रिहा होलान् त प्रकाण्डका छोरा ?

काठमाडौँ- भूमिगत राजनीति गरिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्रसिंह विकलाई  गत साता मोरङ प्रहरीले नाइन एमएमको पेस्तोलमा प्रयोग हुने गोलीसहित पक्राउ गर्‍यो। जिल्ला प्रहरीले हातहतियार तथा खरखजना मुद्धामा विकमाथी अनुसन्धान गरिरहेको छ।

विक पक्राउ परेको केही दिनपछि अखिल (क्रान्तिकारी)ले बिहीबार आह्वान गरेको देशव्‍यापी आमहड्तालका कारण अधिकांश शैक्षिक स‌ंस्था ठप्प रहे। विकलाई सरकारले फसाउन खोजेको भन्दै उनी निशर्त रिहा हुनुपर्ने माग अखिल (क्रान्तिकारी)को छ। विप्लव नेतृत्वको नेकपा र उसका संगठनले गर्ने बन्द र आम हड्तालको विशेष मार शैक्षिक क्षेत्रमा पर्ने गरेको छ।

विगतमा उसले विस्फोटक पदार्थ राखेर  तर्साउने, बम विस्फोटन गराउनेजस्ता गतिविधी खुलेहाम गरेकाले त्यसको त्रास छर्लङ्ग देखिने गरेको छ। केन्द्र र प्रदेशको निर्वाचनताका देशका गाउँदराजदेखि काठमाडौ‌ंसम्म विप्लव नेतृत्वको नेकपाको आतङ्क निरन्तर देखिएको थियो।

यद्यपि, यस पार्टी र उसका गतिविधीप्रति सरकारको स्पष्ट दृष्टिकोण देखिँदैन। विप्लव नेतृत्वको नेकपाका नेता/कार्यकर्ता संलग्न आपराधिक गतिविधिमा समेत नेपाल प्रहरीले गहिरो अनुसन्धान गरेको देखिँदैन।

अखिल (क्रान्तिकारी)ले पछिल्लोपटक आह्वान गरेको शैक्षिक आम हड्तालको सम्बन्ध उसको पार्टी राजनितीसँग प्रत्यक्ष देखिन्छ। मोरङ प्रहरीले पक्राउ गरेका विक ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकान्ड’का छोरा हुन्। केही महिनाअघि चन्दा असुलीको आरोपमा ललितपुरमा पक्राउ गरिएका प्रकान्डलाई देशभरका विभिन्न जिल्लामा दर्ता भएका मुद्धालाई आधार बनाएर ती ठाउँमा पुर्‍याईएको थियो।

उनी ती सबै मुद्धामा  अदालतको आदेशले छुट्ने गरेका थिए। ‘विप्लव’ नेतृत्वको नेकपानिकटका नेता तथा कार्यकर्ता चन्दा असुली, विस्फोटक पदार्थ, हात हतियार तथा खरखजना र राज्यविरुद्धको अपराधमा समातिने गरेका छन्। प्रहरीले विप्लवको पनि खोजी भईरहेको तर पक्राउ पर्न नसकेको बताउँदै आएको छ।

सरकारले केही समय अघि शसस्त्र द्धन्द्धरत समूहसँग वार्ता गर्न वार्ता टोली बनाएको भएपनि विप्लवको पार्टी सम्पर्कबाहिर रहेको थियो। सरकारी वार्ता टोली विघटन भईसकेको छ। विप्लव समूहले राजनितिक आडमा आपराधिक गतिविधी गरिरहे पनि राज्यको दृष्टिकोण स्पष्ट नहुँदा अनुसन्धानमा समस्या भईरहेको सुरक्षा अधिकारी बताउँछन्।

‘कुनै नेता पक्राउ पर्दा देशका विभिन्न ठाउँमा भएका विस्फोटनका घटनामा जोडेर ती ठाउँमा पुर्‍याएर पनि अनुसन्धान गर्ने गरिएको छ। तर यो पनि सरकारको रुचीमा निर्भरजस्तो देखिएको छ। अहिले उक्त पार्टीका धेरै नेताहरु सार्वजनिकरुपमै हिँडिरहेका छन्। विप्लवलाई भने खोजिरहेको जस्तो देखाईएको छ’, नेपाल प्रहरीका एक पुर्व वरिष्ठ अधिकृत भन्छन्।

विगतमा जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने गरेको हातहतियार तथा खरखजना मुद्धा नयाँ फौजदारी आचारसंहिताअनुसार अहिले अदालतमा पेश हुन्छ। मोरङ प्रहरीले सुरुमा सात दिनको म्याद लिएर विकमाथी अनुसन्धान गरेकामा बिहीबार थप १० दिनको म्याद लिएर अनुसन्धान जारी राखेको छ।

‘नाइट एमएमको पेस्तोलमा प्रयोग हुने तीनवटा गोली नरेन्द्रको साथबाट भेटिएकाले उनीमाथि आपराधिक क्रियाकलापको कोणबाट अनुसन्धान भईरहेको छ। हामी उनीको आपराधिक पृष्ठभूमि खोजेर अनुसन्धानलाई गहन बनाईरहेका छौँ’, मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले भने। उनले गोली बोक्नुको कारण खोजि भईरहेको बताए।

फौजदारी अभियोगमा प्रमाण नपुगेको अवस्थामा सरकारी वकिल कार्यालयले मुद्धा नचालउन सक्छ। तर अदालतमा मुद्धा दर्ता भईसकेपछि मुद्धा फिर्ताको प्रकृया सजिलो छैन।

अखिल (क्रान्तिकारी)ले नरेन्द्रको निसर्त रिहाबारे आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छैन।

माघ २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्