तस्करीको नयाँ तरिका: पिठोको बोराभित्र कपडा बरामद

नेपालगञ्‍ज- टाँगा खचाखच थियो। बसेका यात्रुको आ–आफ्नै सामान थिए। दशगजा पार भएपछि नाकामा रहेको जमुनाहा प्रहरीले टाँगामा बसेका व्यक्ति र सामानको खानतलासी गर्‍यो। केही महिलाले पिठो हो। घरमा खानका लागि ल्याएको भन्दै थिए। प्रहरीले छाम्दा पिठोभित्र आवाज आयो।

टाँगा रोकियो। दुई वटा पिठोको बोरा खोलियो। त्यसपछि थाहा भयो, पिठोको बोराभित्र त कपडा पो रहेछ। एकछिन अघिसम्म पिठो हो भन्ने महिलाहरु लुसुक्क तर्किए। भीडभाडमा उनीहरु कता गए, गए।

नाकामा रहेको प्रहरीले तस्करीको नयाँ तरिका थाहा पायो। घरमा खानका लागि भन्दै सीमावर्ती भारतीय बजारबाट चामल र पिठो ल्याउने गरिन्छ। चामल र पिठोलाई खोलेर जाँच गरिदैन। यसपाली भने पिठो भित्र कपडा फेला परेको छ। हुन त यसअघि आलुको बोराभित्र कपडा बरामद नभएको होइन।

पिठोको बोराभित्र कपडा ल्याउने महिला ‘भरिया’ हुन्।उनीहरुले भारतबाट कुनै न कुनै तरिकाले कपडा ल्याएर नेपालगञ्ज र आसपासका पसलमा बेच्ने गर्दछन्। यस्ता महिलाको संख्या ठूलै रहेको छ। उनीहरु चलाख पनि छन्।

दुई बोरा पिठोभित्र १८ पिस फराक थियो। फराक साना बालिकाले लगाउने गर्दछन्। इलाका प्रहरी कार्यालय, जमुनाहाले बरामद सामान भन्सारमा बुझाइदिने बताएको छ।

माघ २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्