भारतीय श्रमिकले नेपालमा श्रम स्वीकृति लिनुपर्ने भन्दै परिपत्र गर्ने विभागका प्रमुखलाई स्पष्टीकरण

काठमाडौं–भारतीय श्रमिकले नेपालमा काम गर्दा श्रम स्वीकृति लिनु पर्ने भन्दै परिपत्र गर्ने श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका प्रमुखलाई मन्त्रालयले स्पष्टीकरण सोधेको छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधलबार विभागका निमित्त महानिर्देशक उदय गुप्तालाई यस बारेमा स्पष्टीकरण मागेको हो। बुधबार मन्त्रालयको महाशाखामा विषयको गम्भीरता नबुझी पत्र काटेको र आफूबाट गल्ती भएको भन्दै लिखित स्पष्टीकरण बुझाएको मन्त्रालय श्रोतले जनाएको छ।

श्रोतका अनुसार विभागका कारखाना निरीक्षक प्रशान्त शाहलाई समेत काठमाडौं झिकाइएको छ । हाल काजमा वुटवल पुगेका शाहलले श्रम कार्यालयहरुलाई काटिएको पत्रमा हस्ताक्षर गरेका थिए ।

गत माघ १० गते भारतीय श्रमिकहरुले नेपालमा काम गर्दा श्रम स्वीकृति लिनुपर्ने सूूचना विभागले जारी गरेको थियो । तर यसबारे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई कुनै जानकारी गराइएको थिएन। मंगलबार संचार माध्यम मार्फत मन्त्रालयले थाहा पाएपछि आपत्ति जनाउँदै यस विषयमा छानविन गर्ने जनाएको थियो।

भारतीय नागरिकलाई नेपालमा श्रम स्वीकृति अनिवार्य नरहेको र पहिलेकै अवस्था यथावत रहेको पनि मन्त्रालयले प्रस्ट पारेको छ।

मन्त्रालयले यसप्रकारको आधारहिन हल्लाको पछि नलाग्न अनुरोध गर्दै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले प्रधानमन्त्री तथा मन्त्री परिषद्को गत पुुष २६ गतेको परिपत्र भन्दै श्रम कार्यालयलाई गरेको पत्र त्रुटिपुर्ण भनेको छ।

माघ २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्