भारतसँगको सीमा विवाद तीन वर्षमा टुंग्‍याउँछौ-परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं- सरकारले साँढे ३ वर्षभित्र भारतसँगको सीमासम्बन्धि समस्या समाधान गर्ने योजना अघि सारेको छ। परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले साँढे ३ वर्ष भित्र भारतसँगको सीमासम्बन्धि सबै समस्या समाधान गर्ने योजना अघि सारेका हुन।

आईतबार संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपालको सीमा सुरक्षा व्यवस्थापन सम्बन्धमा भएको छलफलमा उहाँले सरकारले सीमा सुरक्षाका लागि सशष्त्र प्रहरी बलको सीमा सुरक्षा चौकी बढाउँदै लगेको पनि जानकारी दिए।

हाल १ सय ४ वटा सशष्त्र प्रहरी बल सीमा सुरक्षा चौकी रहेकोमा अव त्यसलाई बढाएर १ सय ७४ वटा पुर्‍याउने मन्त्री ज्ञवालीको योजना छ। सीमा सुरक्षा चौकीको बिस्तार नेपालको भूमि कतैबाट पनि अतिक्रमण नहोस् भन्ने उद्देश्यले गर्न लागिएको पनि मन्त्री ज्ञवालीले समितिलाई जानकारी गराए।

उनले नदीमार्फत् हुने सीमा अतिक्रमण रोक्नका लागि सीमा स्तम्भ बनाउनुपर्ने भएकाले त्यसका लागि सरकारले बजेट जुटाउने काम गरिरहेको पनि बताउनु भयो।

बैठकमा समितिका सदस्यहरुले सीमा क्षेत्रका जनताको लालपूर्जा समेत खोसेर सीमा मिचिने गरेको भन्दै ती समस्या समाधानका लागि तत्काल पहल गर्न सरकारलाई सचेत गराएका थिए। सीमा सुरक्षाका लागि सुरक्षा चौकीहरु बनाउँदा नेपालले अन्तराष्ट्रिय कानुन अनुसार स्वाधिन राष्ट्रको हैसियतले बनाउनुपर्ने आवश्यक्ता पनि औंलाएका छन्।

समितिका सदस्य भीम रावलले नेपाली भूमिको सुरक्षा हुने व्यवस्थासहित सुरक्षा चौंकीहरुको स्थापना गर्न सरकारलाई सचेत गराए। उनले अन्तराष्ट्रिय कानुनले दिएको अधिकारको प्रयोग गरेर भारत र चीन दुवै मुलुकबाट नेपालको सीमा अतिक्रमण हुन नदिने सुनिश्चित गर्न पनि सरकारसँग माग गरे।

समितिकी सदस्य उमा रेग्मीले सीमा क्षेत्रका जनताको लालपूर्जानै खोसेर नेपालको सीमा मिचिएको उल्लेख गर्दै त्यस्ता काम हुन नदिन सरकारलाई सचेत गराए। उनले भारतसँग विगतमा गरिएका सबै असमान सन्धि, सम्झौता पुनरावलोकन गरेर भएपनि दुई मुलुकबीचको सीमा समस्या समाधान गर्न ढिलाई गर्न नहुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।

समितिका सदस्यहरुले विगतमा सरकारले चासो नदिएकाले नेपाल–भारत सीमा समस्या बढ्दै गएको पनि बताएका थिए।

माघ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्