राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगाइएको ताला प्रहरीले खोल्यो

दाङ–राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २२ दिन अगाडिदेखि आन्दोलित कर्मचारीले लगाएको ताला प्रहरीले फोडेको छ।

आन्दोलन रोक्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश जारी गरेको थियो। प्रहरीले भने अदालतको निर्देशनलाई सम्मान गर्दै ताला फोडेको प्रतिक्रिया दिएको छ।

प्रतिष्ठानको प्रशासन भवनमा आन्दोलनरत कर्मचारीले माघ २ गते ताला लगाएका थिए। साविक राप्ती उपक्षेत्रिय अस्पतालमा कार्यरत तीन जना कर्मचारीलाई प्रतिष्ठानले निस्कासन गरेपछी पुर्नवाहालीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन।

कर्मचारीहरुले आफ्ना मागहरु पुरा नगरेको भन्दै प्रतिष्ठानमा ताला लगाएका थिए।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भैरहेको आन्दोलन रोक्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश जारी गरेपनि कर्मचारीहरुले आन्दोलन रोकेका छैनन्।

मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलाशले निवेदनको अन्तिम टुंगो नलाग्दासम्म अस्पतालले प्रदान गर्दै आएको सेवामा बाधा अवरोध पुग्ने प्रकृतीका आन्दोलन तथा हड्ताल नगर्न नगराउन आदेश दिएको थियो।

तर पेशाबाट हटाउन नहुने र लामो समय देखीको तलबको माग गर्दै २० दिन देखी आन्दोलनमा रहेका कर्मचारीहरु काम नगरी धर्नामा बसेका छन्।
आबश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ ले प्रदान गरेको अधिकार प्रयोग गरी नेपाल सरकारले २०७५ कार्तिक १२ को राजपत्रमा सूचना प्रकाशित गरेर अस्पताल तथा स्वास्थ्य संस्थामा हड्ताल गर्न निषेध गरेको अदालतको आदेशमा भनिएको छ।

माघ २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्