विश्व क्यान्सर दिवस

‘क्यान्सर जीवनको अन्त्य होइन’

‘क्यान्सर जीवनको अन्त्य होइन’

काठमाडौं-  संसारभर  क्‍यान्सर दिवस मनाइ रहँदा सोमबार भने जावलखेलस्थित नेशनल हस्पिटल एण्ड क्यान्सर रिर्सच सेन्टर र क्यान्सर केयर नेपालले संयुक्त रुपमा विश्व क्यान्सर दिवसको आयोजना गर्‍यो। त्‍यहाँ उपस्थित क्यान्सर सर्भाइभरहरुले विश्व क्यान्सर दिवस २०१९ को ‘म हुँ र म गर्न सक्छु’ भन्ने नारालाई आफ्‍नो अनुभव सेयर गरेर पुष्टि गरेका छन्।

कार्यक्रमा क्‍यान्सर सर्भाइभर उठे। उनीहरुले हिम्मतका साथ आ-आफ्नो अनुभव मात्रै सुनाएनन् क्‍यान्सरसँग कसरी लड्‍न सकिन्छ भनेर जनचेतनाको सन्देश समेत दिए। क्यान्सरलाई जितेपछिको भाव उनीहरुको अनुहारमा देखिन्थ्यो।किनकी सबैको मुहारमा नयाँ जीवन पाएको भाव झल्किन्थ्यो। त्‍यही खुसी देखिने सर्भाइभर मध्यका एक उदाहरणीय हुन्, इन्द्रिरा तिवारी र भावा राना आचार्य।

उनीहरुको मुहारमा मृत्युलाई जित्दाको चमक शरीरको हाउभाउले देखाउथ्यो। किनकी उनीहरुले जीवन र मृत्यु बिचको संघर्षलाई साक्षी राखेर आफ्‍ना अनुभवहरु सुनाइरहेका थिए एक चित्त भएर। हुन न इन्दिराको जीवनमा एकपछि अर्को गर्दै दुःखले आफ्नो कब्जा जमाइरह्‍यो।

सुरुमा त उनले ५ वर्ष पहिल्‍यै पति गुमाईन्। लोग्ने गुमाएको पीडाले त पिरोलि नै रहेको थियो। त्‍यसमाथि थप अर्को बज्रपात आइलाग्‍यो उनलाई ३ वर्षपछि। पतिको मृत्युलाई स्वीकार्न नसकिरहेकी इन्द्रिरा आफै जानीनजानी स्तन क्यान्सरको सिकार हुन पुगिन्। उनको जीवनमा दु:खको पहाडले घेरियो। तर जतिपनि दु:ख कष्ट आइपरे पनि मनबाट भने आट र साहास गुम्‍न दिइनन्। उनी आफूलाई सम्हाल्दै, दृढसंकल्पित भइ अगाडि बढेको अनुभव सुनाइन् सबैका सामू।

इन्द्रिरा भन्छिन्, ‘सुरुमा त दुई सन्तानको भविष्यको बारेमा धेरै सोच्न थाले।तर अहिले क्यान्सरले मलाई बाँच्न सिकायो।आत्मबल भित्रैदेखि बढेर आयो।’ आत्मबल बलियो भएकै कारण आफूले क्यान्सरलाई जितेर सबैको सामू खुलेर बोल्‍न र क्‍यान्सरसँग लड्‍न सक्‍ने भएको बताइन्।

यता, भावा राना आचार्यको कहानी पनि उस्तै छ। उनी पनि ६ वर्ष अगाडि डिम्बासयको क्यान्सरबाट पीडित भइन्। आफूलाई क्यान्सर भएको थाहा पाएपछि एकछिन मन उनी आत्तिइन् पनि। तर आत्तिए पनि भावा त्यति धेरै निरुत्साहित भने भइनन्। किनकी उनीभन्दा अगाडि पनि धेरै आफन्तलाई क्यान्सरले सताइसकेको थियो, त्‍यसको हेक्का उनलाई पनि थियो।

त्‍यो बेलाको क्षण सम्झिँदै उनी भन्छिन्,‘ मभन्दा पहिला मेरा धेरै आफन्तलाई क्यान्सर भइसकेको थियो। त्यही भएर होला मलाई अन्य कुराहरुले भन्दा पनि बंशाणुगत क्यान्सरले छोयो।’ अपचारका क्रममा भने मरिने पो हो कि भन्‍ने डरले कहिले काही सताउने गरेको उनले बताइन्।तर उपचारपछि भने उनी पूर्ण रुपमा स्वस्थ छिन्। अहिले उनी आफूलाई मन लनगेको कुराहरु सबै गरेरै छोड्ने गरेको बताउँछिन्। उनी भन्छिन्,’ हामीले आत्मबल गुमाउनु हुँदैन। सब ठीक हुन्छ।’

यसका साथै कार्यक्रममा उपस्थित चिकित्सकहरुले ‘क्यान्सर’ अन्य रोगहरु जस्तै सामान्य भइसकेको जिकिर गरेका छन्। क्यान्सरलाई धेरै खर्चालु र जटिल रोग भन्‍नेहरुको जमात अहिलेसम्म पनि कम नभएको चिकित्सकले दावी गरे। महिलाहरुमा देखिने पाठेघरको क्यान्सर बाहेक अन्य क्यान्सरहरु के कारणले गर्दा लाग्छन् भन्ने मुख्य कुरा अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन्।

क्यान्सर जीवनको अन्त्य होइन, यसलाई जीत्‍न सके जीवन फेरी पनि सुन्दर र सुखद् बन्छ भन्ने सन्देश क्यान्सर सर्भाइभरहरुले देखाएका छन्।

माघ २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्