कथा

शरीर बिनाको प्रेम

धिरुभाई

धिरुभाई –

कति हल्ला हुन्छ है यो तरकारी बजार तिर ! त्यतिकै प्याँ पुँ ! साँझ मा त शान्त हुनु नि, अँह झन बढी हुन्छ । रात कुर्नै गाह्रो । कति लामो लाग्छ कसलाई के थाहाः यो कीर्तिपुरको तरकारी बजार ।

बीचमा साझँ घुम्दा क्या रमाइलो हुन्थ्यो अनेक थरी मान्छे हरु रंगिचंगी माहोल । नयाँ नयाँ मान्छे आइरहने । रात कुर्दा मैले यस्तै कुरा सम्झेर बस्छु ।

गज्जबै हुन्छ नि, सम्झँदा पनि । साँझ हुँदै झपक्क रात पर्छ । शुन्यता हाबी हुन थाल्छ । हावाले पनि एक छिन विश्राम लिन्छ जस्तो लाग्ने । सारा शहर मध्यरातमा मोजको निन्द्रामा ।

म सन्देश पठाँउछु । उनी आउँछिन् । हामी घुम्छौँ किर्तिपुरका चोक चोक हुँदै हात समातेर, अङ्गालो हालेर । न कसैले देख्ला भन्ने चिन्ता न कसैको डर । मस्त घुम्छौँ, हल्ला गर्छौँ । हाम्रो जात नमिल्ने भएकाले सँगै जान न मिल्ने बाघभैरब र अरु मन्दिर पनि जान्छौँ । देउता कैले भेटिन्छन् ! कैले भेटिदैँनन् ।

यती निर्धक्कताका साथ घुम्नको आनन्द न भन्न सक्ने छु म । न लेख्न । विलकुल मस्त–मगन हामी । उ कती सुन्दर लाग्छ मलाई । यो रात हो भन्ने नै लाग्दैन । कति माया गर्छु ।

एक्लो छु भन्ने लाग्दैन । गाफिँदै डुल्छौँ । यती हुँदा मान्छेलाई अझै दौडधुप गर्न हतार भइसक्छ । व्युँझिन थालि हाल्छन् मान्छेहरु । टियूको गेट पछाडिको सानो जङ्गल जस्तो छ, त्यहाँ रुख भएको ठाउँ नीर केहीबेर रोक्किन्छौँ ।

लामो सास फेर्छौँ ।

अंगालोमा जोर ले कस्सिन्छौँ ।

त्यो रुख सम्झिन्छौँ । रुँदै रुँदै रुख को हाङ्गामा बाँधेको डोरी सम्झिन्छौँ । डुब्न लागेको सूर्य हेर्दै एक अर्काका आँशु पुछेको, भगवानलाई सरापेको सम्झन्छौँ ।

उसले यहाँ नेर म तिर हेरर जहिले डराउँदै झस्किएर हेर्छे । म निधारमा अल्झेका कपाल मिलाई दिन्छु । उ जसोतसो डरएको अनुहार सपार्छे, मुसुक्क हाँस्छे ।

मान्छेको चहलपहल हुन सुरु हुनु भन्दा अगाडि नै हामी निस्किहाल्छौँ । भोलि फेरि मध्य रातको शुन्यतामा यसरी नै भेट्ने नि है भन्दै, उनलाई पशुपती घाट र्पुयाएर म चोभार घाट फर्किन्छु !

(धिरुभाई, काठमाडौँ विश्वविद्यालयमा कानुन संकाय अन्तर्गत स्नातक तेस्रो वर्षमा अध्यनरत छन् । कंचनपुर स्थायी ठेगाना भएका लेखकको नाम धिरज जोशी भएता पनि साहित्यमा उनी धिरुभाई नाम चलाउँछन् ।)

माघ २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्