बेपत्ता फुटबलर साला चढेको विमानको खोजी

समुद्रको ६७ मिटर तल रहेको विमानको भग्नावशेषबाट उद्धारकर्मीले शव बाहिर निकाले

इंग्लिस प्रिमियर लिग क्लब कार्डिफ सिटीका खेलाडी एमिलियानो साला सवार रहेको विमानको भग्नावशेषमा एकजनाको शव निकालिएको छ ।

निजी पहलमा भएको खोजीको क्रममा गएको जनवरी २१ मा बेपत्ता भएको विमानको भग्नावशेष इंग्लिस च्यानलमा आइतबार भेटिएको थियो ।

त्यसपछि समुद्रमुनि रहेको विमानको भग्नावशेषमा एउटा शव देखिएको खोजकर्ताले बताए । शवसहितको विमानको भग्नावशेष समुद्र सतहबाट ६७ मिटर तल थियो ।

उद्धारकर्मीले समुद्रमुनि रहेको विमानको भग्नावशेषबाट शव निकालेका हुन् । शव निकाल्नै निकै सावधानी अपनाइएको उद्धारकर्मीले बताएका छन् । सबै प्रक्रियामा विमानमा रहेका दुईजनाका परिवारका सदस्यालाई अपडेट गराइएको उद्धारकर्मीले बताए ।

फ्रान्सको नान्टेसबाट कार्डिफका लागि उडेको सानो आकारको विमानमा अर्जेन्टिनी स्ट्राइकर सालासँगै पाइलट डेविड इबोस्ट्सन थिए । भग्नावशेषमा देखिएको शव कसको हो भन्ने खुलेको छैन।

शवसहितको विमानको भग्नावशेष फेला पारेका व्यक्तिले सकेसम्म सुरक्षित उपायसहित शव निकालिएको बताए ।

विमानको खोजकर्ता वैज्ञानिक डेविड मार्न्सले भनेका थिए, ‘सालाको परिवारले दुई हप्तासम्म नपाएका धेरै प्रश्नको उत्तर पाउने सम्भावना छ, त्यसका लागि विमानको भग्नावशेष तथा शव बाहिर निकालिनु पर्छ ।’

शव देखिएपछि उनले अघि भनेका थिए, ‘जुन भयानक डर थियो त्यो पुष्टि भएको छ । सालाको परिवारलाई यो आँसुबाट बाहिर निस्कन समय लाग्ने छ ।’

विमानलाई कतै ट्रयास गर्न नसकिएको र पानीमा खसेको भए जीवित हुने सम्भावना नरहेको भन्दै बेपत्ता बिनाको आधिकारिक खोजी रोकिएको थियो । तर सालाको परिवारको प्रयासमा निजी रुपमा थालिएको खोजीको क्रममा विमानको भग्नावशेष भेटिएको हो । डेविड मार्न्सको नेतृत्वमा खोजी जारी राखियो ।

कार्डिफले सालालाई जनवरीमा क्लबको कीर्तिमानी मूल्य १५ मिलियन पाउण्डमा अनुबन्धित गरेको थियो । २८ वर्षका साला र ५९ वर्षका डेविड नान्टेसबाट कार्डिफ आउँदै थिए । त्यहि क्रममा विमान बेपत्ता भएको हो । आधिकारिक खोजी जनवरी २४ मा रोकिएको थियो ।

सालाको खोजीका लागि चाहिने रकम जुटाउन अनलाइनमार्फत गरिएको अपिलमा तीन लाख २४ हजार पाउण्ड जम्मा भएको थियो । त्यसपछि आइतबारदेखि खोजी सुरु भएको थियो ।

माघ २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्