पोखरा बटुलेचौरका सारङ्गी अभियन्ता खिमबहादुर गन्धर्ब । तस्बिर : ईश्वर देवकोटा/देश सञ्चार
सारङ्गी सँस्कृतिलाई जीवन्त राख्ने अभियानका एक साधक

सारङ्गीमा रेटिएको एउटा जीन्दगी

बाटुलेचौर चोकैमा छ झलकमान गन्धर्बको शालिक । झलकमानलाई दाहिने पारेर उनी अघि लागे, हामी उनलाई पछ्याउँदै गयौँ ।

बाटो पछ्याउनुअघि चिया पसलमा भेटेका हौँ उनलाई । झलकमानको शालिकको सामुन्ने, बाटोपारीको चिया पसलमा कालो चिया खाँदै थिए ।

सिसाको गिलाँसमा पिँधमा पुगेको चिया सिनित्त पारेर उनले पुरानो २० को नोट पसलेलाई दिए । फिर्ता आएको पाँच रुपैयाँ बगलीमा हालेर उनी लौरी समाति बाटो लागे । सारङ्गीको तार रेट्दै तय गरेको उनको जीवन यात्रा अहिले लौरीको सहारामा छ ।

बाटुलेचौर चोकमा रहेको झलकमान गन्धर्बको शालिक ।

खिमबहादुर गन्धर्बको नाम मुलधारको लोक संगीतमा बिरलै सुनिएको होला ।

तर उनले साङ्गी रेट्दै गाएका गीतमा जीवनको मर्म छ । र त्यो भन्दा पनि उनी सारङ्गी संगीतलाई शास्त्रीय संगीतसँग जोड्ने सुरुका केही व्यक्तिमध्येका हुन् ।

कान टाठै छन् । आँखाको तेज चस्माको सारले काम लाग्दो छ ।

चार बिस चार पुगेका खिमबहादुर हिँडडुल राम्रैसँग गर्छन् । लौरी टेकेर गाउँ डुल्छन्, कालो डोरीसहितको पावरवाला चस्माको साथ छ । तर धुन निकाल्न सारङ्गीको तारमा खेल्नु पर्ने औँलाहरु शक्ति बिहीन बन्दै गए । साथ छाडे ।

देब्रे हातले साथ छोडेपछि


६ वर्षअघिसम्म अर्थात ७८ वर्षको हुँदासम्म उनले सारङ्गी बजाउँथे । उनले रेटेको सारङ्गीका धुनमा विरह बोल्थ्यो । कथा कथिन्थ्यो । तर विगत ६ वर्षयता क्रम टुटेको छ ।

जीवन भित्तामा झुण्डिएको सारङ्गी हेर्दै काट्न बाध्य छन् खिमबहादुर ।

उच्च रक्तचापसँगै पक्षघातले हमला गर्‍यो उनीमाथि । उनको देब्रे हात र गोडामा असर पर्‍यो । सुस्त सुस्त हिँड्न सक्ने भएका छन् लौरीको सहारामा अहिले । हात पनि ठीकै छ, तर आँलौहरु चल्न छोडे ।

सारङ्गीका तारमा खेल्ने र त्यसलाई सूर दिने देब्रे हातका औँला बाङ्गो परेर बसेका छन् । उनको मन त्यो देख्दा अघोर बरालिन्छ । थकथकी लाग्छ । कताकता जीवन र प्राण बिच दूरी बढेजस्तो लाग्छ उनलाई ।

खिमबहादुरले छाप्रो भनेको घरमा पुगेपछि आफ्नो बेलिबिस्तार सुनाएका हुन् । साँघुरो ढुंगे खुड्किले बाटो ओरालो झरेपछि पुगिएको थियो खिमबहादुरको गाउँ, सिमलखोरिया ।

सिमलखोरियामा सात घर गन्धर्बको बसोबास । बस्तीको मुखैमा छ खिमबहादुरको घर । खिया लागेको टिनको छानोमा आड लाग्दै भित्र परेका उनले खाटमा बसेर सुरुमा आफ्नो हातको अवस्था सुनाए ।

सिमलखोरियाबाट तल छ खोलाखेत गाउँ । खोलाखेतमा पनि गन्धर्बकै बस्ती छ, अलि ठूलो गाउँ । सिमलखोरियाबाट कहिले माथि बाटुलेचौर, कहिले तल खोलाखेत झरिरहन्छन् खिमबहादुर । यो हिँडाइले उनको स्वास्थ्य राम्रो हुँदै गएको छ । आत्मबल बढेको छ ।

रेडियो पारखी खिमबहादुर आफूलाई ‘स्वास्थ्य कार्यक्रम सुन्नमा च्याम्पियन’ भन्छन् । यहिकारण अहिले उच्च रक्तचाप पनि सामान्य हुँदै गएको छ । तर खिमबहादुरको मन कुँड्याउँछ देब्रे हातको अवस्थाले । जति नै गरे पनि औँलाहरुले सारङ्गीका तार चलाउन सकेका छैनन् ।

मन बराल्ने अर्को कुरा झन भयानक


खिमबहादुरलाई आफ्नो समय छोटिँदै गएको वा जीवनको पछिल्लो छिमलमा सारङ्गी बजाउन नसकेको भन्दा पनि अर्को कुराले पिरोल्छ ।

‘पढे लेखेका छन्, काम गरेका छन्, छाक जोर्न गाह्रो छैन । तर सारङ्गी सबैले भुल्दै गए ।’ खिमबहादुरले मुल चिन्ताको कारण खोले । सिमलखोरिया र खोलाखेतका बस्तीमा गन्धर्ब छन्, तर खिमबहादुरलाई यी गाउँ गन्धर्बको जस्तो लाग्न छोड्यो । सारङ्गी सँस्कृति जीवन्त नहुँदा आफ्नो अस्तित्व कहाँ होला र ?

बुढापाकाले सक्न छोडे । ‘बलिया बाङ्गा’ ले सारङ्गी छोडे ।

खिमबहादुरले चिन्ता बोले, ‘यि गाउँमा सारङ्गी बजाउने कोही छैनन् । सबै पढेका छौँ भन्छन् । खै के पढेका हुन्, आफ्नो पहिचान नै छोड्ने त नसिक्नु पर्ने ।’

२०२६ सालमा तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानमा ‘गीतारु गुरु’को जिम्मेवारी पाएका खिमबहादुरले ९० रुपैयाँको तलबमा धेरैलाई गीतारु भाइ बनाए, आफ्नो कला सिकाए । अनि त्यहिँ रहँदा भारतीय गुरु रंगरावसँग शास्त्रीय संगीतको गुण सिके । सारङ्गीको धुनलाई शास्त्रीय संगीतसँग जोडे ।

यसरी आफूले सिकेको कुरा उनलाई अरुमा बिस्तार गर्ने, फैलाउने मन थियो र छ । तर सिक्ने चाह भएकाहरु नपाउँदा खिस्रिक्क हुन्छन् ।

खिमबहादुरलाई अरुसँग भन्दा आफ्ना छोराहरुसँग गुनासो बढी छ । कुराकानीको बिचमा सारङ्गी, शास्त्रिय संगीत र अहिलेको पुस्ताको कुरा आउँदा खिमबहादुर झोक्किए । छोराहरुलाई गाली गरे । अनि आफ्नो कर्मलाई सरापे ।

दुई छोरा र एक छोरी छन् खिमबहादुरका । छोरी बिहे भएर आफ्नो घर गइन् । छोराहरु पनि आ–आफ्नो गरेर खाएका छन् । जेठो छोरा रामकृष्ण गायक (उनले गन्धर्ब थर परिवर्तन गरी गायक लेखेका छन्) स्थानीय अस्पतालमा जागिरे छन् ।

कान्छो छोरा परिवर्तन नगरपालिकामा काम गर्छन् । दुवैले आफ्नो परिवार राम्रोसँग पालेका छन् । त्यसमा कुनै गुनासो छैन ।

मुख्य कुरो दुवैले सारङ्गी छोडे । सारङ्गीसँगको सम्बन्ध टुट्दा खिमबहादुरको आश पनि चुँडियो ।

‘कान्छोले राम्रो बजाउँथ्यो । सिकाएको थिएँ । छोड्यो । नछोडेको भए समाजमा इज्जत हुन्थ्यो । दाम पनि राम्रो हुन्थ्यो । उबेला टक्का तिरेर सिक्नु पर्थ्यो । मैले त आफै सिकाउने । के गर्नु आफ्नै छोराले चाहेनन् । विरक्त लागेर आउँछ ।’

मार्दी खोलाका बाहुनका छोरा सम्झिँदा उज्यालिए


कान्छो छोरा परिवर्तनले राम्रो गर्ने सम्भावना देखेका खिमबहादुलाई जेठा छोरा रामकृष्णको व्यवहार पनि चित्त परेको छैन । रामकृष्णले पनि बजाउन जानेका छन् । तर लाजले छोडे छन् ।

खिमबहादुरसँग कुरा गर्दैगर्दा आएका रामकृष्णले साथीभाइले जिस्क्याउने हुँदा आफूले सारङ्गी छोडेको बताए । लाजले छोडेको सारङ्गी अब उती रहर लाग्दो बजाउँदैनन् । खिमबहादुरलाई भने रामकृष्णको लाजसँग लाज लाग्छ ।

निराशा मात्रै भने छैन रहेछ । छोराहरुसँगको गुनासो पछि उनी मार्दी खोलाका बाहुनका छोरा सुशील गौतमलाई सम्झिँदा उज्यालिए । मार्दी खोलाका सुशील गौतमले खिमबहादुरलाई गुरु थापेर सारङ्गी सिकेका हुन् ।

‘सारङ्गी हाम्राले छोडे (उनको हाम्रामा गन्धर्ब जाती भन्ने अर्थ थियो) । तर ती बाहुनका छोरा सुशील गौतमले सिक्छु भनेर आए । सिकाउन थालेको एक वर्षमा उनी राम्रो बजाउने र गाउने भए । ख्याल राम्रो लागेन मलाई ।’

खिमबहादुरसँग सिकेका सुशीलले गाउँका बिहे बर्तबन्धमा पनि गाए । यो देख्दा उनी कति खुशी थिए त्यो आँकलन गर्न सकिन्थ्यो । सुशीलको सम्झनामै खिमबहादुर हर्षले उचालिए ।

‘उनले राम्रो सिके, औधी खुशी लाग्छ’ खिमबहादुरले भने ।

चार वर्षको हुँदा बुवा काले गन्धर्ब बिते । उनलाई बुवाको सम्झना त्यति छैन । मात्रै सम्झन्छन्–गाउँका मान्छेले बुवालाई बाँधेर घाट लगेका थिए भन्ने । आमा बसन्धराको सहारा बन्दै हुर्केका खिमबहादुरले अरुले बजाएको सुनेर या देखेर सारङ्गी सिकेका हुन् ।

सात वर्षदेखि बजाउन थालेका खिमबहादुरलाई आफू जीवितै हुँदा छोराहरुले पनि सिकेको हेर्न मन थियो, पूरा भएन । तर सुशील गौतमजस्ता केही गैर गन्धर्बले उनको मनको चाह केही भए पनि पूरा गरेका छन् ।

घरमै फेरि जन्मिँदै छ आश

खिमबहादुर गन्धर्बका नाती रिजन र जेठो छोरा रामकृष्ण ।

जीवनमा दुःखको भारी गह्रुगै बोकेका खिमबहादुर थाके जस्तो कत्ति लाग्दैन । २०१९ सालतिर चितवनको माडीमा बस्न गएका उनले त्यहाँ जेठी श्रीमती तथा दुई छोरा र तीन छोरी गुमाए । अनि कास्की फिरेका उनले त्यसपछि बसाएको घरजममा जीवन संगिनी बनेकी बसन्तीबाटका छोराछोरी हुन् अहिलेका ।

आफ्ना गुमाउँदाको दुःख झेल्दै जीवनमा आशको डोरी जोगाउँदै आएका खिमबहादुरलाई आफूले जानेको सारङ्गी र त्यसको शास्त्रिय संगीतसँगको सम्बन्ध जोगिँदैन कि भन्ने डरले नराम्रोसँग खाएको छ । उनी बारम्बार यो डरमा पसिरहे । डरमै बाँची रहेका छन् ।

खप्नै नसकेर भित्ताको सारङ्गी निकाले । बजाउन जोड बल गरे । काखमा राखेको सारङ्गीको तारमा दाहिने हातमा लिएको बो (सारङ्गी रेट्ने तारसहितको सामग्री) ले रेटे । तर देब्रे हातले धुन निकाल्न सारङ्गीका तारहरु खेलाउन सकेन । खिमबहादुर थकथकाए ।

खिमबहादुरको प्रयास जारी थियो, आइपुगे हुर्किँदै गरेका बालक । उनका नाती रिजन । रामकृष्णका छोरा । रिजनलाई सारङ्गी सिक्ने मन छ । उनी अलिअलि बजाउँछन् पनि ।

हजुरबुवाको हातबाट सारङ्गी लिएर रिजनले बजाउन थाले ।

१२ वर्षका रिजनलाई अहिले उनको जस्तै उमेर हुँदा रामकृष्णलाई लागे जस्तो लाज लागेको छैन सारङ्गीसँग । उनी राम्रोसँग सिक्न चाहन्छन् ।

खिमबहादुरलाई भने छोराहरुले त नसिकेको नातीले कसरी सिक्ला जस्तो पनि लाग्छ । तर सिकाउन भने चाहन्छन् । रिजन पनि हजुरबुवालाई गुरु थापेर सिक्न मन गर्छन् ।

नमिलेको परिवेश मिलाएर अबदेखि सिकाउन मन खिमबहादुरले बनाए, रिजनले सिक्ने । खिमबहादुरको घरमा सारङ्गी फेरि बाँच्ने आश उदाउँदै छ । भित्ताको सारङ्गी बज्ने तरखरमा छ ।

तीन पुस्ता–खिमबहादुर, रामकृष्ण र रिजन एक ठाउँ भए । निस्कने बेला खिमबहादुरले आफू तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानमा जागिर खाने बेला गाएको गीत सुनाए । बिना सारङ्गी सुनाएको गीत पनि रसलाग्दो थियो ।

‘रानी चरी स्याउलिङ्गे वन भोरी
भन मयाँ तिम्रै छ मनपरी…’

तस्बिरहरु : ईश्वर देवकोटा/देश सञ्चार

माघ २६, २०७५ मा प्रकाशित