पत्रकार जमाल खाशोग्गीको हत्या प्रकरण

योजनावद्ध हत्याको प्रमाण भेटियो, सरकारी अधिकारीको संलग्नता पुष्टि : संयुक्त राष्ट्रसंघ

पत्रकार जमाल खाशोग्गीको हत्या साउदी अरेबियाका अधिकारीको योजनावद्ध तयारीका साथ भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको नेतृत्वमा भएको अनुसन्धानले पत्रकार खाशोग्गीको हत्या साउदी अधिकारीको तयारी तथा योजनावद्ध नियत अनुसार भएको निष्कर्ष निकालेको समाचार संस्था रोयटर्सले जनाएको छ । अनुसन्धानको निष्कर्ष संयुक्त राष्ट्रसंघीय टोलीले बिहीबार सार्वजनिक गरेको हो ।

अमेरिकी पत्रिका द वासिंगटन पोस्टमा लेख्दै आएका साउदी अरेबियाका पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको थियो । सुरुका केही हप्ता पत्रकार खाशोग्गीको अवस्थाबारे केही जानकारी नभएको साउदी अरेबियाले बतायो ।

तेस्रो हप्ता साउदी अरेबियाले कन्सुलर कार्यालयमा भएको मुक्का हानाहानमा खाशोग्गीको निधन भएको बतायो । त्यसको केही दिनपछि उसले बोली फेर्दै गलत नियत भएका एजेन्टले खाशोग्गीको हत्या गरेको साउदीले दाबी गरेको थियो ।

टर्कीको स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालय

पत्रकार खाशोग्गीको हत्या साउदी अरेबियाका उच्च अधिकारीको निर्देशनमा भएको आरोप लाग्दै आएको छ । अर्थात साउदी अरेबियाका शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) को निर्देशनमा खाशोग्गीको हत्या भएको आरोप लाग्ने गरेको छ ।

साउदी अरेबियाले भने खाशोग्गीको हत्यामा युवराज एमबिएस वा राजपरिवारका अरु कुनै पनि सदस्यको संलग्नता नरहेको स्पष्ट रुपमा बताउँदै आएको छ ।

दशक भन्दा लामो समय साउदी राजपरिवारको सल्लाहकार रहेका खाशोग्गी पछिल्लो समय एमबिएसका तीव्र आलोचक बनेका थिए ।

खाशोग्गीको हत्या एमबिएसकै निर्देशनमा भएको विश्वास अमेरिकी गुप्तचर निकाय सिआइएले पनि गरेको छ । खाशोग्गी घटनाले एमबिएसको अन्तर्राष्ट्रियस्तरको प्रसिद्धिमा कमी आएको छ ।

संयुक्त राष्ट्रसंघीय टोलीले पनि सरकारी अधिकारीको निर्देशन र योजनामा खाशोग्गीको हत्या भएको निष्कर्ष निकालेपछि साउदी उच्च अधिकारीको संलग्नताको संकामा बल मिलेको छ ।

संयुक्त राष्ट्रसंघीय अनुसन्धान टोलीकी अनुसन्धानकर्ता एगनेर क्यालामार्डले जेनेभामा अनुसन्धान प्रतिवेदन जारी गर्दै टर्की पुगेर गरिएको अनुसन्धानले फेला परेका प्रमाणले खाशोग्गीको हत्या सरकारी अधिकारीको संलग्नता र पूर्व योजना अनुसार भएको देखिएको बताइन् ।

तीन विशेषज्ञसहितको टोली जनवरी २८ देखि फेब्रुअरी ३ सम्म टर्कीमा थियो । तर हत्याको स्पष्ट उद्देश्य के थियो भन्ने यकिन गर्न नसकिएको उनले बताएकी छन् ।

घटनास्थल क्लिन गरिएकाले पनि हत्या योजनावद्ध रहेकोमा बल मिलेको अनुसन्धानमा उल्लेख गरिएको छ ।

माघ २५, २०७५ मा प्रकाशित