३८ केजी सुन प्रकरण र सनम शाक्य हत्‍या प्रकरण

भुजुङ गुरुङसहित आठ जनालाई थुनामा राख्‍न अदालतको आदेश

मोरङ- बेपत्ता अवस्थामा रहेको ३८ क्विन्टल सुन तस्कर र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका भुजुङ गुरुङसहित आठ जनालाई उच्च अदालत विराटनगरले थुनामा राख्‍न आदेश दिएको छ।

जिल्ला अदालत मोरङको आदेशपछि थुनामा रहेका आठैजनालाई विहीबार विराटनगरस्थित उच्च अदालतले पुनः थुनामा नै राख्न आदेश दिएको हो।

उच्च अदालतका कायममुकाय मुख्य न्यायाधीश शिवराज अधिकारी र लेखनाथ घिमिरेको संयुक्त इजलासले गुरुङसहित आठ जनालाई थुनामा राख्न आदेश दिएको उच्च अदालतका रजिस्ट्रार नारायण रेग्मीले जानकारी दिए।

यसअघि सुन मुद्दाका मुख्य आरोपीलाई छाड्ने विवादास्पद आदेश दिने उच्च अदालतका मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेलसहित ६ जना न्यायाधीशलाई न्यायपरिषद्ले काजमा राखेको थियो।

एकैपटक ६ जना न्यायाधीश न्यायपरिषद् तानिएपछि उच्च अदालतले गुरुङसहित, दोराम खत्री, राजु महर्जन, कपिलराज पुरी, विरेन्द्रमान श्रेष्ठ, लक्षुबहादुर गुरुङ, छिरिङ वाङ्ला घले र बेनु श्रेष्ठलाई थुनामै राख्ने जिल्लाको आदेश सदर गरेको हो।

हाल थुनामा रहेका भरिया टेकराज मल्ल ठकुरी, नरेन्द्र कार्की, मोहन काफ्ले, लालबहादुर मगर, तुलाराम थारु, लाक्पा शेर्पा, सम्बिरप्रसाद तोलाङंगे, पुण्यप्रसाद लामा, हेमन्त गौतम र राजन थापा, गोपालकुमार श्रेष्ठ, प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउत, महावीर गोल्यान, अमरमान डंगोल र एसएसपी श्यामबहादुर खत्रीको हकमा उच्चबाट पनि थुनामै राख्ने आदेश सदर भएको छ।

एसएसपी श्याम खत्री र प्रहरी नायब उपरिक्षक राउत बाहेक अन्य सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेका भरिया र सहयोगी हुन्।जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले गत जेठ ८ गते पुर्पक्षकालागि थुनामा राख्ने आदेश दिएका थिए भने जेठ २९ गते एसएसपी खत्रीलाई थुनामा राख्ने आदेश दिएका थिए।

त्यसैगरि, अदालतले शैयाद अकबर र इस्तियाज उद्दिनलाई भने जनही १० लाख धरौटीमा छाड्न आदेश दिएको रजिष्ट्रार रेग्मीले जानकारी दिए। उच्च अदालत विराटनगरले बालकृष्ण खडका, ठाकुरप्रसाद ढुंगाना, रेवत भन्ने रेवतकुमार आचार्य, बिनोद अधिकारी र मोतिराम श्रेष्ठलाई धरौटीमा छाड्ने जिल्लाको आदेश पनि सदर गरेको छ। यसअघि पाँच जनालाई जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो।

सुन तस्करी प्रकरणमा गृह मन्त्रालयले गठन गरेको छानविन समितिले मोरङ प्रहरी मार्फत गत बैसाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्धा दायर गरेको थियो।

सो मुद्दामा १७ अर्व एक करोड ८० लाख ७१ हजार चार सय ७३ रुपैयाँ बरावरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम अवैध रुपमा सुन आयात गरिएको दावी गरिएको छ।

जिल्ला अदालतको आदेश पछि थुनामा रहेका भरिया टेकराज मल्ल ठकुरी, कृष्ण भन्ने नरेन्द्र कार्की, मोहन काफ्ले, लाक्पा शेर्पा, एलबी भनिने लालबहादुर मगर, सम्बिरप्रसाद तोलाङंगे, तुलाराम थारु, पुण्यप्रसाद लामा, हेमन्त गौतम र राजन थापा , गोपालकुमार श्रेष्ठ, डीएसपी सञ्जयबहादुर राउत, महावीर गोल्यान, अमरमान डंगोल र विवादास्पद एसएसपी श्यामबहादुर खत्रीको हकमा उच्चबाट पनि थुनामै राख्ने आदेश भएको छ।

उच्च अदालतबाट पूर्वडीआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकाशराज खनाल, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल साधारण तारेखमा पुर्पक्ष गर्न पाउने गरी छुटिसकेका छन्।

गोरेका सहयोगी रामकुमार तिवारी, सञ्जय खेतान भनिने प्रभात अग्रवाल, मदन शिलवाल जनही पाँच लाख धरौटीमा छुटेका छन्। राजकुमार दारुका, माधव भनिने मदनप्रसाद घिमिरे, आर के भन्‍ने राजेन्द्रकुमार शाक्य र विनोद पोद्दारलाई उच्चले जनही १० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो।

माघ २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्