एम्नेस्टी इन्टरनेशनलको 'रियालिटी चेक'

कतारले श्रमिकको अधिकारका पक्षमा महत्वपूर्ण काम अझै गर्न सकेन

विश्वकप फुटबल २०२२ को आयोजनाको जिम्मा पाएको कतारको विभिन्न कारणले आलोचना हुँदै आएको छ । सुरुमा कतारले विश्वकप आयोजनाको जिम्मा पाएकोमै लामो विवाद भयो ।

त्यसपछि कतारले विश्वकपका लागि चाहिने भौतिक संरचना निर्माणको क्रममा कामदारको सुरक्षाका क्षेत्रमा हेलचक्र्याईँ गरेको भन्दै आलोचना हुँदै आएको छ । कतारमा विश्वकपका लागि निर्माण भइरहेका संरचनामा श्रमिकको सुरक्षाको व्यवस्था कमजोर हुँदा धेरैको ज्यान गएको छ ।

अन्तर्राष्ट्रिय मानवअधिकार तथा श्रमिक संगठनले कतारले विश्वकप आयोजनाका लागि चाहिने संरचना बनाउँदा कामदार तथा श्रमिको बलिदान लिएको भन्दै चासो र चिन्ता व्यक्त गर्दै आएका छन् ।

उनीहरुले कामदारको सुरक्षा तथा अधिकारका लागि काम गर्न आग्रह गर्दै आएकोमा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले श्रमिको अवस्था सुरधारका लागि गर्ने भनेका प्रयासको समय सीमा कतारले गुजारेको बताएको छ ।

खाडी मुलुक कतारका अधिकारी त्यहाँ रहेका २० लाख भन्दा बढी आप्रवासी कामदारको अधिकार रक्षा तथा सुरक्षाका सवलामा काम गर्नबाट चुकेको एम्नेस्टीले उल्लेख गरेको छ । कतारका अधिकारीले कामदारको पक्षमा निकै कम मात्रै काम गरेको बताइएको छ ।

कामदारको अधिकार रक्षा तथा सुधारका लागि सन् २०१७ मा संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) र कतारबिच महत्वपूर्ण सम्झौता भएको थियो ।

तर एम्नेस्टीले गरेको पछिल्लो अनुसन्धानमा सम्झौतामा उल्लेख भए अनुसारका धेरै काम अझै पनि गर्न बाँकी नै रहेको उल्लेख छ ।

एम्नेस्टीले ‘रियालिटी चेक’ नाम १९ पृष्ठ लामो अनुसन्धान प्रतिवेदनमा कामदारहरुको अहिले पनि शोषण भएको र उनीहरुमाथि दुर्व्यवहार हुने गरेको उल्लेख छ ।

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले जारी गरेको वक्तव्यमा कतारले कामदारको हित तथा अधिकारका पक्षमा पछिल्लो समय गरेको कामको स्वागत गर्ने बताएको छ ।

तर एम्नेस्टीको भनाईसँग आफूहरु सहमत भएको पनि फिफाको वक्तव्यमा उल्लेख छ । कतारले यसबारे अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

सन् २०१० मा विवादास्पद रुपमा कतारले अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया तथा जापानलाई पछि पार्दै सन् २०२२ को विश्वकप आयोजनाको जिम्मा पाएको थियो ।

त्यसयता कतारले विश्वकपका लागि चाहिने रंगशालासहितका संरचना बनाउँदै आएको छ । यस्ता निर्माण कार्यमा नेपालीसहितका आप्रवासी कामदार कार्यरत छन् ।

माघ २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू