सोनाम ल्होछारः राष्ट्रपतिसहित विशिष्ट व्यक्तिद्वारा शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारी। फाइल तस्बिर

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले चन्द्रपात्रो अनुसार नयाँ वर्षका रूपमा तामाङ समुदायले मनाउने सोनाम ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

सोनाम ल्होसारका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्न सकेमा विश्वसामु नेपाल र नेपालीको पहिचान कायम राख्न सकिने भएकाले यसतर्फ हामी सबैको ध्यान जानुपर्ने बताएकी छन् ।

सन्देशमा राष्ट्रपतिले भनेकी छन्, “नेपालसहित सिङ्गापुर, मलेशिया, भारत, थाइल्याण्ड, मङ्गोलिया, भियतनाम, भुटान, लाओस, म्यान्मा, जापानलगायत देशमा समेत फरक फरक नाम र शैलीमा मनाइने सोनाम ल्होहार पर्वले विश्वशान्ति र भ्रातृत्व प्रवद्र्धधनमा समेत उत्तिकै टेवा पुग्ने मैले विश्वास लिएको छु ।”

राष्ट्रपतिले यस पर्वबाट सबै नेपालीबीच एकता सुदृढ गर्दै नयाँ उत्साह एव उमङ्गका साथ देशमा शान्ति, सद्भाव र सहिष्णुता कायम गरी आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा सबैमा मिलोस् भन्ने कामनासमेत गरेकी छन् ।

‘चाडपर्वले सामाजिक सद्भाव सुदृढ’


यसै उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताएका छन् ।

तामाङ समुदायको सोनाम ल्होछार २८५५ का अवसरमा शुभकामना सन्देश दिँदै उनले कुकुर वर्ग (वर्ष)को बिदाइ र सुँगुर वर्ग (वर्ष)को स्वागत गरेर मनाइने सोनाम ल्होछारका अवसरमा सम्पूर्ण तामाङ दिदीबहिनी तथा दाजुभाइ र नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

उपराष्ट्रपतिले नेपाल राष्ट्रको पहिचान र अमूल्य निधिका रुपमा रहेका मौलिक संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने प्रमुख दायित्व राज्यको रहेको आँैल्याउँदै यसतर्फ सबैको ध्यान जाने विश्वाससमेत गरेका छन् ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सांस्कृतिक विविधताले नेपालीलाई एक सूत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको बताएका छन् ।
तामाङ जातिले मनाउने सोनाम ल्होछार पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले विविध सांस्कृतिक परम्परा र संस्कृतिले नेपाललाई विश्वमा अलग पहिचान दिएको बताएका छन् ।

प्रधानमन्त्रीले सन्देशमा भनेका छन् “नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश हो । यहाँ हरेक जातजातिका आआफ्नै परम्परा, चाडपर्व, वेशभूषा रहेका छन् । मुलुकमा बसोबास गर्ने सबै जातिका चाडपर्वप्रति सरकारको उत्तिकै सद्भाव र सम्मान छ ।”

वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य राखेर अघि बढेको स्पष्ट पार्दै उहाँले यस यात्रामा देशका सबै जातजाति, धर्म र सम्प्रदायको योगदान अपेक्षित रहेको बताएका छन् ।

प्रधानमन्त्रीले भनेका छन्, “हाम्रा सांस्कृतिक पर्व, वेशभूषामार्फत पनि समृद्धिको अभियानमा टेवा पु¥याउन सकिन्छ । यस्ता सम्पदालाई पर्यटक आकर्षण गर्ने माध्यमका रुपमा समेत विकास गर्न सकियो भने हाम्रो संस्कृति पनि जीवित रहन्छ । यस्ता सम्पदाको अवलोकनका लागि स्थानीयस्तरमा पुग्ने पर्यटकमार्फत आयआर्जन गर्न पनि सकिन्छ ।”

प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकाना व्यक्त गरेका छन् ।

सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्न सकोस्ः देउवा


यसै उपलक्ष्यमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ‘सोनाम ल्होहार’ का उपलक्ष्यमा सम्पूर्ण तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

उनले विज्ञप्तिमार्फत विविधताले भरिएको नेपाली समाजमा गर्व गर्नलायक धार्मिक–सांस्कृतिक रीतिरिवाज र परम्परामध्ये सोनाम ल्होहारले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उल्लेख गरेका छन् ।

यस पर्व आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भावना बढाउने काममा कोशेढुङ्गा सावित भएको विज्ञप्तिमा उल्लेख छ । सभापति देउवाले यस पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्न सकोस् भन्ने शुभकामना दिएका छन् ।

माघ २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्