भेनेजुयला मात्र होइन, ओली—दाहाल युद्धमा खोलिँदै छन् अरु पनि मोर्चाहरु

काठमाडौँ— भेनेजुयला प्रकरण सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चरम विवादको तात्कालिन कारकको रुपमा देखा परे पनि यसलाई मलजल अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीचका विभिन्न नीतिगत तथा व्यवहारगत मुद्दाले गरेको देखिएको छ।

सरकार प्रमुख समेत रहेका अध्यक्ष ओली स्वीट्जरल्याण्डको डावोसमा आयोजित विश्व आर्थिक मञ्चमा सामेल भएका बेला पार्टीका अर्का अध्यक्ष दाहालले भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध मात्रै गरेनन्, उनीसहित पाँच प्रभावशाली र वरिष्ठ नेताहरुको ललितपुरस्थित झम्सीखेलको एउटा घरको भेटघाटले दाहाल र ओलीबीचको असमझदारी झन बढाएको छ।

उच्च स्रोतका अनुसार उक्त भेटघाटमा तीन पूर्वप्रधानमन्त्री दाहाल, झलनाथ खनाल र माधवकुमार नेपाल तथा दुई उपप्रधानमन्त्री वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सामेल थिए।

र, पाँचै जनाले ओलीले पार्टी संगठनलाई गतिशीलता दिन नसकेको, जनमुखी र उपलब्धिमूलक सरकार बनाउन नसकेको तथा दुई अध्यक्षकाबीच समन्वय स्थापित गर्न नसकेको तर सरकार एकलौटीरुपमा चलाउन खोजेको भन्दै साझा आपत्ति जनाएका थिए।

झण्डै दुई घण्टा चलेको बैठकमा यसअघि माधवकुमार नेपाल लगायतले मापदण्डअनुसार प्रदेश र अन्य कमिटि गठन हुनु पर्ने भन्दै सचिवालय र स्थायी कमिटी बैठकमा पेश गरेको आपत्तिहरुलाई समेत प्रधानमन्त्री ओलीले बेवास्ता गर्दै आफ्नो मात्रै निर्णय लाद्ने गरेको आरोप लगाइएको थियो।

तर त्यो झम्सिखेल बैठक लगत्तै अध्यक्ष दाहालले भेनेजुयलामा विकसित आन्तरिक राजनीतिक घटनाक्रमको प्रसंग जोड्दै अमेरिकाले भेनेजुयलामा ‘साम्राज्यवादी कु’ गरेमा असहनीय हुने बताएपछि अमेरिकाले आपत्ति जनाएको थियो ।

उसले भेनेजुयला प्रकरणमा सरकारको स्पष्ट धारणा माग गरेपछि परराष्ट्रमन्त्रालयले बचेर त्यसबारे स्पष्टीकरण समेत दिनु परेको थियो।

दाहाललाई नचिढ्याउने सावधानी अपनाउँदै उसले भनेको थियो, ‘बाहिरी हस्तक्षेपबिना भेनेजुयलाको आन्तरिक मामिला आपसी छलफलद्धारा शान्तिपूर्ण तरिकाले समाधान होस् भन्ने हामी चाहान्छौँ।’

भेनेजुयलाबारे दाहालको अभिव्यक्ति र त्यसले उव्जाएको विवाद डावोसबाट फर्केपछि प्रधानमन्त्री ओलीको सबैभन्दा ठूलो टाउको दुखाइ बनेको थियो।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले दाहाललाई बालुवाटार बोलाई भेनेजुयलाबारेको वक्तव्य कुटनीतिक हिसावले मर्यादित नभएको भन्दै झम्सिखेल बैठकबारे पनि सोधपुछ गर्न भ्याएका थिए।

दाहालले समसामयीक विषयमा समिक्षा गर्न आफुहरु भेला भएको बताएपनि त्यसबाट प्रधानमन्त्री ओली आश्वस्त नभएको बरु सुरक्षाकर्मीलाई समेत थन्काएर बैठक गर्नु पर्ने आवश्यकता किन पर्‍यो भन्दै व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत भएका थिए।

केन्द्रीय सचिवालयका ९ मध्ये ५ सदस्य एकै ठाउँमा भेला भएर गोप्य छलफल गर्नु स्वभाविकरुपमा प्रधानमन्त्री ओलीको पक्षमा थिएन।

दाहालले पार्टी एकतामा भएको ढिलाईसँगै महाधिवेशन पछि धकेलिन सक्ने र ओली—दाहाल सहमतिअनुसार सहजरुपमा नेतृत्व हस्तान्तरण पनि कठिन देख्न थालेको विश्लेषण समेत पार्टी भित्र हुन थालेको छ।

ओली—दाहाल विवाद र एकअर्काको आलोचना खुलेरै सार्वजनिकरुपमा छताछुल्ल हुन थालेपछि पार्टीमा धुव्रिकरण र अन्तर्राष्ट्रिय जगतको चासो पनि बढ्न थालेको छ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिले नेकपामा झनै तरंग उत्पन्न गरेको छ ।

उनले फेसबुकमार्फत भनेका छन्, ‘कम्युनिष्ट पार्टीको नेतृत्व जनतामा परिचित, स्थापित र स्विकृत पात्रहरू नै हुन् र हुनुपर्छ। तिरस्कृत पात्रहरू नेतृत्वमा आउनै हुँदैन, ल्याइनै हुँदैन अझ, शनक र उन्मादमा चल्न चाहने वा रमाउनेहरूलाई त यो ठाउँमा सर्वथा पुर्याउनै हुन्न। त्यस्तो हुँदा दुर्भाग्य मात्र हुन्छ।’ पोखरेलको उक्त अभिव्यक्ति दाहाल विरुद्ध लक्षित थियो।

ओलीसँगको मतभेदको पृष्टभूमिमा आएको त्यो अभिव्यक्तिले पार्टीका विभिन्न गुटहरुलाई आआफ्नो हिसावले निष्कर्ष निकाल्न खुराक दिएको छ। योसँगै संक्रमणकालीन मुद्दा पनि ओली र दाहालबीच गम्भीर मतभेद भएको बुझिएको छ।

तर सामाजिक सञ्जालमा सार्वजनिक अभिव्यक्ति दिने क्रममा उनले ओलीसँग कुनै सल्लाह नगरेको ओली निकट स्रोतले बताएको छ।

यस्तै दाहाल निकट प्रदेश तीनका गृहमन्त्री शालिकराम जम्कट्टेलले ओलीलाई संघीयता र संविधान विरोधी भएको आरोप लगाउँदै त्यसका विरुद्ध आफुहरुले आन्दोलन गर्ने चेतावनी दिइसकेका छन्।

त्यसबाट नेकपामा ओलीको कार्यशैलीको विरुद्धमा उभिनेहरु बढेको अनुमान गर्न सकिन्छ।

यसबीच केही दिन अघि दाहालसँग चिनियाँ राजदूतले भेटी विद्यमान परिस्थिबारे छलफल गरेको स्रोतले बतायो।

त्यसअघि नेपालस्थित अमेरिकी राजदूत र्‍याण्डी बेरीले ओलीलाई भेटेर दाहालको अभिव्यक्तिबारे आपत्ति जनाएका थिए। र, भेनेजुयला प्रकरणमा दाहालको ‘शब्द चिप्लिएको’ अभिव्यक्तिका साथ विवाद मत्थर गर्ने असफल प्रयास गरेका थिए।

शुक्रबार राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई संवोधन गर्दै दाहालले भनेका थिए, ‘अथवा विस्तारै विस्तारै अव माओवादीहरुलाई सिध्याइहाल्यो भन्ने कसैले ठानेको छ भने त्यो दुर्भाग्यपूर्ण कुरा हुन्छ । अर्को माओवादी जन्मिन्छ र झन ठूलो लडाई हुने खतरा आउँछ।’

ओलीसँगको मतभेदको पृष्टभूमिमा आएको त्यो अभिव्यक्तिले पार्टीका विभिन्न गुटहरुलाई आआफ्नो हिसावले निष्कर्ष निकाल्न खुराक दिएको छ। योसँगै संक्रमणकालीन मुद्दा पनि ओली र दाहालबीच गम्भीर मतभेद भएको बुझिएको छ।

सत्यनिरुपण तथा मेलमिलाप आयोगको कार्यकाल एक वर्षका लागि थप गर्ने विधेयक संसदमा प्रस्तुत गरेलगत्तै त्यसका अध्यक्ष सूर्य किरण गुरुङको राजिनामाले ओली र दाहालबीचको फरक मतलाई बाहिर ल्याएको छ।

माघ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्