निर्मलालाई न्याय माग्दा गोली लागेर ढलेका अर्जुन अझै उठेनन्

काठमाडौं– केही दिन पहिले बिहान ११ बजेतिर शिक्षण अस्पताल पुग्दा पारिलो घाम लागिरहेको थियो। रातभरि चिसोले कठ्यांग्रिएका बिरामी कुरुवाहरु भेला भएर अस्पतालको बाहिर घाम तापिरहेका थिए। अस्पतालमा सधैं जसो त्यो दिन पनि भीड उस्तै थियो। अस्पतालका टिकट काउण्टर, बील तिर्ने काउण्टर, प्रयोगशाला, फार्मेसीमा बिरामीका आफन्तहरु लाइनमा थिए।

त्यसै पनि बिरामीका आफन्तको अनुहार हसिलो–रसिलो हुने कुरै भएन। त्यसमाथि आफन्तको चिन्ता र अस्पतालको बास, कठिन दैनिकी हुने नै भयो। त्यही भीड नजिक ह्वीलचियर डोहोर्‍याउँदै आइपुगिन् कन्चनपुरकी शिवकला भण्डारी। अरु बिरामी कुरुवालाई जस्तो एकछिन पनि घाम तापेर बस्ने फुर्सद थिएन उनलाई। अरुको भन्दा उनको छोराको बिमार र बिमारको कारण फरक थियो। तर ६ महिना देखिको दैनिकी भने यही अस्पतालमा उही पारामा बितिरहेको छ।

यतिबेला देशभर निर्मला पन्तको बलात्कार तथा हत्याको घटना खुब चर्चामा छ। उनको लागि न्याय माग्नेहरुले दिनहुँ जसो विभिन्‍न कार्यक्रम गरिररहेका छन्। घटनामा संलग्न पत्ता लगाउन र न्याय दिन नसकेको भन्दै सरकारको विरोध भइरहेको छ, सडकदेखि संसदसम्म। यही क्रममा गोली खाएका थिए, शिवकलाका छोरा अर्जुनले।

निर्मलाको बलात्कारपछि हत्या साउन १० गते भएको थियो। तर एक महिना बित्दा पनि घटनामा संलग्न पत्ता लगाउन नसकेको र अनुसन्धानमा हेलचेक्याइ गरेको भन्दै स्थानीयले विरोधका कार्यक्रम गरे । भदौ ७ गते आन्दोनले उग्ररुप लियो।

प्रशासनले कर्फ्यू जारी गर्‍यो। तर स्थानीयले त्यसको कुनै परवाह गरेनन्। प्रशासनको घेरा तोड्न आन्दोलनकारी अघि बढे। त्यही भीडमा थिए,अर्जुन। प्रहरीले आन्दोलनकारीविरुद्ध गोली चलायो। अर्जुनको दायाँ खुट्टामा गोली लाग्यो। अर्जुन घटनास्थलमै बेहोस भए।

उनलाई तत्काल काठमाडौं ल्याइयो र मनमोहन अस्पतालमा भर्ना गरियो। उनको अवस्था सामान्य थिएन। शरीरबाट धेरै रगत बगेकाले दिमागको नशा खुम्चिएको उपचारमा संलग्‍न चिकित्सकहरुले बताए जसका कारण अर्जुन पहिलेकै अवस्थामा फर्किने सम्भावना कम छ भनेका छन्, डाक्टरहरुले।

मनमोहनमा दुई महिना उपचार गराएपछि अर्जुनले आँखा खोले। तर बोल्न सकेनन्, मान्छेहरु चिन्दैनन्, अथवा उनले त्यस्तो कुनै संकेत गर्न सक्दैनन् ।

शरिरका कुनै पनि अंग चलाउन नसकेपछि उनलाई शिक्षण अस्पतालमा सारियो। अहिले पनि उनको त्यहीँ उपचार भइरहेको छ। तर सुधार देखिएको छैन। आफ्नै आमा पनि चिन्‍न सक्दैनन्, अर्जुन। दैनिक अर्जुनको रिपोर्ट चेक गर्न डाक्टरहरु आउँदा शिवकलालाई आश लाग्छ, छोराको अवस्था सुधार हुँदैछ कि भनेर। तर डाक्टरहरुको नियमित जवाफ एउटै हुन्छ, ‘उस्तै छ अवस्था।’

विगत ६ महिनादेखि अस्पतालको बेडमा रुंग्नु र ह्वीलचियरमा बाहिरभित्र गराउनु शिवकलाको दैनिकी बनेको छ। अहिले त अरु पनि चिन्ता थपिँदैछ। उनको उपचार खर्च व्यहोर्नु पर्ने सरकारले खर्च दिन छाडेको छ।

केही समय त सरकारले खर्च व्‍योहोर्‍यो। तर केही दिनदेखि सरकारले खर्च नदिएको शिवकलाले गुनासो गर्दै भनिन्, ‘सरकारले गोली ठोक्यो, अब किन हेर्थ्यो ।’ शिवकलाले अहिले घरबाट खर्च मगाएर छोराको उपचार खर्च गर्दैछिन्। ‘घर लैजान पनि मन मान्दैन’, शिवकलाले भनिन्, ‘अस्पतालमा हुदाँ त यस्तो गति छ, घर लगियो भने के हालत होला!’

शिवकलाले त त्यतिबेला आन्दोलनमा नजानु भनेर सम्झाएकी पनि थिइन् । तर आमाको बचन मानेनन् अर्जुनले । बरु उल्टै उनले ‘यस्तो आन्दोलनमा जानु पर्छ’ भन्दै बाटो लागे। तर सकुशल फर्किएनन् । शिवकलाले बेहोस् अवस्थामा छोरो फेला पारिन्।

निर्मलाका परिवारको न्यायका लागि लड्दा शिवकलाको परिवारमा पनि अन्धकारका दिन सुरु भए। हुन त अहिलेसम्म पनि निर्मलाको घटनाका दोषी पत्ता लागेको छैन। निर्मलाका परिवार झनै विछिप्त बन्दै गएका छन्। उनै परिवारको न्यायका लागि लड्दै गर्दा होस् गुमाएका अर्जुनका परिवारको पनि खुशी फर्किन सकेको छैन।

कक्षा १२ को पढाइ सकेका अर्जुनको इन्जिनियर बन्ने सपना पनि उसैगरी ढलेको छ।

माघ २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्