मुआब्जा नदिई हुलाकी राजमार्गको काम थालेको भन्दै स्थानीयको विरोध

वीरग‌ंज- निर्माधिन अवस्थामा रहेको वीरग‌ंज ठोरी हुलाकी राजमार्ग अतर्गत बिन्दबासिनी गाउँपालिका १ को जग्गाधनिहरुले आफनो जग्गाको मुआब्जा नै नतिरी जबर्जस्ती सडक निर्माण गर्न लागिएको आरोप लगाएका छन्।

नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा शनिबार पत्रकार सम्मेलन गरी उनीहरुले साबिक बहुअर्वा भाटा वडा नम्बर ९ र हाल बिन्दबासिनी गाउँपालिका १ मा पर्ने लगभग ३५ परिवारका जग्गाधनीहरुले आफुहरुको जग्गा कब्जा गरी सडक निर्माण गर्न लागिएको आरोप लगाएका हुन्।

विज्ञापन

उचित मुल्यांकन नै नगरी जबजस्ती प्रहरी लगाएर राजमार्ग निर्माणको काम गर्न लगाइएको आरोप  जग्गाधनीहरुको छ।राजमार्गमा पर्ने जग्गाहरुको मुल्यांकन गर्दा मुल्यांकन समितिले एउटै ठाउँको जग्गालाई फरक-फरक मूल्य निर्धारण गरी जग्गा अधिग्रहण गर्न खोजेकोले जिल्ला प्रशासन कार्यालय पर्सामा निबेदन दिँदा समेत कुनै कारवाही नभएकोले बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको बताए।

‘एउटै ठाउँमा पर्ने जग्गाको छुट्टा-छुट्टै कित्तामा फरक-फरक मुल्यांकन तोकिएको छ ,पत्रकार सम्मेलनमा जग्गाधनीहरुले भने,जग्गाको उचित मुल्यांकन हुनु पर्यो ।’

पीडित जग्गा धनीहरुले आफ्नो जग्गाको उचित मुल्यांकनको लागि गृह मन्त्रालयमा समेत उजुरी दर्ता गराएको बताउँदै सो माथि आवश्यक सुनुवाई हुनुपर्ने माग गरे।

आफुहरुको जग्गाको उचित मुल्यांकन नगरिए अदालतको शरणमा जाने चेतावनी समेत दिएका छन्। ‘हामीहरुको जग्गाको न्युन्तम मुल्यांकन गर्नु पर्‍यो,पत्रकार सम्मेलनमा पूर्व गाविस अध्यक्ष चन्द्रकिशोर चौसियाले भने, ‘नत्र हाम्रो अधिग्रहण गरिएको जग्गा फिर्ता गरियोस्, हामी बिकासको बाधक होईनौँ।’

ठेकेदार कम्पनीले जबरजस्ती बाटो बनाउन खोज्दा आफुहरुले बिरोध गरेकोमा जिल्ला प्रशासन कार्यालयको आदेश भन्दै जग्गाधनीहरुलाई प्रहरी लगाई जबजस्ती निर्माण कार्य गर्न लगाएको पत्रकार सम्मेलनमा सहभागीहरुले बताएका छन्।

जग्गा धनीहरुले आफुहरुको उचित मागलाई बेवास्ता गरियो भने चरणबद्ध आन्दोलनमा उत्रिने समेत चेतावनी दिएका छन्।

पत्रकार सम्मेलनमा बहुअर्वा भाटाका पुर्व गाविस अध्यक्ष चन्द्रकिशोर चौरसिया, जग्गा धनीहरु निरज चौरसिया, रुप नारायण चौरसिया, बृजकिशोर चौरसिया, प्रभुप्रसाद चौहान, अशोक जयसवाल, शिवजी प्रसाद साह, जानकी देबी, करिमा देबी, कोशिला देबी लगायत ३५ /४० घर परिवारहरुले मुआब्जा नपाएको गुनासो गरेका छन् ।

माघ २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्