आफ्नै सिर्जनासँग आफ्नै बिद्रोह– ‘बाथटब’

नाटक 'बाथटब'मा भुषिता वशिष्ठ, निर शाह र ब्रजेश। तस्बिरहरु: देशसञ्चार

काठमाडौँ– लेखक निःशब्द शमशेर राणा ‘साइकोलजिकल थ्रिलर’ लेख्दैछन्, उनको कथाको पहिलो वाक्य यसरी सुरु हुन्छ, ‘बाथ–टबमा सिरियल–किलर निदाइरहेको थियो। आज उसको ५३ औं जन्मदिन थियो। र, यो जन्मदिनमा आज ऊ आफ्नो जीवनको अन्तिम हत्या गर्न गइरहेको थियो। ऊ आफ्नो जन्मदिन प्राइम–मिनिस्टरको मर्डर गरेर सेलिब्रेट गर्न चाहन्थ्यो।’

सुरु गर्न खोजिएको जसरी सजिलै कथा अगाडि बढ्दैन। लेखक निशब्दलाई आफूले प्रयोग गरेका शब्द राख्दा ठीक हुन्छ कि हुन्न भन्ने दोधार हुन्छ। उनकी सहयोगी टाइपिस्टले उनलाई झक्झक्याउने, सम्झाउने अनि तर्क गरिरहन्छिन् तर लेखक आफ्नै ढिटमा अडिग देखिन्छन्, जिद्दी। लाग्छ- उनलाई अर्को पक्ष बुझ्नु नै छैन, सोच्नु नै छैन। उनी पात्रको चरित्र बनाउँदा उसको भावनाको ख्याल राख्दैनन्, मात्र उसको कामलाई जोड दिन्छन्।

नेपथ्यमा कथा लेखक निशब्द शमशेर राणा (निर शाह) तयार भएर कथा लेख्न आइपुग्छन्। उनको कथालाई टाइपिस्ट अनिद्रा (भूषिता बशिष्ट) उतार्दै छिन्। कथाकारले कल्पना गरेको पात्र सिरियल किलर (ब्रजेश खनाल) काल्पनिक बाथटबबाट बाहिर आउँछन्। कथाकारले आफूलाई बनाएको पात्रप्रति उनको असन्तुष्टि छ। यहि द्वन्द्वको बिचमा चल्छ बाथटबको कथा।

कथाकार कुमार नगरकोटीले लेखेको कथा बाथटब स्वैरकल्पनाको धारमा बगेको कथा हो। नेपथ्यमा देखिएका पात्र निशब्द शमशेर साइकोलोजिकल थ्रिलर लेख्न कथाको प्लट बुन्दैछन्। यही क्रममा उनको कल्पनाका पात्रहरु जीवित हुन्छन्। लेखकले आफ्नो कथाको बारेमा जे जे कल्पना गर्छ, लेख्दै जाँदा उनको चरित्र वर्णन गर्दा ‘चरित्र बनाउने’ क्रममा लेखक एकोहोरो हुन्छ। आफूले चाहेको जस्तै चरित्रहरु पात्रमा भर्दा पात्रमा हुन सक्ने अरु चरित्रहरु छाँयामा पर्छन्। लेखकलाई यो सोच आउन सक्छ, यदि पात्रमा यो गुण भएको भए उ कस्तो हुन्थ्यो होला? यदि पात्र जीवित हुन्थे भने लेखकले दिएको चरित्रलाई सहजै स्वीकार गर्छन् होला त ? उनले आफ्नो भावनालाई ठेस पुर्‍याउने चरित्र बनाइदिए पनि उसले आफूलाई यस्तै गरी ढाल्छ होला त?

अहँ, कदापि गर्दैन। किनकि आफूले चाहे जस्तो गर्न खोज्ने प्राणीको स्वाभाव हो। बाथटबको पात्र जीवित भए उसले आफू अनुकुल आफ्नो चरित्र निर्माण गर्छ। पात्रले आफ्नो ओरिजिनालिटीलाई अगाडि ल्याउन खोज्छ, यदि लेखकले आफ्नो भावना अनुरुपको चरित्र बनाउँदा पात्रलाई ठेस पुग्यो भने उसले बिद्रोह गर्नु स्वाभाविक हो।

यस्तै दृश्य जब कल्पना गरिएका सिरियल किलर जीवित भएपछि शिल्पीको नाटकघरमा देखिन्छ। सिरियल किलर आफ्नो पात्र साधु बनाउन चाहन्छन्, आफ्नो स्वरुपलाई साधु देख्छन्। प्रधानमन्त्रीलाई मार्ने उनको चरित्रसँग भन्दा पनि सिरियल किलर जस्तो क्रुर पात्र बनाएको उनलाई चित्त बुझेको हुन्न। त्यसैको बिरोध गर्छन्। लेखक अलि ढिट छन्। पात्रलाई आफ्नो नियन्त्रणमा राख्ने उनको मनशाय छ। यही बिचको द्वन्द्व अनि त्यसले ल्याउने परिणाम ‘बाथटब’ मा देख्न सकिन्छ।

‘बाथटब’ मानिसको दिमागको विभिन्न अवस्था हो, जहाँ मानिस एउटै कुराको अनेकौ पक्षलाई कोट्याउँछ, खोतल्छ। यो भ्रम र यथार्थ बिचको अवस्था हो, जसलाई छुट्याउन लेखक निशब्दलाई अफ्ठेरो परिरहेको छ। उनी दुविधामा हुन्छन्।

नाटकको पात्र अनिन्द्रा लेखककी सहयोगी हुन्, जो बाँधिएकी छन्। उनलाई लेखकले स्वतन्त्रता दिएका छैनन्।

भुषिता वशिष्ठ।

‘टाइपराइटरमा सधैं अरुको कथा लेख्नुपर्दा तिमीलाई दिक्क लाग्दो हो। कहिलेकाहिँ तिमीलाई पनि आफ्नो कथा लेखुँ लेखुँजस्तो लाग्दो हो।’
अनि लेखक आफैँले जवाफ दिन्छन्, ‘जिन्दगीले तिम्रो कथा लेखेन। मृत्युले तिम्रो कथा लेख्न सक्दैन।’

लेखकको यो अभिव्यक्ति अनिद्रा पात्रमाथि राख्दा नारीमाथि पुरुष अनि मालिकले कामदारलाई गर्ने व्यवहारको झल्को दिन्छ। कयौँ पटक अनिद्राको विकल्पहरुको कुरा गर्दा नसुन्ने अनि आफ्नो वास्तविकता स्विकार्न नसकेर हजामको ऐना फुटाएका लेखक तानाशाह जस्तै देखिन्छन्, जो पैसाको आडमा सबै वस्तु आफ्नो अनुकुल बनाउन चाहन्छन्। तर उनी एक्लै सक्षम भने छैनन्। उनी अनिन्द्रा बिना अपुरो छन्। उनी मृत्युको डरमा छन्। उनलाई यो कथा लेख्नकै लागि समय दिइएको हुन्छ। अलि दिन बाँच्ने सर्तमा उनले साइकोलोजिकल थ्रिलर नै लेख्नुपर्ने हुन्छ, शोषक भएर क्रुर पात्र बनाउनु नै पर्ने हुन्छन्। अनिद्रा र सिरियल किलरका अगाडि बलिया देखिएका लेखक निशब्द मृत्युका अगाडि निरीह छन्।

कथाले क्रान्ति देखाएको छ। पात्रको क्रान्ति, अनिद्राको स्वतन्त्रताको क्रान्ति। उनलाई पात्रलाई आफ्नो स्वतन्त्रता र इच्छाको लागि गोली चलाउन विवश बनाइएको छ। जब अनिद्राले आफ्नो प्रेमीलाई सम्झन्छे, पात्रलाई उसले चाहेको चरित्रमा उभिन नदिएको लेखकको क्रुरता सम्झन्छे तब अरुलाई थुम्थुमाउने अनिद्राको सहनशीलताको बाँध नाघ्छ। अनि हुन्छ क्रान्ति।

उसले आफ्नो प्रेमीको मृत्युको खबर पाउनु अनि सिरियल किलरले सिकाएको पाठ सम्झन्छे तब उसले आफ्ना मालिक सरह रहेको लेखकको अन्त्य गर्छे र आफूलाई उसको चङ्गुलबाट मुक्त बनाउँछे।

कथाको अन्त्य हुँदैन। लेखकले दर्शकलाई आफ्नै बुझाइका लागि बिट मार्दैनन्, मारेका छैनन्। नाटकलाई निर्देशन गरेका घिमिरे युवराजले कथालाई प्रस्तुत गरेको शैली तारिफ योग्य छ। संगीत र प्रकाश अर्थयुक्त स्वरुपमा प्रस्तुत गरिएको छ।

नाटकमा अभिनय प्रशंसा योग्य छ। जम्मा तीन पात्रमा बनेको बाथटबमा लेखकको भूमिकामा भएका निर शाहको आवाज अनि प्रस्तुति दमदार छ। पहिलो नाटक भए पनि भूषिताको अभिनय उत्कृष्ट लाग्छ। ब्रजेश खनाल पनि अभियनमा जमेका छन्। नाटक प्रयोगात्मक छ।

ब्रजेश।
निर शाह, भुषिता वशिष्ठ र ब्रजेश।
माघ २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्