नेइमारपछि काभानीको चोटका कारण गम्भीर चिन्तामा पिएसजी

महत्वपूर्ण खेलअघि पेरिस सेन्ट–जर्मेन (पिएसजी) गम्भीर चिन्तामा परेको छ ।

फ्रेन्च क्लब पिएसजीले आउँदो मंगलबार च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत पहिले लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ ।

यो खेलमा स्टार खेलाडी नेइमार नहुने यसअघि नै निश्चित भएको कुरा हो । किनकी नेइमार चोटका कारण मैदान बाहिर छन् ।

नेइमार बिहीन बनेको पिएसजीका लागि अर्को चिन्ताको कारण बनेको छ एडिन्सन काभानीको चोट । काभानी फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा चोटग्रस्त भएका छन् ।

आफ्नै कारणले चोटग्रस्त भएका काभानीले त्यसअघि बोर्डक्ससँगको खेलमा गोल गरे । उनले ४२ औँ मिनेटमा पेनाल्टी मार्फत गरेको गोलले नै पिएसजी विजयी भयो । गोल गरिसकेपछि उनको थाइमा चोट लाग्यो र हाफ टाइममा उनी रिप्लेस भए ।

काभानीको वास्तविक अवस्था कस्तो छ भन्ने थाहा पाउनका लागि पर्खिनु पर्ने प्रशिक्षक थोमस टुसिलले बताएका छन् ।

उनले भनेका छन्, ‘यो राम्रो खबर होइन । यदी काभानी खेल्न सक्ने भएनन् भने त्यो चिन्ताको कारण बन्ने छ । हामीसँग अर्को नेइमार जस्तै अर्को एडिन्सन पनि छैनन् ।’

पिएसजी लिग वानमा दोस्रो स्थानको लिले भन्दा १३ अंकले अघि छ । उसको २२ खेलबाट ५९ अंक भएको छ । लिलेको २३ खेलबाट ४६ अंक छ ।

माघ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्