बढुवा विवादमा फेरि मुछिए आइजिपी खनाल, प्रहरी संगठनमा ‘राजनीति हावी’

काठमाडौँ- २०५८ सालमा भर्ना लिइएको प्रहरी निरीक्षक- इन्स्पेक्टरमा पहिलो नम्बरमा थिए भुवनेश्वर तिवारी अनि दोस्रो नम्बरमा ऋषिराम कँडेल। भुवनेश्वरले २०५५ प्रहरी सहायक निरीक्षक-असईबाट सेवा सुरु गरेपनि तीन वर्षपछि खुलामा इन्स्पेक्टरमा पहिलो नम्बरमा नाम निकालेका थिए।

ऋषिरामले भने सोझै प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका हुन्। इन्स्पेक्टरबाट प्रहरी नायब उपरीक्षक-डीएसपीमा बढुवा हुँदा आफ्ना ब्याचीमध्ये भुवनेश्वर पहिलो नम्बरमै थिए भने ऋषिराम पनि दोस्रो नम्बरमा।

शनिबार राति प्रहरी उपरीक्षक- एसपीका लागि बढुवा सिफारिस निकाल्दा उनीहरुको ब्याचबाट १६ जना परे तर भुवनेश्वर र ऋषिराम दुवै छुटे। तेस्रो नम्बरका अनुपम समसेर राणा बढुवामा परे पनि सात स्थान तल झरेका छन्। चौथो नम्बरका रमेश थापा पहिलो नम्बरमा पुगेका छन्। पाँचौँ नम्बरका अजय केसी ९ स्थान तल झरेका छन्।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पूर्व पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) दानबहादुर मल्ल पनि एसपी बढुवाका लागि सिफारिसमा परेका छन्। २०५० सालमा प्रहरी जवानबाट सेवा सुरु गरेका मल्लले ८ वर्षपछि खुलाबाट प्रहरी निरीक्षकमा नाम निकालेका थिए।

गत आर्थिक वर्षमा झापा सुरक्षाका हिसाबले देशको सर्वोत्कृष्ट जिल्ला घोषित हुँदा त्यतिबेला त्यस जिल्लाका प्रहरी प्रमुख थिए एसपी विष्णु केसी। विगतमा विकास क्षेत्रहरुमध्ये सर्वोत्कृष्ट विकास क्षेत्र घोषणा गरेर त्यसका तत्कालीन प्रमुख नायब महानिरीक्षक- डीआइजीलाई ‘ब्याटन’ दिइने गरिएकामा गत वर्ष देशभरका जिल्लामध्येबाट सर्वोत्कृष्ट जिल्ला छानिएको थियो।

चार वर्षअघि एसपीमा बढुवा भएयता केसी यसअघि वर्षकै सर्वोत्कृष्ट ‘ट्रेनर’ पनि घोषित भएका थिए। शनिबार राति १४ जना प्रहरी अधिकृतलाई वरिष्ठ प्रहरी उपरीक्षक-एसएसपीमा बढुवा सिफारिस गरिँदा केसी अटाएनन्। उनीभन्दा करिब ६ महिनापछि एसपीमा बढुवा भएका दिपक थापालाई भने एसएसपीका लागि सिफारिस गरिएको छ।

२०५१ सालमा प्रहरी निरीक्षकमा लिइएको भर्नामा नाम निकाल्नेमध्ये पहिलो नम्बरमा थिए गणेश रेग्मी, दोस्रो नम्बरमा बसन्त कुँवर, तेस्रो नम्बरमा श्यामलाल ज्ञवाली। २०६३ सालमा डीएसपीमा बढुवा हुँदा पहिलो नम्बरमा पुगे राजेन्द्र विष्ट जो प्रहरी निरीक्षकमा नाम निकाल्दा सातौँ नम्बरमा थिए। डीएसपीमा गणेश तेस्रो, बसन्त कुँवर ८ र  श्याम ज्ञवाली ७ नम्बरमा झरे। प्रहरी निरीक्षकमा १० औँ नम्बरमा रहेका रविन्द्र केसी डीएसपीमा दोस्रोमा पुगे। २०७१ साल फागुनमा एसपीमा बढुवा हुँदा गणेश पहिलो नम्बरमा, श्याम दोस्रोमा पुगे।

प्रहरी निरीक्षकमा आठौँ, डीएसपीमा छैटौँ नम्बरमा रहेका सन्दीप भन्डारी एसपी हुँदा तेस्रो नम्बरमा पुगे। बसन्त कुँवर चौथो स्थानमा रहे। एसपी बढुवामा रविन्द्र केसी १० र राजेन्द्र विष्ट १७ नम्बरमा झरे। शनिबार एसएसपीका लागि निकालिएको बढुवा सिफारिसमा सन्दीप भन्डारी पहिलो, टेकप्रसाद राई दोस्रो, उमेशराज जोशी तेस्रो र श्याम ज्ञवाली चौथोमा छन्। गणेश रेग्मीको नाम पाँचौँ नम्बरमा छ। बसन्त कुँवर १३ औँ नम्बरमा झरेका छन्। २०४७ सालमा प्रहरी सेवा सुरु गरेका गणेशले दुई वर्षपछि अवकाश पाउनेछन्, ३० वर्षे सेवा अवधि कायम रहे।

प्रहरी प्रधान कार्यालयको बजेट शाखामा रहेका दीपक थापा सातौँ नम्बरमा रहेर बढुवा सिफारिसमा परेका छन्। दीपक २०७२ सालमा एसपीमा बढुवा भएका थिए। प्रहरी निरिक्षकमा १९ र डीएसपीमा २५ औँ नम्बरमा रहेका टेकप्रसाद राईले बढुवामा छलाङ मारेका छन्। गृहसचिव प्रेम राई निकट मानिने टेकप्रसाद राई एसपीमा नवौँ नम्बरमा थिए। यसैगरी अघिल्ला तीनवटै दर्जामा शीर्ष २० भित्र नपरेका टेकबहादुर तामाङ र भीमप्रसाद ढकाल पनि एसएसपी बढुवाको सिफारिसमा परेका छन्। डीएसपी हुँदा पहिलो र दोस्रो नम्बरमा रहेका राजेन्द्र विष्ट र रविन्द्र केसी दुवै बढुवामा छुटेका छन्। प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको सचिवालयमा रहेका रामदत्त जोशी भने बढुवाको सिफारिसमा परेका छन्।

बढुवामा भेदभाव गरेको भन्दै आइतबार एसपी नरेन्द्र उप्रेतीले राजीनामा दिएका छन्। २० महिनायता महानगरीय प्रहरी अपराध महाशाखाको प्रवक्ता रहेका उप्रेतीले आफुलाई संगठनले बढुवा लायक नदेखेकाले सेवामा रहिरहन उचित नलागेको भन्दै राजीनामा दिएका छन्। २०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना हुँदा उनी छैटौँ नम्बरमा थिए।

डीएसपीमा १५ औँ र एसपी हुँदा १४ औँ नम्बरमा रहेका उप्रेती प्रहरी संगठनका इमान्दार प्रहरी अधिकृत मानिन्छन्। उनले तराई आन्दोलनताका बाराको कमान्ड सम्हालेका थिए। प्रहरी निरीक्षक र डीएसपी रहँदा उनी लामो समय काठमाडौँ प्रहरी परिसर र महानगरीय प्रहरी अपराध महाशाखामा थिए। वर्तमान आइजिपी सर्वेन्द्र खनालसँगै बसेर पनि उनले केही युनिटमा काम गरेका थिए।

उप्रेतीको राजीनामाले आइजिपी खनाल विवादमा तानिएका छन्। यसअघि सर्वेन्द्रलाई आईजीपी नियुक्त गर्दा तत्कालिन डीआईजी रमेश खरेलले राजिनामा दिएका थिए। प्रहरी निरिक्षकबाट एसएसपीसम्म बढुवा हुँदा पहिलो नम्बरमा रहेका खरेल डीआईजीमा बढुवा हुँदा दोस्रो नम्बरमा झरेका थिए। ‘संगठनमा कसले राम्रो काम गर्छ भन्दा पनि आईजिपी सापले कसलाई माया गर्नु हुन्छ र कसको राजनितिक पहुँच पुग्छ भन्ने महत्वपुर्ण देखिँने गरेको छ’, नेपाल प्रहरीका एक पुर्व डीआईजी भन्छन्। प्रहरी बढुवामा आईजिपी र बढुवा समितीले दिने अंक महत्वपुर्ण हुने गर्छ।

माघ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्