बिहीबार दिनभर वर्षा र हिमपात

किन अचानक बिग्रियो मौसम? कहिलेसम्‍म रहन्छ यस्तो?

काठमाडौं- पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्‍न ठाउँमा बर्षा र पहाडी भूभागमा हिमपात भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी वायुको प्रभाव बुधबार बेलुकादेखि नै देखिएकाले मौसम पूर्ण रुपमा बदली भई तराईका केही स्थानमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपात भइरहेको मौसमविद गंगा नगरकोटीले जानकारी दिइन्।

उनले भनिन्, ‘अहिले देशभरको मौसम पूर्ण रुपमा बदलिएको छ। पूर्वी तराईका केही स्थानमा हल्का वर्षा भइरहेको छ भने मध्‍यपश्‍चिममा बर्षा भइरहेको छ। साथै हिमाली भूभागमा हिमपात सुरु भइसकेको छ।’ उनका अनुसार पश्चिम र मध्य क्षेत्रका केही ठाउँमा ठूलो पानी र हिमपात पर्ने सम्भावना रहेको छ।

देशका अधिकांश उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम स्तरको हिमपात भइरहेकाले शुक्रबार पनि यस्तै स्थिति हुने र शनिबार अबेररातिसम्‍म हिमपात हुने सम्भावना रहेको मौसमविदले बताएका छन्।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात


मौसमविद् गंगा नगरकोटीका अनुसार वायुमा जलवाष्पको मात्रा बढी सक्रिय रहेकाले मध्‍यपश्चिम र उच्च हिमाली भेगमा हिमपात भइरहेको छ। यसका साथै शुक्रबार पनि उक्त क्षेत्रमा हिमपात र केही स्थानमा भारी वर्षा भइरहेको छ।

पश्चिमका क्षेत्रमा बुधबार रातिदेखि नै पानी परिरहेको छ भने हिमाली क्षेत्रमा हिमपात भइरहेको छ। पश्‍चिमी वायु बिस्तारै मध्य हुँदै पूर्वी क्षेत्रमा सर्दै गएकाले बिहीबार बिहानदेखि काठमाडौँ उपत्यकासहित देशका मध्य क्षेत्रमा पनि बदली तथा वर्षा भएको हो।यो वर्षको हिउँदमा चौथो पटक पश्चिमी वायुका कारण मौसमी प्रणाली भित्रिएको हो ।

यसपटकको प्रणाली प्रभावकारी रहेकाले शनिबारदेखि पश्चिमबाट मौसम खुल्दै जाने भएकाले पूर्ण रुपमा मौसम खुल्नका लागि आइतबारसम्म नै पर्खिनुपर्ने उनले बताइन्। यस्तै चिसो बढेका कारण काठमाडौँ उपत्यका आसपासका उच्च पहाडी क्षेत्रमा हिउँ परेको छ।

माघ २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्