इन्टरनेटमा बाल दुर्व्यवहारजन्य सामाग्री रोक्‍न ‘चाइल्ड सेफ्टी पोर्टल’

काठमाडौं-इन्टरनेटमा रहेका बाल दुर्व्यवहारजन्य सामाग्रीलाई रोक्‍न चाईल्ड सेफ्टी पोर्टल चाइल्ड सेफ्टी डट ओआरजी नामक वेब साइटको सार्वजनिक गरिएको छ।

हरेक फेब्रुअरी ५ तारिखमा मनाइने वर्ल्ड सेफर इन्टरनेट डेमा यस पटक भने ‘उत्कृष्ट इन्टरनेटको लागि सँगसँगै’ नारासहित नेपालमा पहिलोपटक वेबसाइट शुभारम्भ गरिएको फोरम फर डिजिटल इक्वालिटिका संस्थापक तथा कार्यकारी निर्देशक बाबुराम अर्यालले बताए।

उनका अनुसार ‘उत्कृष्ट इन्टरनेटको लागि सँगसँगै’ नारासहित नेपालमा पहिलोपटक ‘विश्व सुरक्षित इन्टरनेट दिवस’को अवसरमा फोरम फर डिजिटल ईक्वालिटी, ईन्टरनेट सोसाईटी नेपाल र सेन्टर फर ल एण्ड टेक्नोलोजीको साझा अभियान अनलाईन चाईल्ड प्रोटेक्सन इनिसियटिभ र बेलायतस्थित अन्तराष्ट्रिय संस्था ईन्टरनेट वाच फाउन्डेसनको संयुक्त पहलमा शुभारम्भ गरिएको हो।

इन्टरनेटमा उपलब्ध बालहिंसा वा यौन दुर्व्यवहारजन्यतश्वीर वा भिडियो सामाग्री फेला परेमा त्यसको लिंक, तस्विर, भिडियो यस अनलाईन पोर्टलमा पहिचान उल्लेख गरी वा नगरी जो सुकैले पनि उजुरी गर्न सक्नेछन्।यसरी प्राप्त उजुरीलाई ईन्टरनेट वाच फाउन्डेशनले विकास गरेको आई डब्लु एफ पोर्टलको टुल्समार्फत प्राविधिक विश्लेषण गरी विस्तृत रुपमा प्रतिवेदन तयार गर्नेछ।

यसरी प्राप्त प्रतिवेदनलाई नेपाल प्रहरीलगायत कानुन कार्यान्वयन निकायले थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि प्रयोग गर्न सक्नेछ । साथै, सम्बन्धित सेवाप्रदायकको सहयोगमा उक्त सामाग्री स्रोतबाटै हटाउन पहलकदमी गर्नेछ। साथै स्थानीय संजालबाहेक इन्टरनेट वाच फाउण्डेशनले संयोजन गरेको अन्तराष्ट्रिय संजालमार्फत उक्त सामाग्री हटाउन सक्रिय रुपमा पहल गर्नेछ।

उक्त पोर्टलमा दुर्व्यवहारजन्य सामग्रीको उजुरी गर्ने टुल्सलगायत बालबालिकालाई इन्टरनेट प्रयोग गर्ने सम्बन्धमा आवश्यक जानकारीमूलक सामग्री, नीति तथा कानुन लगायत सामग्री समेत उपलब्ध हुनेछ।

सफ्ट लन्च कार्यक्रममा ईन्टरनेट वाच फाउन्डेशनकी निर्देशक एम्मा डगलसले दूर सहभागीता जनाउँदै साइबर स्पेशमा बालबालिको सुरक्षा अत्यन्त संवेदनशील विषय भएको र नेपालमा यसको चुनौतीलाई सम्बोधन गर्न स्थानिय साझेदार संस्थाहरुसँगको अभियानमा इन्टरनेट वाच फाउण्डेशनको साथ रहि रहने प्रतिवद्धता व्यक्त गरे।

साथै, इन्टरनेट वाच फाउण्डेशनले विकास गरेको आइ डब्लु एफ पोर्टलको प्रयोग सम्बन्धमा शुरु भएको साझेदारीले उल्लेखनीय सफलता प्राप्त गर्नेमा आफू विश्वस्त रहेको बताए ।

चाईल्ड सेफ्टी पोर्टलका साझेदार संस्था मध्येका फोरम फर डिजिटल इक्वालिटिका संस्थापक तथा कार्यकारी निर्देशक बाबुराम अर्यालले चाइल्ड सेफ्टी पोर्टल साईबर स्पेशमा हुने बालदुर्व्यवहारलाई उन्मूलन गर्ने तथा बालबालिकालाई सुरक्षित इन्टरनेट प्रयोगको लागि आवश्यक वातावरणको लागि भूमिका खेल्न पोर्टल संचालन गरिएको बताए ।

अर्यालले पोर्टलको प्रयोग गर्ने तरिका तथा यसको प्रभावकारिताका सम्बन्धमा प्रयोगात्मक प्रस्तुतिसमेत गरेका थिए । उक्त पोर्टलको माध्यमबाट बालदुर्व्यवहारको घटनामा पीडितलाई प्राविधिक अनुसन्धानमा सहायता, मनोसामाजिक परामर्श, कानुनी परामर्श तथा अदालती सहायता समेत उपलब्ध हुने कार्यकारी निर्देशक अर्यालले जानकारी गराए ।

पोर्टलको सफ्ट लन्च गर्दै प्रमुख अथिति सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सहसचिव विरेन्द्रकुमार मिश्रले सूचना प्रविधिको विकाशसँगै आएको जोखिम, खास गरी बालदुर्व्यवहारजन्यसामग्रीलाई हटाउन तथा बालबालिकामाथि हुने दुर्व्यवहारहरुलाई न्यूनिकरण गर्नको लागि यस पोर्टल महत्वपूर्ण भएको र यसको दिगो प्रभावकारिताको लागि नेपाल सरकारको साथ र सहयोग हुने धारणा राखे।

माघ २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्