बीपी उद्यान निर्माणस्थलको नाम परिवर्तन विवाद

सरकारलाई कांग्रेसको प्रश्‍न :बारम्बार आफ्ना नेताको नाममाथि अतिक्रमण किन ?

कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्‍मेलनमा बोल्‍दै कांग्रेस प्रवक्ता विश्‍व प्रकाश शर्मा। तस्बिर- बर्षा शाह/देश सञ्‍चार

काठमाडौँ— आफ्ना नेताको नाम मेट्ने प्रयासमा केपी ओली नेतृत्वको सरकार उद्दत रहेको आरोप लगाउँदै आएको प्रमुखविपक्षी दल नेपाली कांग्रेस फेरी अर्का नेता वी.पी कोइरालाको नाममा विरगञ्जस्थित प्रस्तावित उद्यान निर्माण स्थलको नाम फेरेर अर्कै प्रयोजनका लागि पार्क निर्माणमा सरकार अघि बढेपछि चिढिएको छ।

हालै नेता गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाका नाममा अस्पताललाई संघ अन्तर्गत नराख्ने सरकारी निर्णय उल्ट्याउन सफल कांग्रेस पुनः विरगन्ज उपमहानगरपालिका १२ स्थित १० विगाह जग्गामा स्थानीय सरकारले नेता वीपीको नाममा नेपालकै एक नमुना ‘उधान’ बनाउने तत्कालिन सरकारको निर्णय परिवर्तन भएपछि कांग्रेस आक्रोशित बनेको छ।

यही माघ १६ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु रावतले वीपीको नाममा प्रस्तावित उक्त उधानको नाम परिवर्तन गरी ‘मधेस आन्दोलनमा सहिद भएकाको’ नाममा पार्क बनाउने निर्णय सहित उक्त पार्कको शिल्यान्यास गरेका थिए।

माघ २४ गतेको कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक उक्त घटनाको विरोध गर्ने निष्कर्षमा पुगेपनि तीन दिनपछि मात्रै त्यो सार्वजनिक गरिएको हो।

कांग्रेसलले वीपीको नाम मेट्न प्रदेश मात्रै नभई केन्द्रीय र स्थानीय सरकार पनि उद्दत रहेको आरोप लगाउँदै तत्कालै वी.पीको नाममा उक्त उधान निर्माण कार्य अघि बढ्नु पर्ने माग गरेको छ।


आइतबार सानेपास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनमार्फत कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले सरकारबाट उक्त निर्णय फिर्ता नभए तत्कालै सडक र सदनबाट दवाव दिएर निर्णय फिर्ता गराउने चेतावनी दिए।

‘ जननेता वीपीको नाम मेट्नुले उनी मात्रै नभई आम नेपालीको भावनामा ठेष पुग्छ। सरकारले एकपछि अर्को गर्दै यस्ता निर्णय गर्दा उसको गलत मनसाय र प्रवृति मौलाएको स्पष्ट हुन्छ र त्यसले निषेधको राजनीति अघि बढाउने प्रयासमा सरकार रहेको पनि पुष्टी हुन्छ,’ उनले भने ।

वीपी उद्यान बनाउने निर्णय यसरी भएको थियो


नेपाल यातायात संस्थानले वीरगंजको आफ्नो १० विगाहा जग्गा विक्री गर्न टेण्डर आह्वान गरेको थियो। तर त्यो जग्गा व्यक्तिले खरिद गर्ने निश्चित प्रायः भएपछि वीरगंज उपमहानगरपालिकाले त्यसमा असहमति जनाएको थियो ।

उपमहानगरपालिकालाई समर्थन गर्दै कांग्रेस, तत्कालिन एमाले, राप्रपा, सद्भावना लगायत पार्टी र उद्योग वाणिज्य संघले वीरगञ्जले प्रदर्शन समेत गरेका थिए।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उपमहानगरपालिका पुगेर ‘यातायात संस्थानको उक्त जग्गा उपमहानगरपालिकाले खरिद गरेर त्यहाँ वीपी उद्यान निर्माण गरिनेछ’ भन्ने घोषणा गरेका थिए।

त्यसलगत्तै नेपाल यातायात संस्थान र वीरगंज उपमहानगरपालिकाबीच १० करोड रुपैयाँमा उक्त जग्गा खरिद विक्रीको सम्झौता भयो । २०४९ सालमा नेपाली कांग्रेसबाट निर्वाचित नगरप्रमुख तथा उपप्रमुख रहेका बेला पहिलो किस्तास्वरुप आधा रकम उपमहानगरपालिकाले यातायात संस्थानलाई वुझाएको थियो ।

फोटो : नेपाली कांग्रेस पार्टी कार्याल

२०५४ सालमा राप्रपाबाट विमल श्रीवास्वत नगर प्रमुखमा निर्वाचित भएका बेला यातायात संस्थानलाई बाँकी सबै रकम नगरपालिकाले चुक्ता गरेपनि जग्गा पास हुँन वाँकी थियो।

२०५९ सालमा राजा ज्ञानेन्द्रको नेतृत्वको सरकारद्धारा वीरगंज उपमहानगरपालिकाको प्रमुखमा नियुक्त गोपाल गिरीले तत्कालै बीपी उद्यानको नाममा जग्गा पास गरेर निर्णय प्रक्रिया अघि बढाउने उद्घोष गरेका थिए।

२०६० कार्तिक २७ गते तत्कालीन श्रम तथा यातायात मन्त्री डा. प्रकाशचन्द्र लोहनीले उक्त उद्यानको शिलान्यास गरेपनि जग्गा उपमहानगरपालिकाको नाममा नामसारी हुन वाँकी नै थियो।

शिलान्यासको दुई महिनापछि वीरगंज उपमहानगरपालिकाको नाममा जग्गाको रजिष्ट्रेशन पास भएको थियो। त्यसको एक साता नबित्दै २०६० माघ १ गते नामसारी गर्ने प्रक्रियाको सक्रिय तत्कालीन नगरप्रमुख गोपाल गिरीको हत्या भएको थियो।

वीपी कोइरालाका नाममा उद्यान निर्माण गर्ने उद्देश्यका साथ जग्गाको प्रवन्ध र सो जग्गा अन्य नाममा प्रयोग गर्न नमिल्ने र उनकै नाममा शिलान्यास भइसकेको अवस्थामा सरकारले उनको नाम परिवर्तन गर्ने दुस्साहस गरेको भन्दै कांग्रेसले आपत्ती जनाएको हो ।

माघ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्