रानीपोखरी अब प्राधिकरणले नै बनाउने

काठमाडौं– सरकारले रानीपोखरी पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएको छ । माघ १४ गते बसेको मन्त्रीपरिषद्को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिर लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको पुनर्निर्माण प्राधिकरणलाई नै गर्न जिम्मा दिएको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, विज्ञ, सरोकारवाला संघसंस्था, स्थानीय समुदाय लगायतसँगको परामर्श र समन्वयमा प्रताप मल्लकालीन शैली, प्रविधि र निर्माण सामग्रीको प्रयोग गरी पुनर्निर्माण गर्ने बताए ।
परम्परागत शैली र मौलिकतालाई विशेष ध्यान दिई पुनर्निर्माण कार्यलाई तत्काल अघि बढाइने उनले बताए।
रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण गुम्बज शैलीमा गर्ने कि ग्रन्थकुटरशिखर शैलीमा गर्ने भन्ने विवाद रहेको थियो । विज्ञहरुले दिएको सुझाव समेतका आधारमा प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, पुरातत्व विभाग एवं काठमाडौं महानगरपालिका लगायतसँग समन्वय तथा सहजीकरण गरी ग्रन्थकुटरशिखर शैलीमा पुनर्निर्माण गर्ने निर्णय गरेको छ ।
प्राधिकरणले भूगर्भविद्हरुबाट रानीपोखरीमा पानी कसरी जम्मा गर्न सकिन्छ र कसरी अड्याउन सकिन्छ भन्ने अध्ययन गराएको थियो । विज्ञहरुले तीन सय फिट तलबाट पानी निकाल्न सकिने र कालीमाटीको प्रयोग गरी पानी अड्याउन सकिने प्रतिवेदन दिएका छन्।
रानीपोखरी वरिपरीको भाग पनि प्रताप मल्लकालिन शैलीमा पुनर्निर्माण गर्ने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए।