मन छ, धन छैन

दुग्ध उत्पादक किसानको दुःखेसोः व्यवसाय बढाउन मन छ, लगानी छैन

दाङ-‍ किशोर रेग्मीले ब्यवसायिक गाई पालन सुरु गरेको ६ बर्ष भयो। ३ वटा गाईबाट सुरु भएको यो व्यवसायमा अहिले गाईको संख्या थपिएर ३७ वटा पुगेका छन्। उनी आफ्नै बलबुताले यहाँसम्म आईपुगेका हुन्। अब व्यवसायलाई ठुलो बनाउने की खुम्च्याउने भन्ने बिषयले पिरोल्न थालेको छ।

सरकारले किसानको लागी सहुलियत कर्जा उपलब्ध गराउने बताएपनि वास्तविक किसानले त्यो सहुलियत कर्जा प्राप्त गर्न सकेका छैनन्। न त बिजुली सस्तोमा पाएका छन्। किसानको पक्षमा बनेको नीति ठुला छन्, कार्यान्वयन फितलो छ ।

‘पाँच छ वर्ष भयो गाई पाल्न थालेको। म पलायन हुने अवस्थामा आईपुगेको छु’ शर्माले गुनासो पोख्दै भने, ‘व्यवसायमा लगानीको समस्या पर्यो । यहाँ सम्म आफ्नै लगानीले आइपुगे । माथि बढ्न लगानी छैन्। बैंकमा जाँदा सहुलियत ऋण छैन् भन्ने जवाफ पाउछु।’

कृषि र पशु पालनको क्षेत्रमा बनेका नीति साना किसान मैत्री नभएको उनको अनुभव छ। ‘जती नीति नियम बनेका छन्। ठुलै र पहुँचवाला किसानको पक्षमा बनेका छन्’ उनले भने, ‘दुग्ध उत्पादक किसानलाई ब्यवसाय बढाउन अनुदान नदिएर क्यान किन्न, एक दुई किलो घाँसको बिउँ दिनमा राखिएको छ । यसले कसरी दुग्ध उत्पादन बढाउछ?’

बिहिबार दुग्ध उत्पादक किसान, व्यवसायी, स्थानिय तहका प्रतिनिधि सहित बैंक तथा बित्तिय संस्थाको बिचमा भएको अन्र्तक्रिया कार्यक्रममा गाई पालक किसान किशोर रेग्मीले आफ्ना समस्या सबैले थाहा पाउनेगरी सुनाए ।

उनी जस्तै अन्य दुग्ध उत्पादक किसानको समस्या समान छ। उनिहरुले दूध उत्पादन बढाउन दुग्ध उत्पादनमा लागेका किसानलाई प्रोत्साहन र लगानीको खाँचो रहेको औंल्याएका छन्।

यस्तै डेरी ब्यवसायी रेशम खड्काले दुग्ध उत्पादक किसानलाई उत्साहित बनाउने कार्यक्रमको खाँचो रहेको बताउछन्। ‘उत्पादनकर्ता पनि खुसी छैनन्, प्रशोधनकर्ता पनि खुसी छैनन्। उपभोक्ता पनि खुसी छैनन्’, उनले भने, ‘दुग्ध व्यवसायमा निरासा छ। अब यो निरासालाई हटाउनेगरी कार्यक्रमको खाँचो छ।’

दाङको बजारमा ५ प्रतिशत मात्रै प्रशोधित दूध

दाङको पहिलो पाश्चराईज्ड प्रविधिको डेरी परियोजना दाङको लमहीमा सञ्चालित छ। डेरी परियोजना सञ्चालन गरेको सहकारी संस्थाले संकलन गरेको तथ्यांक अनुसार जिल्लामा ५ प्रतिशत मात्रै प्रशोधित दूधको बजार रहेको उल्लेख छ। ९५ प्रतिशत दुध प्रशोधन बिना उपभोक्ता माझ पुगेको छ।

जसले गर्दा जोखिम बढेको उद्यमशिल सहकारी संस्थाका व्यवस्थापक विश्वप्रकाश अधिकारीले बताए। ‘हामीले संकलन र विश्लेषण गरेको तथ्यांक अनुसार बजारमा ५ प्रतिशत मात्रै प्रशोधित दूध पुग्ने गरेको छ। बाँकी ९५ प्रतिशत खुल्ला दूधको बजार छ’ उनले भने, ‘खुल्ला रुपमा दूध बिक्रि गर्दा जोखिम बढी हुन्छ।’

माघ २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्