राजनीतिक एकताका लागि ट्रम्पको आह्वान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनीतिक एकताका लागि आह्वान गरेका छन् ।
वार्षिक रुपमा हुने स्टेट अफ द युनियन सम्बोधनको क्रममा बुधबार बिहान राष्ट्रपति ट्रम्पले राजनीतिक एकताका लागि आग्रह गरेका हुन् । कांग्रेस सुरु हुनुअघि ट्रम्पले स्टेट अफ द युनियन सम्बोधन गरेका हुन् ।
ट्रम्पले सिनेटमा रहेका डेमोक्र्याटिक सांसदका बारेमा आपत्तिजनक शब्द गरेको केही घण्टापछिको सम्बोधनमा एकताका लागि आह्वान गरेका हुन् ।
सीमा पर्खालका लागि रकम जुटाउने विषयमा विवाद भएपछि अमेरिकी इतिहासमै लामो समय सरकारी कार्यालयको काम प्रभावित भएकाले सम्बोधनको मितिमा ढिलाइ भएको हो ।
ट्रम्पले संघीय सरकारको कार्य सञ्चालन बजेटमा मेक्सिकोसँगको सीमामा बनाउने भनिएको पर्खालका ५.७ बिलियन डलर रकम व्यवस्था गर्नु पर्ने अडान लिएका कारण बजेट पास नहुँदा काम प्रभावित भएको थियो ।
ट्रम्पले यसअघिका दुई सम्बोधनमा जस्तै यसपटक पनि राजनीतिक एकताका लागि आह्वान गरेका हुन् । उनले भने, ‘सँगै हामीले दशकौँ लामो राजनीतिक गाँठो फुकाउन सक्छौँ ।’
अमेरिकाको भविष्यका लागि उत्कृष्ट प्रतिवद्धता कायम गर्न सकिने उनले बताएका छन् । एकताको निर्णय आफूहरुले नै गर्नु पर्ने उनको भनाई छ ।
ट्रम्पले सम्बोधनको क्रममा सीमा सुरक्षाका लागि पर्खाल बनाउनु पर्नेमा पुनः जोड दिए । ट्रम्पले सम्बोधनको क्रममा यसअघि भन्ने गरेको जस्तो सीमा पर्खाल निर्माणका लागि राष्ट्रिय आपतकाल लगाउने कुरा उल्लेख गरेनन् ।