तीक्तता बढ्दै गएपछि ओली–दाहालबीच डेढ घन्टासम्म मन माझ्ने प्रयास

काठमाडौँ- दक्षिण अमेरिकी मुलुक भेनेजुयलाको आन्तरिक राजनीतिक प्रकरणलाई लिएर असमझदारी बढेको स्पष्ट रुपमै देखिएका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच शनिबार भेट भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शनिबार बालुवाटारमा करिब डेढ घन्टासम्म भेट भएको उच्च स्रोतले जानकारी दियो। ओली र दाहालबीचको भेटमा पार्टी एकता र भेनेजुयला प्रकरणका विषयमा छलफल भएको थियो।

दुवैबीच पछिल्लो समय सार्वजनिक रुपमै प्रकट भएको असमझदारीलाई नलम्ब्याउने सहमति पनि भएको स्रोतले बताएको छ।

प्रधानमन्त्री ओली विदेश भ्रमणमा रहेका बेला पार्टीका अर्का अध्यक्ष दाहालले भेनेजुयला प्रकरणका सम्बन्धमा वक्तव्य निकालेपछि दुवैबीच असमझदारी देखिन पुगेको थियो।

दाहालको वक्तव्यलाई लिएर अमेरिकाले असन्तुष्टि व्यक्त गरेपछि प्रधानमन्त्री ओलीले दाहालको वक्तव्यमा ‘शब्द चिप्लिएको’ भन्दै कटाक्ष गरेका थिए। ओलीको उक्त भनाइपछि दाहालले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा वक्तव्यको बचाउमात्र गरेनन्, सरकारको कार्यशैलीको चर्को आलोचना समेत गरेका थिए। दुवैबीचको असमझदारी सतहमा देखिएका बेला बालुवाटारमा ओली र दाहालबीच भेट भएको हो।

माघ २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्