भेनेजुएलामा राजनीतिक संकट

सीमामा कडा पहरा, अवरोध तोडेर सहायता सामग्री भित्र्याउने विपक्षीको प्रतिज्ञा

राजनीतिक संकट उत्कर्षमा पुगेको दक्षिण अमेरिकी देश भेनेजुएलाका विपक्षी नेता तथा स्वघोषित अन्तरिम राष्ट्रपति क्आन गुएडोले देशमा मानवीय सहायताका लागि मार्ग खुला गराएरै छाड्ने बताएका छन् ।

राष्ट्रपति निकोलश मादुरो विरोधी प्रदर्शनको नेतृत्व गरिरहेका गुएडोले गएको जनवरीको अन्तिम हप्ता राजधानी काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए ।

उनलाई अमेरिका तथा युरोपियन युनियनका अधिकांश देशको साथ छ । यस्तै ब्राजिल, पेरु तथा कोलम्बियासहितका दक्षिण अमेरिकी देशको पनि उनले साथ पाएका छन् । राष्ट्रपति मादुरोलाई चीन र रुसको समर्थन छ र देशको सेना पनि अहिलेसम्म उनकै पक्षमा रहेको छ ।

गुएडोले देशमा मानवीय सहायताको खाँचो रहेको भन्दै सहयोगका लागि अमेरिकासँग आग्रह गरेका थिए । अमेरिकाले गुएडोको आग्रह अनुसार मानवीय सहायता सामग्री पठाउने तयारी थालेको थियो । तर राष्ट्रपति मादुरोले मानवीय सहायता आफ्नो देशमा हस्तक्षेप गर्ने अमेरिकी बहाना र रणनीति रहेको भन्दै अस्वीकार गरेका छन् ।

सेनाले कोलम्बियासँगको सीमा क्षेत्रमा रहेको महत्वपूर्ण पुलमा अवरोध गरेका छन् । यसले गर्दा अमेरिकासहित अरु देशबाट आउने सहायता सामग्री रोकिएका छन् ।

गुएडोले मानवीय सहायता सामग्री आउनका लागि मार्ग रोक्न नहुने र त्यसका लागि सहयोग गर्न भोलेन्टियर्ससँग आग्रह गरेका छन् । गुएडोले सहायता सामग्री आउँदो हप्तासम्ममा वितरण थालिने दाबी गरेका छन् ।

सरकारी अधिकारीले भने सीमा सुरक्षा गर्नु आफूहरुको जिम्मेवारी रहेको बताएका छन् । गुएडोलाई समर्थन गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको इन्धन खानीमा आफ्नो पकड जमाउने ध्यानमा रहेको सरकारी अधिकारीको आरोप छ ।

विपक्षी नेता क्आन गुएडोले गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए ।

केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलस मादुरोमाथि छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ । आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।

मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए । विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए । विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ ।

मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।

भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।

तस्बिरहरु : रोयटर्स, एएफपी, एपी र गेट्टी इमेज

माघ २७, २०७५ मा प्रकाशित