा अर्ग्यानिक खानपानले ग्राहकलाई लोभ्याउने निर्माणाधीन गोदावरी रिसोर्टका सञ्चालक राजकुमार मण्डलको बुझाइ छ।

खुला र एकान्त स्थानमा करिब ७ करोड रुपैयाको लागनीमा निर्माण भइरहेको यस रिसोर्टमा ११ कोठासहितको सभाहल पनि रहेको छ। यद्यपि यसमा थप ६ करोड बजेट लाग्ने बताइएको छ। रिसोर्ट सञ्चालकले पर्यटक तथा आगन्तुकहरुका लागि बोटिङ तथा स्विमिङको पनि ब्यवस्था गर्ने लक्ष्य लिएका छन्। यस क्षेत्र भने सीमावर्ती क्षेत्र जोगबनीबाट करिब ४ किलोमिटरको दुरीमा छ।

माघ २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्