लोकगायक कार्की भन्छन्, ‘गीत-संगीतमा लागेर बाँच्‍न सकिन्‍न’

लोकगायक रामकुमार कार्की। तस्बिरःदेशसञ्चार

काठमाडौं– करिब एक दशकदेखि सांगीतिक क्षेत्रमा संघर्ष गर्दै आएका गायक हुन्, रामकुमार कार्की। उनले २०७३ मा आफ्नो पहिलो गीत सार्वजनिक गरेका थिए। अहिलेसम्म उनले ‘घर त मेरो रामेछाप जिल्ला, अब त गाउँमै गइन्छ, नक्कले मोरो चञ्चले नानी, कलियुगका केटीको नहुने भो भर’ लगायतका लोकगीत स्रोतामाझ पस्किसकेका छन्।

२०४१ सालमा रामेछापको बाम्तीभण्डारमा जन्मिएका गायक कार्की सानैदेखि गीत गुनगुनाउने गर्थे। स्कुल पढ्दा विभिन्न कार्यक्रम लगायत गाउँ घरमा हुने नाचगान, रत्यौली भइरहेका ठाउँमा समेत गीत गाउनका लागि पुग्थे।

कुनै दिन आफू गायक बन्छु भनेर उनले सोचका थिएनन्। कहिले काहिँ नसोचेको भैदिन्छ। सबैले उनलाई, तिम्रो स्वर राम्रो छ, तिमी गायक बन्नुपर्छ भनेर हौसला दिन्थे। आफ्नो प्रशंसा सुन्दा मख्ख पर्थे। आफूले पाएको यस्तो प्रशंसाले उनी गीतसंगीतमा लाग्नको लागि प्ररित भए।

मध्यम परिवारमा जन्मिएका उनले आजको स्थानसम्म पुग्नको लागि आफूले धेरै संघर्ष गरेको बताए। हिजो जे जस्तो संघर्ष गरेता पनि त्यो मेहनतले नै आफूलाई अगाडी बढ्न सिकाएको उनको भनाई छ।

गायक कार्कीको अहिले ‘कलियुगका केटीको नहुने भो भर’ बोलको लोकगीत सार्वजनिक भएको छ। गीतमा गाउँबाट सहर पसेर आफ्नो भेषभूषामा बिर्सने युवायुवतीलाई चित्रण गरिएको उनले बताए।

पछिल्लो समयमा लोकदोहोरी गीतहरुमा विकृती देखिएको भन्दै उनले मौलिकता, संस्कृति झल्किने खालको गीतहरु गाउन छोडिएको बताए। आजभोली गीतमा आफ्नोपन पाइन छोडेको उनले गुनासो गरे।

उनी भन्छन्,‘पछिल्लो समय गीतमा मौलिक भन्दा पनि बढी उच्छृङ्खल गीतहरु गाउने गरेको पाइन्छ।’ त्यस्ता गीत केही दिनका लागि मात्र जीवित हुने र मौलिकता बोकेका गीतहरु सधै जीवन्त रहने उनको भनाई छ।

पछिल्लो समयमा गीत संगीत क्षेत्रमा दिन प्रतिदिन प्रतिस्पर्धा बढ्दो छ। गीतसंगीतमा लागेर जीवन चलाउन नसकिने उनले बताए। कतिपयले युट्यूवबाट आर्थिक आर्जन हुने भने पनि त्यो प्रयाप्त नभएको उनको भनाई छ।

उनले भने, ‘प्रविधिले संगीत प्रेमीलाई उनीहरुले चाहेको गीत सुन्न र हेर्न जति सजिलो बनाएको छ, संगीतकर्मीको अवस्था भने त्यति नै जटिल भएको छ।’

जीवन्त कलाकार बन्नुपर्छ भन्ने सोच राख्ने कार्की गीतसंगीत क्षेत्रमा लाग्न सिकेर मात्रै आउनुपर्ने बताउँछन्।

माघ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्