सरस्वती पूजामा केराको थम्बा र अशोकको पातले सजाइएको विद्यालयको गेट। तस्बिर सौजन्‍य: भास्कर चौधरी।
संझनामा श्रीपञ्‍चमी

सरस्वती पूजामा वाद्यवाद्यक बन्दा..

त्‍यतिबेला काठैकाठले बनेको थियो श्री प्राथमिक विद्यालय सिवाइ, बेल्हा-८ सुन्दरपुर(साबिक  तर अहिले  श्री आधारभूत विद्यालय सिवाइ,बेल्हा, चौदण्डी-५)।  विद्यालयको गेटमै केराको थम्बा र अशोकको पातले सजाइन्थ्यो।त्‍यसमाथिबाट रातो, निलो, हरियो, सेतो, बैजनी, पहेँलो सबै प्रकारका झिलिमिली झण्डाले विद्यालयको चारै कुनामा फहराइन्थ्यो।विद्यार्थीहरु पूजाका लागि विहानैदेखि लामबद्ध रुपमा लाइन लागेर बसेका हुन्थे।

शुल्क पञ्‍चमीको दिन अर्थात सरस्वती पूजा। सरस्वतीपूजाको दिन विद्यालयमा साँस्कृतिक कार्यक्रम देखाउने चलन पहिलादेखि  अग्रज दाजुदिदीहरुले गर्नुहुन्थ्यो । सोही अनुसारको तयारी हामीले पनि गर्नु पर्ने हुन्थ्यो। स्कुलका विद्यार्थी र शिक्षक-शिक्षिकाहरुले सोही अनुसारको गायन, वाद्यवादन, खेल देखाउने गर्दथे। म पनि सरस्वती पूजामा भाग लिन कोही न केही  विधामा आफ्नो प्रतिभा देखाउन लाइनमा उभिन्थे।  साथीहरु कोही नृत्यमा विधामा आफूलाई सहभागी गराउथे भने कोही गायनमा। सबैको प्रस्तुति बेजोड हुन्थ्यो। खासगरी नाँच्‍ने र गाउनेको टीम आउँदा सबैको अनुहार उज्‍याला हुन्थे।

गाउनेहरु कपीको पानामा गीत लेखेर प्राक्टि्स गर्थे भने नृत्‍य गर्नेरु गून्यू चोलीमा चिटिक्‍क सजिएर आफूले सिकेका स्टेपहरु दोहोर्‍याएर अझ राम्रो गर्ने कोसिस गरिरहेका हुन्थे।  वाद्य-वाद्यनमा भाग लिनेहरु कोही आँखा देख्‍ने कोही भने कोही नदेख्‍ने दृष्टिविहीन हुन्थे। तर बडो सिन्सेयर। एक ताल पनि तलमाथि हुँदैनथ्‍यो। हामीमध्‍ये कोही मादल घन्काएर प्राक्टिस् गरिरहेका हुन्थ्यौ भने कसैले हातमा बाँसुरी लिएर सुरिलो स्वरमा सबैलाई मन्त्रमुग्ध पार्थे र वाहवाही पाउथे।

गीत-संगीतको माहोल छ एकातिर हुन्थ्यो भने अर्को तिर खेल खेल्नको लागि विद्यार्थीहरु तम्तयार भएर हुन्थे। मेरो कक्षाका साथीहरु बासुदेव अधिकारी, सविता बिक, सुमीता तामाङ,सरिता थापा, प्रितिमाया राई नाँच्‍नमा भाग लिए। यसपटक रमेश बाँसुरी बजाउन र गायनमा भाग लिए। यस्तै नुनुराम चौधरी मादल, सुन्दर सदा झ्‍याम्टा, उर्मिला अधिकारी गायन, समुन्द्री शाह गायन र म (सहदेव चौधरी) कंगू (ड्रम बाजा) बजाउनेमा भाग लिए। रमेश राईले बासुरीको धुनमा गीत गीत बजायो.. मादल घन्किन थाल्‍यो अनि मैले पनि वाद्यवादन कंगू बजाउन थाले…

हामी फूलका मुना हौ
हामी गीतका टुना हौ
आउने दिनहरुमा
सुन्दर सुनौला सपना हौ…

गुन्‍यू चोलीमा सजिएका नृत्य टोलीका साथीहरु लहरै नाच्‍न थाले कमरहरु मर्काएर।गीत सुरु भएको केही क्षणपछि नै मानिसहरुको भीड लाग्‍यो हलमा। पूजा गर्न गरिसकेका सबै विद्यार्थीहरु हर्न ओइरिए।वरिपरीका सर्वसाधरणहरु पनि बाँसुरीको धुन सुनेर मोहित भए र हेर्न आए।गीत लेख्‍नुहुने गुरुद्वय ध्रुव गेलाल र सानो काजी राई आपसमा मुखामुख गर्न थाल्‍नुभयो। विद्यार्थीहरुले ताली बजाउन थाले। केहीबेर सांगीतिक माहोल जम्यो।

त्‍यसलगत्तै गुरुआमा विद्या भट्टराईले उद्‌घोष गर्दै भन्‍नुभयो ‘अब गीत गाउने पालो आएको छ, नुनुराम चौधरीको।उहाँलाई मादलमा सघाउँदै हुनुहुन्छ सुरेश परियार, बाँसुरीमा रमेश राई र कंगूमा साथ दिँदै हुनुहुन्छ, सहदेव चौधरीले।’ यसपछि नुनुराम चौधरीले सुरु गर्‍यो आफ्‍नो गीत जुन सरस्वती पूजाकै लागि गुरु ध्रुव गेललाले त्‍यसको अघिल्लो दिन मात्रै लेखि दिनुभएको थियो।

सुनले मेरे माँ सरस्वती
सुनले मेरे पुकार
मै आयाँ हुँ दूर से
मा तेरे दरबार..

गीत सकिएपछि सबैले ताली बजाए। गुरु ध्रुव गेलालले गीतबारे भन्‍नुभयो ‘विद्यार्थीको लागि गीत-संगीत अनिर्वाय छ। त्‍यसकारण पढाइको अतिरिक्त गीत संगीत पनि हामीले राखेका हौ। अब हाम्रा विद्यार्थी भाई बहिनीहरुले पढाइका अतिरिक्त गीतसंगीतमा पनि अब्बल छन् भन्‍ने आज देखाउनु भएको छ। खासगरी बाद्यवाद्यक टीममा सहदेव चौधरी, बाँसुरी बजाउने भाइ रमेश राई र गाउने भाई नुनुरामले।उहाँहरुलाई सरस्वती माता सधैं दाहिना रहून।’

दृष्टिविहीन साथीले सिकाए बाजा बजाउन


खास गरी मलाई बाजा बजाउन खुब रहर लाग्‍थ्यो। म स्कुलमा पढ्दा बाजा बजाएको सुन्‍ने बित्तिकै त्‍यतातिर ध्‍यान मोडिन्थ्यो। साथीहरु रमेश राई, बासुदेव अधिकारी, रोशन चौधरी, कमल चौधरी, सरिता थापा, कञ्‍चन कट्टवाल सबैजना गीत गाउन तम्सिन्थे। म भने बाजा कसरी बजाउन सकिन्छ भनेर सोचेर बस्थे। हामी रेडियो असाध्‍यै सुन्थ्यो त्‍यतिबेला। किनकी हामीलाई कुन कुन नयाँ गीत आयो भनेर खोजिरहनु पर्थ्यो।

साथी रमेश राई रेडियो सुन्दै। तस्बिर- अटो डायरीबाट

सरस्वती पूजा नजिकिँदै जाँदा एक दिन साथी रमेश राईले भन्‍यो, ‘तपाईलाई के बजाउन आउँछ ?’
मैले जावाफमा भने, ‘ केही आउँदैन। तर सिक्‍न मन छ बासुरी र मादल अनि ऊ त्‍यो तीन वटा एक्कै ठाउँमा जोडिएको ड्रम जस्तो बाजा (त्यसको नाम कंगू थियो।)

उनले सजिलै भने, ‘ लौ उसो भए म सिकाइ दिन्छु नि। तर मलाई गणितको हिसाब आउँदैन। सिकाउनुस है साथी।’ मैले हुन्छको शैलीमा शिर हल्लाए। हामी स्कुलको छुट्टीपछि बाजा बजाउन प्राक्टिस गर्थ्यौ। हप्तादिनपछि मलाई कंगू बजाउन साथी नुनुराम चौधरी र रमेश राईले सिकाएका थिए। स्कुल छुट्टीपछि म उनीहरुले बाजाहरु बजाइरहँदा हेर्न जाने गर्दथे।

यही क्रममा उनीहरुले मलाई बाजा बजाउने हो भनेर सोध्‍ने गर्थे।खास गरी उनीहरु दृष्टिबिहीन भएकाले देख्‍ने मानिसको साहारा खोजिरहेका थिए भने मलाई उनीहरुले आँखा नदेखे पनि बजाउने मिठो बाँसुरी, कंगू, मादल, झ्‍याम्टा सिक्‍न खुब रहर लाग्थ्यो। म पनि प्रत्‍येक दिन स्कुल छुट्टीपछि उनीहरुसँगै खाजा खाने र बाजा बजाएको हेरिरहन्थे। उनीहरुको प्रेरणाले गर्दा मैले मादल, कंगू र झ्‍याम्टा बजाउन सिके। यो मेरो लागि अविस्मरणीय क्षण बन्‍यो।

जब जब सरस्वतस्वती पूजा आउँछ,मलाई स्कुलमा सरस्वती पूजामा वाद्यवादन भाग लिएको झल्झली याद दिलाउँछ।त्‍यही सांगितिक माहोल फर्काउँछ ! ती दिनहरु मानस पटलमा दौडिरहन्छ र साथीसंगी, गुरुहरुको झझल्को आउँछ ! वाद्यवादन सिकाउने साथीहरुलाई हृदयबाटै ह्‍यापी सरस्वती पूजा !

माघ २७, २०७५ मा प्रकाशित