बाँकेकाे खजुरामा महिला उद्यमशीलता महोत्सव शुरु

नेपालगञ्ज – बाँकेको खजुरामा बिहीबारदेखि ‘प्रथम प्रादेशिक औद्योगिक महिला उद्यमशीलता लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव’ शुरु भएको छ।

५ नम्बर प्रदेशका उद्योग, वन तथा वातावरण मन्त्री लिला गिरीले महोत्सवको उद्घाटन गर्दै कृषिमा आधारित बहुसंख्यक नागरिकको जीवनस्तर माथि उठाउँदा मात्रै प्रगति र समृद्धिको बाटो समातिने बताए।

उनले साना तथा मझौला उद्योगी, व्यापारीको कामलाई फराकिलो बनाउने गरी प्रदेशस्तरमा नीति निर्माणको काम भइरहेको बताए। मन्त्री गिरीले प्रदेशमा रहेका साना तथा घरेलु उद्योगहरुलाई चिनाउन यस्ता महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए।

फाल्गुनको ५ गतेसम्म सञ्चालन हुने मेलामा एक सय ७० वटा स्टल राखिएको छ। महोत्सवको उद्घाटन अघि खजुराको एक नम्बर बजारबाट झाँकी निकालिएको थियो।

सिमसिमे पानी परिरहेकाले महोत्सवे ढिला गरी उद्घाटन भयो। बिहिबारको प्रस्तुति पनि मौसमले बिथोलियो। लघु घरेलु कृषि उद्योगतिर युवा पिढींलाई आकर्षित गर्न महोत्सवको आयोजना गरिएको आयोजक समितिका संयोजक तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ, बाँकेका अध्यक्ष समरबहादुर खत्रीले बताए। ‘युवाहरुलाई विदेश जान नपरोस्। यहीँ पनि लघु, घरेलु, कृषि उद्योगतिर लागेमा विदेशमा जति नै कमाउन सकिन्छ भन्ने चेतना दिन महोत्सव आयोजना गरेका हौं।’ आयोजक समितिका संयोजक खत्रीले भने।

महोत्सवमा टिकटको मूल्य ६० रुपैया राखिएको छ। बृद्धबृद्धा र विद्यार्थीलाई ४० रुपैयाको टिकट व्यवस्था गरिएको छ। ८० हजार दर्शकले महोत्सव अवलोकन गर्ने विश्वास गरिएको छ। महोत्सवमा कलाकारहरुको प्रस्तुती पनि रहेको छ।

यसैबीच, बाँकेको कोहलपुरमा पनि महोत्सव चलिरहेको छ। नेपालगञ्ज उद्योग बाणिज्य संघले पनि अर्को महिना महोत्सव लगाउदैछ।

माघ २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्